प्रदेश १ मा हत्याका घटनामा बृद्धि



न्युज अफ नेपाल, भद्रपुर ।

झापासहित प्रदेश नम्वर १ मा हत्याका घटना बढेका छन् । असार महिनामा मात्रै आठ वटा हत्याका घटना भएको प्रहरीले पुष्टि गरेको छ । झापाको बिर्तामोड–५ मा यही असार २७ गते मृत अवस्थामा फेला परेकी सिर्जना बस्नेतको हत्या वा आत्महत्या भन्ने विषयको प्रहरीले निक्र्याैल निकालेको छैन ।

बिर्तामोडकी युवती मृत्यु प्रकरणको टुङ्गो नलाग्दै बिहीबार झापाको गौरादह–१ गेउरियामा महिलाको शव फेला परेको छ । गेउरिया चौक नजिकै ३९ वर्षीया संगीता टुडू मृत फेला परेकी हुन् । श्रीमानसँग बुधबार बेलुका झगडा भएको र श्रीमान् फरार रहेकाले उनैले हत्या गरेको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

यता बिर्तामोडकी बस्नेत मृत्यु प्रकरणमा प्रहरीले कसैलाई पक्राउ नगर्नु र तीन दिनकै अवधिमा अर्काे हत्याको घटनाले सुरक्षा ब्यवस्थामा प्रश्न खडा गरेको छ । असार महिनामा मात्रै भएका हत्याका घटनामा आफन्तको नै संलग्नता बढिरहेको प्रहरीले जनाएको छ । गत असार ३ गते मेचीनगर–५का ४० वर्षीय भीमराज लिम्बूको हत्या भएको जिल्लाका डिएसपी राकेश थापाले बताउँनुभभयो । उनलाई सोही ठाउँका ५६ वर्षीय सुकराज लिम्बूले कपडाको क्र्याक व्याण्डेजले घाँटीमा बाँधेर हत्या गरेका थिए । हत्यामा संलग्न सुकराजलाई प्रहरीले पक्राउ गरेको छ ।

असार १३ गते खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका २८ वर्षीय सुवर्ण राईले आफ्नै बुबाको हत्या गरे । घरायसी विवादमा बुबा छोराको विवाद हुँदा सुवर्णले ७२ वर्षीय बुबा चन्द्रबहादुरको गर्धनमा खुकुरी प्रहार गरी हत्या गरेका थिए । असार १९ गते मोरङको बेलवारी नगरपालिका– ७का ५६ वर्षीय अम्बिका घिमिरेले ४८ वर्षीया श्रीमती सीता घिमिरेको मुंग्रो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । मादक पदार्थ सेवन गरेका अम्विकाले आफ्नो बुबाको श्राद्धको दिन नै श्रीमतीको हत्या गरेको प्रदेश प्रहरीले जनाएको छ ।

यता असार २३ गते इलाम नगरपालिका–१२ साङ्ग्रुम्व पिप्ले भन्ज्याङका ४५ वर्षीय यामबहादुर सावाले सोही ठाउँका ५८ वर्षीय धनबहादुर राईको हत्या गरे । राई र सावाबीच झगडा हुँदा सावाले खुकुरी प्रहार गरेको प्रहरीले जनाएको छ । असार २५ गते संखुवासभा खाँदवारी नगरपालिका–१का २४ वर्षीय मुकेश तामाङले २६ वर्षीय पेमा शेर्पालाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खुकुरी प्रहार गरी उनको हत्या गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

असार २६ गते मोरङको विराटनगरमा आफ्नै भाइले दाजुको हत्या गरेका छन् । गुप्तचर विभागमा कार्यरत हवल्दार ४२ वर्षीय भोला सिंहका ३१ वर्षीय भाइ साजन सिंहले छुरा प्रहार गरी दाजुको हत्या गरेका हुन् । लागूऔषध दुव्र्यसनमा फसेका साजनले दाजु घर आएको समयमा छुरा प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

त्यस्तै उच्च अदालत विराटनगर इलाम इजलासको परिसरमा मृत अवस्थामा फेला परेकी महिलाको हत्यामा प्रहरीका असइको संलग्नता रहेको खुलेको छ । अदालतकी कर्मचारी ४८ वर्षीया बिमलादेवी निरौला पराजुलीको ३५ वर्षीय युवराज बानियाँले हत्या गरेको जिल्ला प्रहरी कार्यालय इलामका प्रहरी उपरीक्षक महेन्द्र कुमार श्रेष्ठले जनाउँनुभयो । उनीहरुको अवैध सम्वन्ध रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

उता असार ३० गते मोरङमा नवजात शिशुको हत्या भएको छ । रंगेली–५ आँपगाछीमा नवजात शिशुको हत्या गरेको अभियोगमा प्रहरीले ४ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा २५ वर्षीया खुश्वू मण्डल, ५० वर्षीय नागेश्वर मण्डल, ४८ वर्षीया उर्मिला मण्डल र २८ वर्षीय अरुण मण्डल रहेका छन् । खुश्वूले छोरी जन्माएको भन्दै ब्लाङ्केटले घाँटी थिचेर हत्या गरी खाल्डो खनेर पुरेको अवस्थामा नवजात शिशुको शव प्रहरीले फेला पारेको थियो ।

त्यस्तै असार ३१ गते मोरङको विराटनगरस्थित बसपार्क चौकमा सञ्चालित चिया पसलभित्र एक महिलाको शव फेला परेको थियो । चिया पसलभित्र घोप्टो परेको अवस्थामा ४० वर्षीया सीता राजवंशीको शव फेला परेको प्रदेश १ प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।

राजवंशीको हत्या भएको आशंका भए पनि प्रहरीले पुष्टि गरेको छैन । प्रहरीले पुष्टि नगरेका तीन घटनासँगै असार महिनामा मात्रै ११ जनाले ज्यान गुमाएका छन् । हत्याका घटनामा प्रहरीले कुकुरको सहायता लिए पनि झापाको घटनामा भने प्रहरीले कुनै प्रमाण फेला नपार्दा अन्यौल सृजना भएको छ ।

बिर्तामोडको सुरक्षा व्यवस्थालाई लिएर नगरपालिकाले विज्ञप्ति नै निकालेर चिन्ता व्यक्त गरेको छ । पछिल्लो समय विर्तामोडमा हत्याका घटना बढेको भन्दै सुरक्षा व्यवस्था चुस्त राख्न नगरप्रमुख ध्रुवकुमार शिवाकोटीले प्रहरीलाई आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्