पहिरोले अवरुद्ध बेनी–जोमसोम सडक १३ दिनपछि खुल्यो



प्रताप बानियाँ, म्याग्दी ।

हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने राष्ट्रिय राजमार्ग बेनी–जोमसोम सडकखण्ड मङ्गलबार (आज)देखि पुनः सञ्चालनमा आएको छ । अविरल वर्षाका कारण पहिरो खसेर १३ दिनदेखि अवरुद्ध सडक मर्मतपछि पूर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीले जनाएको छ ।

सडकभन्दा माथिबाट खसेको ढुङ्गा, माटो र गेगरसहितको पहिरो पन्छाएपछि सडक सुचारु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक वीरेन्द्रराज गुरुङले बताउनुभयो । बेनी–जोमसोम सडकखण्डअन्तर्गत म्याग्दीको रघुगंगा गाउँपालिका ३ राहुघाट, अन्नपूर्ण ३ दानाको रुप्से छहरा र काभ्रे भीरमा पहिरोले सडक अवरुद्ध बनाएको थियो । राहुघाट क्षेत्रमा अवरुद्ध सडक खुलाउन ओम कार्यश्वर कन्ट्रक्सनको जेसिभी मेसिन (डोजर) परिचालन गरी पहिरो पन्छाइएको हो ।

यसैगरी पश्चिम म्याग्दी हुँदै ढोरपाटन–जलजला भएर रुकुम जोड्ने बेनी–दरबाङ सडकखण्ड पनि पुनः सञ्चालनमा आएको छ । मंगला गाउँपालिका २ लाम्पाटा र मालिका ६ दरबाङ नजिकै बाङ्गे पहिरो भन्ने ठाउँमा खसेको पहिरोको अवरोध हटाएपछि सडक पूर्ण रुपमा सुचारु भएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका सूचना अधिकारी समेत रहनुभएका प्रहरी निरीक्षक गुरुङले जानकारी दिनुभयो ।

दुवै सडक खुलाउन प्रहरीले सरोकारवाला निकायसँग आवश्यक समन्वय गरी अवरुद्ध सडक खुलाइएको जनाएको छ । अवरुद्ध सडक सञ्चालनमा आएपछि बीच सडकमै रोकिएका सवारीसाधनहरु आ–आफ्नो गन्तव्यतर्फ लागेका छन् । लामो समयदेखि बेनी–जोमसोम सडक बन्द हुँदा एम्बुलेन्स, बिरामी बोकेका गाडी, मालसामान ढुवानीका सवारीसाधन र सर्वसाधारणलाई समेत आवतजावतमा समस्या भैरहेको थियो ।

वर्षाले अवरुद्ध राहुघाट खण्ड खुलाउन जेसिभी मेसिनमार्फत पहिरो हटाएर सडक खुलाइएको सडक स्तरोन्नतिको जिम्मा लिएको ओमकार्यश्वर कन्ट्रक्सनका सुपरभाइजर आशिष नेपालले बताउनुभयो । वर्षात्का कारण बेनी–जोमसोम सडकखण्डको विभिन्न ठाउँमा पटकपटक पहिरो खसिरहने हुँदा सडक अवरुद्ध हुनुका साथै पहिरो हटाउन समेत समस्या हुने गरेको उहाँको भनाइ छ ।

कुल ७६ किलोमिटरको बेनी–जोमसोम सडकखण्डअन्तर्गत बेनी–गलेश्वर खण्डको जलेश्वर, रघुगंगा १ बेगखोला, रघुगंगा ३ राहुघाट, अन्नपूर्ण २ भूरुङ तातोपानीको नैनीबगर, अन्नपूर्ण ३ दानाको रुप्सेखोला र काभ्रे भीरमा वर्षाले पटकपटक सडक अवरुद्ध हुँदै आएको छ । यसअघि अवरुद्ध सडक खुलाउन ढिलाई गरेको भन्दै ओमकार्यश्वर कन्ट्रक्सनका इन्जिनियर र सुपरभाइजरलाई प्रहरीले नियन्त्रणमा लिएर छाडेको थियो ।

यता बेनी–दरबाङ सडकखण्डअन्तर्गत बेनी नगरपालिका ४ तातोपानी नजिकै घुमाउने भीर, मंगला २ लाम्पाटा र मालिका ६ दरबाङको बाङ्गे पहिरो भन्ने ठाउँमा वर्षाले सडक अवरुद्ध बनाउने गरेको छ । सडक स्तरोन्नतिको जिम्मा लिएको ठेकेदार कम्पनीले समयमा प्रभावकारी काम गर्न नसक्दा बेनी–जोमसोम र बेनी–दरबाङ सडकखण्डको विभिन्न ठाउँमा पटकपटक पहिरो खसेर सडक अवरुद्ध हुँदा समस्या भैरहेको छ ।

प्रतिक्रिया दिनुहोस्