पाल्पामा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु, एक घाइते



न्युज अफ नेपाल, पाल्पा ।

जिल्लाको तिनाउ गाउँपालिका –६ डुँम्रे स्थित भित्री कच्ची सडकमा पहिरोले ट्याक्टर र जेसिबी पुरिँदा एकको मृत्यु हुनाको साथै एक जना घाइते भएका छन् । तिनाउ गाउपालिका अन्तर्गत पर्ने डुँम्रेबाट होलीघाटतर्फ ढुङ्गा लोड गरी जाँदै गरेको लु ४ त ६६२९ नम्वरको ट्याक्टर पहिरोले पुरिँदा ट्याक्टर सहयोगी बर्दिया अस्मेरी गाउँपालिका –३ का २७ वर्षीय महेन्द (मुमलाल) पुनको मृत्यु भएको हो ।

पुनको उपचारका क्रममा तानसेस्थित लुम्बिनी मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । मृतक डुँम्रेमा अस्थायी रुपमा बसोबास गर्दै आएको वताइएको छ । ट्याक्टर हिलोमा फसेपछि लु १ क २४९६ र लु १ क २४९७ नम्वर को जेसिबीले ट्याक्टर निकाल्ने क्रममा अचनाक माथिबाट खसेको पहिरोले ट्याक्टर र जेसिबी पुरिँन जाँदा लु १ क २४९६ नम्वरको जेसिबी चालक रैनादेवी छहरा गाउँपालिका–१ का २० वर्षीय सरोज बुढा घाइते भएको प्रहरीको भनाइ छ ।

घाइते वुढाको लुम्बिनी मेडिकल कलेजमा उपचार भइरहेको छ । घाइतेको अवस्था मध्यम रहेको जनाइएको छ । घटनाको थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्