पर्वत अस्पतालाई सवा करोडका सामाग्री सहयोग



न्युज अफ नेपाल, पर्वत ।

भौतिक सहित सेवा र सुविधामा प्रगति गरिरहेको पर्वत अस्पताललाई लायन्स क्लब अन्तर्राष्ट्रिय कोषको अनुदानमा १ करोड १६ लाख मूल्य बराबरका स्वास्थ्य सामग्री सहयोग गरिएको छ । लायन्स क्लब इन्टरनेसनल फउण्डेसनको तर्फबाट अस्पतालको सेवा र सुविधालाई थप प्रभावकारी बनाउनको लागि ती सामग्री सहयोग गरिएको हो ।

लायन्स क्लब अन्तर्राष्ट्रिय डिस्ट्रिक्ट ३२५ बी १ का चिफ एडभाइजर वसन्तकुमार कर्माचार्यका अनुसार दुई थान आइसियु भेन्टिलेटर, एक थान हेमोडालिसिस मसिन, एक थान पूर्ण डिजिटल एक्स–रे प्रिन्टिङ मेशिन सहयोग गरिएको छ । यसैगरी एक थान अक्सिजन भर्ने कम्प्रेसर मसिन, एक थान मोर्डन कल्चर मेडिया मसिन, एक थान पूर्ण हाइड्रोलिक अपरेसन टेबल, एक थान एनेस्थेसिया वर्कस्टेशन मसिन, एक थान एक्स–रे खिच्ने मसिन (५०० एमए) पनि सहयोग गरिएको छ ।

दुई थान सेन्टीफ्यूज मेशिन, एकथान लेन्सोमिटर म्यानुअल, एक थान पेन्डिएट्रिक लुप ह्यान्डल, एक थान ब्लड रोलर मिक्स्चर, दुई सेट नर्सिङ स्टेसन फर्निचर सेट, १० थान वेटिङ स्टिल चेयर, आठ सेट औषधि राख्ने ¥याक र चार थान घुम्ने कुर्ची गरी कुल १६ प्रकार सामग्रीहरु सहयोग गरिएको छ ।

कर्माचार्यले एक करोड १६ लाख ३८ हजार एक सय बिस रुपैयाँ लायन्स क्लब इन्टरनेसनल फउण्डेसनबाट प्राप्त हुने भएपछि त्यसका लागि बनेको स्थानीय मिलान कोषमा राखिने ३८ लाखमध्ये कुश्मा नगरपालिकाले १५ लाख रुपैयाँ थप गरेको थियो । यस्तै पर्वतमा क्रियाशिल आठ वटा लायन्स क्लबहरुको तर्फबाट २३ लाख रुपैयाँ संकलन गरेका छन भने यसका अतिरिक्त पर्वत अस्पतालका लागि नै थप उपकरण व्यवस्थापनका लागि सांसद पदम गिरीले स्थानीय पूर्वाधार तथा साझेदारी कोषबाट ३५ लाख रुपैयाँ प्राप्त भएको छ ।

‘यहाँको अस्पतालको सेवा सुविधा व्यवस्थित गर्न सकियो भने उपचारको खोजीमा अन्य जिल्लामा जानुपर्ने अवस्था रहँदैन । अस्पतालले गरिरहेको प्रगतिमा हामीले हातमा हात मिलाएका हौँ’, परियोजनाका सभापति समेत रहनुभएका कर्माचार्य भन्नुहुन्छ ।’
पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पहाडीले लायन्स क्लबहरुको अन्तर्राष्ट्रिय कोषबाट गरिएको सहयोगले अस्पतालमा सेवा अभिबुद्धिको लागि महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुहुन्छ ।

‘रिफर सेन्टरको ट्याग भिर्दै आएको अस्पतालले अहिले जटिल केसमा बाहेक कोही पनि बिरामीलाई रिफर गर्नुपरेको छैन ।’ उहाँले भन्नुभयो ‘कोभिड नियन्त्रणदेखि शल्यक्रियाका केसमा अस्पतालले गरेको काम महत्त्वपूर्ण छ । लायन्सबाट भएको यो सहयोगले हामीलाई झनै हौसला मिलेको छ ।’

पर्वत अस्पताललाई पछिल्लो समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा आर्थिक तथा भौतिक सहयोगहरु उपलब्ध हुँदै आएका छन् । अध्यक्ष पहाडीले सामाजिक सञ्जाल फेसबुकमार्फत् रमाइलोको नाममा गरिने खर्च जोगाएर अस्पताललाई सहयोग गर्न सकेमा कोही निमुखाको ज्यान बाँच्ने भन्दै अभियान थालेपछि अस्पतालको विपद् कोषमा सहयोग गर्नेहरु धेरै रहेको बताउनुभयो ।

विवाह, व्रतबन्ध, जन्मोत्सव, चौरासी, श्राद्ध लगायतका धार्मिक तथा सामाजिक क्रियाकलापको अवसर पारेर सहयोग गरेकाहरुको पैसालाई एकत्रित गरेर त्यसबाट आएको उपचार गराउनै नसक्ने तथा बेबारिसेहरुलाई उपचार गर्न खर्च गरिने पहाडीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्