मल्लको स्थानमा सन्तोष ओलम्पिकमा जाने



नेपाल समाचारपत्र, काठमाडौं । 

टोक्यो ओलम्पिकमा सहभागी हुन कोरोनाको पीसीआर टेस्ट गर्दा प्रशिक्षक इन्द्रकुमारी मल्लको पोजिटिभ नतिजा आएपछि उनी जापान जान वञ्चित भएकी छन् । एथ्लेटिक्स खेलाडी सरस्वती चौधरीको प्रशिक्षकको रूपमा जापान जाने टोलीमा रहेकी हुन् । तर, उनको पीसीआर टेस्ट पोजिटिभ आएपछि मल्लको स्थानमा सन्तोष श्रेष्ठलाई पठाउने नेपाल ओलम्पिक कमिटीले विज्ञप्तिमार्फत् जनाएको हो ।

सरस्वतीले टोक्यो ओलम्पिकमा महिला सय मिटर दौडमा सहभागिता जनाउनेछिन् । उनी अन्तिम समयमा ओलम्पिक खेल्न छनोट भएकी भाग्यमानी नेपाली खेलाडी हुन् । यसअघि लामो दौडका धावक गोपीचन्द्र पार्की ओलम्पिक जाने तय भएका थिए । तर, ओलम्पिक जाने टिम घोषणा हुन लाग्दा पार्कीलाई ओलम्पिकमा छनोट नभएको भनेर नेपाल ओलम्पिक कमिटीले सूचित गरेको थियो । उनको स्थानमा सरस्वतीलाई नेपाल ओलम्पिक कमिटीले छनोट गरेको हो ।

यसैगरी, राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइरालाले विज्ञप्ति जारी गर्दै ओलम्पिकमा नजाने बताएका छन् । टोक्यो ओलम्पिकमा भाग लिनको लागि शुक्रबार १० सदस्यीय टोली त्यसतर्फ गएको थियो । कोइरालाले सरकारी बजेटमा टोक्यो जान नचाहेको बताए । उनले बताए कि कुनै बैठक र छलफलबाट उनको नाम सिफारिस भएको छैन र ओलम्पिकमा एथ्लेटिक्सको व्यवस्थापक बनाइएको भन्ने कुनै जानकारी भएको छैन ।

 

प्रतिक्रिया दिनुहोस्