भानु जयन्तीमा चार्ल्सको कविता वाचन प्रतियोगिता



न्युज अफ नेपाल, काठमाडौं ।

२०८औं भानु जयन्तीको अवसरमा अन्तर विद्यालय स्तरीय छन्द कविता वाचन प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौंको गोकर्णेश्वर, नयाँबस्तीस्थित चार्ल्स डार्विन एकेडेमीद्वारा आयोजना गरिएको प्रतियोगितामा छन्द अनुरागी कवि, कवयित्री, शिक्षक, शिक्षिकाहरूको उल्लेख्य सहभागीता रहेको थियो ।

कक्षा ५ देखि कक्षा १० सम्मका झण्डै ३५ बालबालिकाले विभिन्न कविहरूका छन्द कविता वाचन गरेका थिए । विद्यालयको अतिरिक्त क्रियाकलाप विभागको आयोजनामा अनलाइन माध्यममा सञ्चालन भएको प्रतियोगिताको अध्यक्षता विद्यालयका सञ्चालक समितिका अध्यक्ष नारायण अधिकारीले गर्नुभएको थियो । निर्णायकमण्डल, शिक्षक, शिक्षिका, प्रतियोगी तथा अप्रतियोगी विद्यार्थी लगायत कार्यक्रममा उपस्थित सम्पूर्णलाई स्वागत गर्दै कार्यक्रमको अौचित्य तथा उद्धेश्यमाथि विद्यालयका प्राचार्य युवराज काफ्लेले प्रकास पार्नु भएको थियो । प्राचार्य काफ्लेले कविता साहित्यको सशक्त विधा रहेको भन्दै भानुभक्त आचार्यले साहित्यिक र भाषिक माध्यमबाट नेपाली साहित्यमा पुर्याउनु भएको अनुपम योगदानलाई सबैले स्मरण गर्नुपर्ने बताउनु भयो ।

भानुभक्तले घाँसीबाट प्रेरणा लिई अमर बनेको प्रसङ्ग उल्लेख गर्दै जीवनमा सदैव सत्कर्ममा जोड दिनु पर्ने कुरा बताउनु भयो । उहाँले यस्ता अतिरिक्त क्रियाकलापको माध्यमबाट बालबालिकाले आफूमा रहेको प्रतिभा प्रस्फुटन गर्ने अवसर प्राप्त गर्ने कुरामा पनि जोड दिनुभयो । छन्द कवि तथा बाल साहित्यकार देवु लुईटेल तथा छन्द अनुरागी ऋषि कुईकेलको निर्णायक मण्डल रहेको कार्यक्रममा कक्षा ५ मा अध्ययनरत छात्रा ओजश्वी कुईकेल, कक्षा ९ मा अध्ययनरत छात्रा बानिरा गिरी, कक्षा १० र कक्षा ९ मा अध्ययनरत छात्राद्वय निमा स्याङ्तान र करिष्मा बस्नेत तथा कक्षा १० र कक्षा ८ मा अध्ययनरत छात्राद्वय निशा थापा तथा सम्पदा दहालले क्रमशः प्रथम, द्वितीय, तृतीय र सान्त्वाना स्थान हासिल गरेका थिए ।

निर्णय सुनाउदै निर्णायक मण्डलकी संयोजक कवि देवु लुईटेलले भर्चुअल माध्यमबाट भएपनि कार्यक्रम भव्य रूपमा सफल भएको र छात्र छात्राहरूको छन्द कविता प्रतिको अनुराग देखेर आफू अत्यन्तै पुलकित भएको बताउनु भयो । कार्यक्रममा कवि देवु लुईटेल, छन्द अनुरागी ऋषि कुईकेल, शिक्षिका अनिता नेपाल लगायत अन्य बालबालिकाले पनि अप्रतियोगीका रूपमा छन्द कविता वाचन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्