बाढीले गाडी बगाउँदा दुई बेपत्ता, खोजी कार्य तीव्र

2.16k
Shares

दुर्गाप्रसाद शर्मा, पर्वत ।

पर्वतको सुन्दरेखोलामा आएको बाढीले गाडी बगाउँदा सडक निर्माणमा खटिएका ओभरसियर सहित दुई जना बेपत्ता भएका छन । मध्यपहाडी लोकमार्गमा पर्ने सदरमुकाम कुस्मा नजिकै रहेको सुन्दरखोलाले गएराति करिब ११ बजे दोविल्ला भन्ने स्थानमा गाडी बगाउँदा त्यसमा सबार दुई जना बेपत्ता भएका हुन ।

निर्माण कम्पनी लामा कन्ट्रक्सनको प्रदेश ३–०१–०३३–च–३६४२ नम्बरको हाइलक्स गाडीमा सवार साईड इन्र्चाज राजाराम आचार्य र गाडीका चालक इन्द्र थारु बेपत्ता भएको जिल्ला प्रहरी प्रमुख डिएसपी शिबराज बुढाथोकीले जानकारी दिनुभयो । बाढीले बगाएको गाडी डेढ किलोमिटर तल रतीखोला र मोदीखोलाको दोभान नजिक भेटिएको छ । बेपत्ता भएका दुबै जनाको खोजी जारी रहेको बुढाथोकीले बताउनुभयो ।

नदी किनार र कालीगण्डकी किनारका सबै क्षेत्रमा खोजी जारी रहेको डिएसपी बुढाथोकीले बताउनुभयो । पर्वत, बागलुङ्ग, गुल्मी र स्याङ्गजा तर्फ नदी किनारमा शबका खोजी भैरहेको र बिहीबार देखि सुन्दरे खोलाको बगरमा पनि जेसिभी प्रयोग गरेर खोजी गरिने उहाँले जानकारी दिनुभयो ।

अबरुद्ध मध्यपहाडी लोकमार्ग सुचारु

मंगलबार राति साढे १० बजेबाट अवरुद्ध भएको मध्यपहाडी लोकमार्ग अन्तर्गत पोखरा–बागलुङ खण्ड झन्डै १६ घण्टापछि सुचारु भएको छ।पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित दोबिल्लामा रहेको सुन्दरे खोलामा आएको बाढीले सवारी बगाएको र सडक पुर्नुका साथै कटान गर्दा अवरुद्ध भएको थियो।

सडक बुधबार दिउँसो २ बजेदेखि दुइतर्फी रुपमा सञ्चालनमा आएको ट्राफिक प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव निरीक्षक कृष्णबहादुर खड्काले बताउनुभयो । स्काभेटर सहयोगमा लामो समयको मिहिनेतपछि बाढीसँगै आएका ढुङ्गा र रुखले पुरिएको सडकमुनिको सुरुङ खुलाएर सडकमा बगेको बाढीलाई पुरानै बाटोमा लैजान सकिएको थियो।

‘बाटोबाटै बगिरहेको बाढी बाटोमुनिको सुरुङबाट बग्न थालेपछि एकतर्फी रुपमा भए पनि सडक सुचारु भएको छ’, उहाँले भन्नुभयो ‘गएराति साढे १० बजेबाट नै दोबिल्लादेखि चुवासम्म र उता परादीसम्म अलपत्र परेका सवारीहरुलाई क्रमशः गन्तव्यमा पठाइएको छ।’ सडक अवरुद्ध भएपछि साबिक धौलागिरिका चार जिल्ला पर्वत, बागलुङ, म्याग्दी र मुस्ताङ आउजाउ गर्ने सवारीहरु रोकिएका थिए। विवाहका लागि हिँडेका सवारी गएरातिदेखि सडकमै अलपत्र परे पनि अहिले गन्तव्यमा गइसकेका छन्।

मध्यपहाडी लोकमार्गअन्तर्गत पोखरा–कुश्मा–बागलुङ सडक खुले पनि पोखरा, कुश्मा, बागलुङ लगायतका ठाउँबाट जिल्लाको फलेवास तथा दक्षिणी भेगमा जाने दोबिल्ला–फलेवास सडक भने अवरुद्ध नै छ। कालोपत्रे गरिएको उक्त सडक खण्डमा बाटो नै पत्ता नलाग्ने गरी ग्रेगर, हिलो र ढुङ्गा थुप्रिएका छन्। उक्त सडक खण्ड शाखा सडक भएका कारण फलेवास जोड्ने सडकभन्दा पहिले लोकमार्ग सुचारु गराइएको हो।
समाप्त असार २३