नेपालको नर्सिङ क्षेत्रका अग्रणी प्रा. डा. प्रधानको निधन



न्युज अफ नेपाल, काठमाडौं ।

नेपालको नर्सिङ क्षेत्रका अग्रणी प्रा. डा. हरिबदन प्रधानको ८३ वर्षको उमेरमा आइतबार राती निधन भएको छ । बिगत केही महिनाअघिदेखि मृगौला र मुटुसम्बन्धी समस्याका कारण थला पर्नुभएका प्राडा प्रधानको त्रिभुवन शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर एण्ड ट्रान्सप्लाण्ट सेन्टरमा उपचारको क्रममा आइतबार राती सवा ११ बजे निधन भएको हो ।

महाराजगञ्ज नर्सिङ क्याम्पसका पूर्व क्याम्पस प्रमुख तथा त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानका पूर्व सहायक डिन प्रा. डा. प्रधानले सन् १९६० को दशकमा अमेरिकाबाट नर्सिङमा स्नातक उपाधी प्राप्त गर्नुभएको थियो ।

नर्सिङ एसोसियसन अफ नेपालका पूर्व अध्यक्ष समेत रहनुभएका प्रा. डा. प्रधानले इजरायलबाट जनस्वास्थ्यमा स्नाकोत्तर र त्रिभुवन विश्वविद्यालयबाट चिकित्सा शास्त्रमा विद्यावारिधी गर्नुभएको थियो ।

उहाँका पति राष्ट्रिय समाचार समितिका पूर्व अध्यक्ष तथा तत्कालीन जन्मभूमि साप्ताहिकका प्रधान सम्पादक बरिष्ठ पत्रकार गणेश बल्लभ प्रधानको झण्डै तीन वर्ष अघि ८३ वर्षकै उमेरमा निधन भएको थियो । स्वर्गीय प्रधानका एक छोरा र दुई छोरी हुनुहुन्छ । उहाँका छोरा शिरीष बल्लभ प्रधान पत्रकार हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्