डोटीको सहजपुर–बोगटान सडक निर्माणको काम तीव्र



विमल विष्ट, डोटी ।

डोटी जिल्लाको सबै भन्दा पुरानो सडक सहजपुर–बोगटान–दिपायल सडकको काम अहिले तिब्र रुपमा सञ्चालन भइरहेको छ । कोरोना महामारीका कारण सरकारे गरेको निषेधाज्ञामा केही खुकुलो बनाएसँगै उक्त सडक स्तरोन्नती सहित कालोपत्रका लागि तिब्र रुपमा तयारी भइरहेको छ ।

अहिले उक्त सडकका बिभिन्न खण्डमा कामदारले दैनिक रुपमा नाली निर्माणदेखि सडक चौडा पर्ने तथा कालोपत्रका लागि गिट्टी फिजाउने कार्यलाई तिब्रता दिएका छन् । पीआरएल–कुमार जेभीसँग रु २ अर्ब २५ करोडमा ५० किलोमिटर सडक कालोपत्रका लागि ठेक्का भएको उक्त सडकमा धामधम काम सुचारु भएकाले चाडै नै काम सम्पन्न हुँनेमा यहाँका नागरिक खुशी भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिसं २०७५ सालको फागुन महिनामा स्तारोन्नती सहित कालोपत्रका लागि सिलन्यास गर्नु भएको उक्त सडक निर्माण कार्यमा रुख काट्नु पर्ने भएपछि वनले रुख काट्न अनुमती नदिएका कारण काममा अवरोध भएको थियो । उक्त सडकमा गएको फागुन महिनामा तत्कालिन संघीय वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले उक्त सडकमा पर्ने रुख काट्नका लागि मन्त्रीपरिषद्मा प्रस्ताव पेस गर्नु भएको थियो ।

मन्त्रीपरिषद्को बैठकले सहजपुर–बोगटान–दिपायल सडकमा पर्ने रुख कटानका लागि अनुमति दिने निर्णय गरेसँगै कामले पुनः तिब्रता पाएको हो । कोरोना महामारीका कारण समय समयमा काममा केही अवरोध भएपनि अहिले सहज भएपछि कामले तिब्रता पाएको चुरेगाउँपालिका–१ का इन्द्रबहादुर छेडालले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कोरोना महामारीले काममा केही समस्या गरेको थियो, अहिले परिस्थिती केही सहज बनेपछि पुनः कामले तिब्रता पाएको छ, अब चाडै काम सम्पन्न हुन्छ होला ।” कैलालीको सहजपुरदेखि डोटीको बागछेडा सम्म निर्माण तथा कालोपत्र भइरहेको उक्त सडक खण्डमा अहिले नाली निर्माण गर्ने, सडकमा गिट्टी फिजाउने तथा सडक चौडा बनाउने काम भइरहेको बडिकेदार गाउँपालिका–१ बिपीनगरका स्थानीय चक्रबहादुर भाटले बताउनुभयो ।

उहाँले भन्नुभयो, “कहिले रुख काट्न नपाएर त, कहिले कोरोनाले काममा केही ढिलाइ भयो, अहिले त काम निकै सुचारु हुँदै छ ।” संघीय वन तथा वातावरणमन्त्री आलेका प्रस्तावमा मन्त्री परिषद्को बैठकले उक्त सडक निर्माणमा अवरोध भएका तीन हजार ३५७ रुख काट्ने अनुमती दिएपछि अहिले सडक क्षेत्र भित्रका रुखहरु पनि काटिन थालेका छन् ।

कैलाली र डोटीका बिभिन्न क्षेत्र जोड्ने उक्त सडक समयमै निर्माण सम्पन्न भए यहाँका नागरिकले आफुले उत्पादन गरेका साग तरकारीदेखि अन्य फलफूलहरु बजार सम्म पु¥याउन निकै सहज हुँने चुरेगाउँपालिका सहजपुरका स्थानीय सुरतबहादुर शाहले जानकारी दिनुभयो । यसैगरी मन्त्रीपरिषद्को बैठकले सहजजुर बोगटान सडकको ईआइए समेत स्वीकृत गरेपछि काममा झन सहज भएको सडक निर्माण कम्पनी पीआरएल–कुमार जेभीले जनाएको छ ।

कुल १४० किलोमिटर लम्बाई रहेको सो सडकमा तत्काललाई ५० किलोमिटर कालोपत्र गर्ने गरि काम अगाडि बढाइएको छ । अहिले वनको कुनै अवरोध नरहेको स्थानमा नाली निर्माणलगायत अन्य सडक निर्माणको कामलाई तीव्रता दिएको आयोजना कार्यालयले जनाएको छ । उक्त सडक खण्ड अन्तरगत कैलाली जिल्लाको सडक खण्डमा पर्ने कम्तिमा पनि ४३८ र डोटी जिल्लाको सडक खण्डमा पर्ने तीन हजार ३५७ भन्दा बढी रुख कटानको लागि वन विभागसँग सम्झौता समेत भइसकेकाले कामले तिब्रता पाएको सहजपुर–बोगटान–दिपायल सडक योजना कार्यालयका योजना प्रमुख इश्वर बस्नेतले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सडक निर्माण गर्नमा अवरोध पु¥याउने रुख काट्ने अनुमती मिलेको छ, वन विभागसँग सम्झौता पनि भयो काम तिब्र रुपमा अगाडी बढेको छ ।” वनको अवरोधसँगै जग्गाको मुआब्जामा देखिएको समस्या पनि समाधान भइरहेका कारण अब उक्त सडकको निर्माण कार्य रोकिने समस्या समाधान भएको छ ।

बिसं २०४४ सालमा निर्माणको सुरु भएको सहजपुर–बोगटान सडकको निर्माणको ३३ वर्ष हुँदा समेत कामले गति लिन नसकेपछि सरकारले उक्त सडक निर्माणका लागि करोडौँ बजेट बिनियोजन गरेको थियो । एक्जिम बैंक अफ इन्डियाको ऋण सहयोगमा उक्त निर्माण हुन लागेको हो ।

तत्कालिन संघीय वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेकै निर्वाचन क्षेत्र भएकाले पनि रुख काट्ने अनुमती पाइएकाले सडक निर्माणको कामले तिब्रता पाएको भन्दै यहाँका स्थानीयले संघीय सरकार तथा तत्कालिन मन्त्री आलेलाई धन्यबाद समेत दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्