बार्टीको लागि विम्बल्डन चमत्कार



मेलबर्न, (एजेन्सी) ।

विम्बल्डन च्याम्पियन एस्लिग बार्टीले प्रतियोगितामा खेल्नु नै चमत्कार रहेको बताएकी छन् । चोटबाट मुक्ति पाएर उनी विम्बल्डनमा खेल्न आएकी हुन् । विश्व नम्बर एक बार्टीले शनिबार भएको फाइनल खेलमा चेक रिपब्लिककी केरोलिना पीलीस्कोभालाई ६–३, ६–७, ६–३ ले हराएर उपाधि जितेकी थिइन् ।

गत महिना सम्पन्न फ्रेन्च ओपनमा हिप समस्या भएर बार्टीले नाम फिर्ता लिएकी थिइन् । फ्रेन्च ओपनमा उनी २०१९ की विजेता थिइन् । चोटका कारण उनी करिब २ महिनाको लागि कोर्टबाट अलग भएकी थिइन् । तर, २५ वर्षीया खेलाडीले पुःन कोर्टमा फर्केपछि उपाधि नै जितिन् । उनले बताइन्–‘चोटबाट उम्किएर खेल्नु नै असाधारण रहेको थियो । कहिलेकाँही सकारात्मक सोचमा योजना बनाउँदा सपना पूरा गर्न सकिँदो रहेछ । मेरो लागि यस्तै भयो, विम्बल्डनमा चमत्कार भएको छ ।’

बार्टी विम्बल्डनको वोमेन्स सिंगल्स उपाधि जित्ने अस्ट्रेलियाकी दोस्रो खेलाडी हुन् । ४१ वर्षअघि इभोन गुलागंग काउलीले विम्बल्डनमा उपाधि जितेकी थिइन् । बार्टीले बताइन्–‘इभोन मेरो लागि अति नै विशेष व्यक्ति हुन् । मलाई लाग्छ उनी आदर्श खेलाडी हुन्, जसले युवा खेलाडीलाई सपनामा विश्वास गर्न र सपना पछ्याउन प्रेरणा दिइरहन्छन् । मलाई उनले यस्तै प्रेरणा दिएकी छिन् ।’

१० वर्षअघि विम्बल्डनमा जुनियर ट्रफी जितेकी बार्टीले यसै महिना टोक्यो ओलम्पिकमा अस्ट्रेलियाबाट प्रतिनिधित्व गर्नेछिन् । उनले त्यहाँ पनि स्वर्णपदक जित्ने आस गरेकी छन् । उनले भनिन्–‘मेरो फिटनेसबारे मलाई कुनै डर छैन । वास्तवमा केही घटना घट्नेछ, तर यसलाई म सामान्य र स्वाभाविकरूपमा लिनेछु । हाम्रो टिमले तयारी गरेका छौँ, हामीले जति सक्छौं त्यति उत्कृष्ट पस्कने हो ।’
बार्टी क्रिकेटरसमेत हुन्

बार्टीले २०१४ मा यूएस ओपन खेलेपछि टेनिसबाट विश्राम लिएकी थिइन् । उनले अस्ट्रेलियाको महिला क्रिकेट टिमका खेलाडीसँग भेटेपछि क्रिकेट खेल्न लागेकी थिइन् । उनीसँग क्रिकेट खेल्ने कुनै अनुभव नभए पनि छनोटकर्तालाई प्रभावित गरेकी थिइन् । उनलाई बिग बाश लिगका लागि ब्रिस्बेन हिटको टिममा छनोट गरिएको थियो । २०१५–१६ को सिजनमा उनले ब्रिस्बेन हिटको लागि खेलिन् । यसपछि उनी क्विन्सलेन्ड फायर टिममा आबद्ध भएकी थिइन् । उनी बिग बाशपछि २०१६ मा पुनः टेनिसमा फर्केकी हुन् । टेनिसमा फर्केर उनले दुई ग्रान्डस्लाम उपाधि आफ्नो नाममा गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्