निजी क्षेत्रको आइसोलेसन सेवा स्थगित



न्युज अफ नेपाल, हेटौंडा ।

मकवानपुर उद्योग वाणिज्य संघको नेतृत्व र विभिन्न सामाजिक संघसंस्थाको सहकार्यमा गठन गरिएको कोभिड हेल्पडेस्क मकवानपुरले सञ्चालन गरेको पल्पसा आइसोलेसन सेन्टरको सेवा स्थगित गरिएको छ । आइसोलेसनमा स्वास्थ्यलाभ लिइरहेका ४ जनालाई बिहीबार बिदा गर्दै सेवा स्थगित गरिएको हो ।

नेपाल सरकारबाट सरकारीस्तरका आइसोलेसन सञ्चालन गर्ने तर निजीस्तरका आइसोलेसनले संक्रमितबाट शुल्क लिएरमात्र सेवा दिनुपर्ने गरी पछिल्लो व्यवस्था गरेको छ । सोहीअनुरुप स्वास्थ्य कार्यालय मकवानपुरले असार १८ गतेपश्चात् पल्पसा आइसोलेसन सेन्टर सञ्चालनको सम्झौता निष्क्रिय हुने जानकारी गराएको थियो ।

संघका अध्यक्षसमेत रहनुभएका कोभिड हेल्पडेस्क मकवानपुर संयोजक कृष्ण कटुवालले भन्नुभयो–असार ३१ गतेसम्म स्वयम्सेवीरुपमा व्यवस्थापन कार्यमा जुट्यौं । र, आइसोलेसनमा रहेको संक्रमितहरु सरकारको मापदण्डअनुसार हाल संक्रमणमुक्त भएकाले बिदा गर्दै पल्पसा आइसोलेसन सेन्टर स्थगित गरेका हौं । हेटौंडा–२ मा पल्पसा आइसोलेसन जेठ १९ गते सञ्चालनमा आएको थियो ।

पल्पसा आइसोलेसन सेन्टरको सफल सञ्चालनमा चार नर्सको अहम् भूमिका थियो । नर्सहरु पवि लामासिन्तान, कविता सापकोटा, मुस्कान पौडेल र प्रीति घिमिरेबाट कोभिड संक्रमितको नियमित चेक गरिएको थियो । उहाँहरुले २४ सै घण्टा सेवा प्रदान गर्नुभएको थियो । अनमी दिव्या बस्नेत, अहेब प्रवीण पुडासैनीको पनि उल्लेख्य भूमिका थियो ।

पल्पसा आइसोलेसन सेन्टरमा रहेका कोभिड संक्रमितका लागि डा. ओजश्वी पोखरेलबाट दैनिक स्वास्थ्य परामर्श प्रदान गरी आइसोलेसनको सफल सञ्चालनमा सघाइएको थियो । कोभिड हेल्पडेस्क मकवानपुर सचिवालय सदस्य एवम् सामुदायिक सेवाकेन्द्र मकवानपुर तथा सामुदायिक प्रहरी सेवाकेन्द्र हेटौंडा, पशुपतिनगर अध्यक्ष राम बिष्टमार्फत् केन्द्रको स्वामित्वमा रहेको एम्बुलेन्स २४ घण्टा निःशुल्क सुविधा प्रदान गर्ने गरी पल्पसा आइसोलेसन सेन्टरमा तयारी अवस्थामा राखी सेवा प्रदान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्