राष्ट्रपतिबाट कविता महोत्सवका विजयीलाई पुरस्कार प्रदान



काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल–प्रज्ञा प्रतिष्ठानद्वारा पछिल्ला दुई वर्षमा आयोजित राष्ट्रिय कविता महोत्सवमा पुरस्कृत कविहरूलाई आज पुुरस्कार प्रदान गर्नुभएको छ । राष्ट्रपति भवन, शीतल निवासमा आयोजित समारोहमा ती पुरस्कार प्रदान गरिएको हो । प्रथम पुरस्कृत हुनेमा कविता महोत्सव–२०७७ मा ‘नेपालको गीत’ शीर्षकबाट नुवाकोटकी भैरवी भूगोल र यस वर्ष ‘देशको नक्सा’ शीर्षकमा भोजपुरकी कविता राईलगायत हुनुहुन्छ ।

विसं २०७७ मा लमजुङका प्रज्वल अधिकारीको कविता ‘सङ्कल्प’ द्वितीय, सोलुखुम्बुका गणेशप्रसाद खतिवडाको ‘आमाको आदेश’, दोलखाकी देवकी अभिलाषीको ‘आमा एक विश्वविद्यालय’ र तेह्रथुमकी रेजिना आपगाईंको ‘समृद्ध नेपालको सपना’ शीर्षकका कविता तृतीय भएको थियो ।

यस वर्ष धादिङकी अमृता स्मृतिको ‘डढेलोपछि पनि वसन्त आउँछ’ द्वितीय तथा बर्दियाकी निरञ्जनाकुमारी चन्दको ‘युगीन प्रतिध्वनि’, ताप्लेजुङकी सविता बरालको ‘आमा म आएँ अब’ र नुवाकोटका प्रकाश सिलवालको ‘बोधिसत्वको खोप’ शीर्षकका कविता तृतीय भएको थियो ।

प्रतियोगितामा प्रथम हुनेलाई रु ५० हजार, द्वितीयलाई रु ४० हजार र तृतीयलाई रु ३० हजार प्रदान गरिएको छ । प्रतिष्ठानले स्थापना दिवसका दिन हरेक असार ९ गते महोत्सव आयोजना गर्दै आएको छ । विसं २०१४ मा नेपाली साहित्य, कला एकेडेमीका नाममा स्थापित प्रतिष्ठानले भाषा, साहित्य, संस्कृति, सामाजिकशास्त्र र दर्शनशास्त्रमा कार्य गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्