गाई काटेको आरोपमा ६ जना पक्राउ



किमाथाङ्का ।

सङ्खुवासभाको मादी नगरपालिका–९ मा गाई काटेको अभियोगमा प्रहरीले छ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मादी–९ का सुदीप लिम्बू, निखिल लिम्बू, मिलन गुरुङ, प्रेमबहादुर श्रेष्ठ, मनबहादुर लिम्बू र सुदीप दर्जी रहेका छन् ।

मादी–९ स्थित दमाई खोल्सामा गाई काट्दै गरेको अवस्थामा उनीहरुलाई शुक्रबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी निरीक्षक शुभेष अधिकारीले बताउनुभयो । प्रक्राउ परेको सबै जनामाथि गौवधसम्बन्धी मुद्दा चलाएको प्रहरीले जनाएको छ ।

सो मुद्दामा तीन वर्षसम्म कैद हुने कानूनी व्यवस्था छ । त्यस्तै सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–१ चेप्चेवा भिरबाट खसेर एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा सिलिचोङ–१ केवाडाँडाका २१ वर्षीय दिनेश राई रहेको प्रहरीले जनाएको छ ।

आज दिउँसो साढे २ बजे सिलिचोङ–१ स्थित स्वास्थ्यचौकीको फर्निचर बोकेर आउँदै गर्दा २१ वर्षीय राईको चेप्चेवा भिरबाट सिसुवा खोलामा खसेर मृत्यु भएको प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्