आँबुखैरेनी गाउँपालिकाको बहुद्देश्यीय भवनको शिलान्यास



मिला दरै, तनहुँ ।

आँबुखैरेनी गाउँपालिकाको बहुद्देश्यीय भवन निर्माण कार्य थालिएको छ । गाउँपालिकाको नयाँ प्रशासकीय भवन निर्माण भएपछि सोही स्थानमा बहुद्देश्यीय भवन बनाउन लागिएको हो । बहुद्देश्यीय भवनको बुधबार गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले शिलान्यास गर्नुभएको छ । भवन निर्माण भएपछि गाउँपालिकाको आयस्रोतमा बृद्धि हुने अध्यक्ष थापाले बताउनुभयो ।

पहिलो चरणमा ३ तल्लासम्मको फ्रेम संरचना तयार गरिएको उक्त भवन निर्माणका लागि १३ करोड ७४ लाख १ हजार ७ सय ८१ रुपैयाँ अनुमान गरिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

पोखरेलका अनुसार भवन निर्माणका लागि काभ्रेस्थित ज्ञान ज्योति विल्डर्स प्रा. लि.सँग सम्झौता गरिएको छ । ४९३.५८ वर्गमिटर क्षेत्रफलमा ५ तले भवन निर्माण गरिनेछ । पहिलो चरणको कार्यका लागि ३ करोड ५७ लाख ८९ हजार ८७९ रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण कम्पनीसँग २ करोड ३८ लाख ८८ हजार ७७८ रुपैयाँमा सम्झौता भएको उहाँले बताउनुभयो ।

२०७८ बैशाख १५ गते सम्झौता भएको उक्त भवन निर्माणका लागि एक वर्षमा सम्पन्न गर्ने लक्ष्य लिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले भवन निर्माण गरेर बैशाख १ गतेदेखि नयाँ भवनबाट सेवा प्रारम्भ गरेको थियो । पुरानो भवन रहेको स्थानमा बहुद्देश्यीय भवन निर्माण गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस्