युरोपमा कोभिशिल्डलाई अनुमोदन



न्युज अफ नेपाल, काठमाडौं ।

कोरोना भाइरस विरुद्धको खोप कोभिशिल्डलाई युरोपका सात मुलुकले अनुमोदन गरेको बिबिसीले जनाएको छ । आजसम्म नेपालमा भारतमा निर्मित कोभिशिल्ड र चीनमा निर्मित भेरोसेल खोप भित्रिएका छन् । यी खोपका सम्बन्धमा आउने सकारात्मक र नकारात्मक टिप्पणीलाई खोप लगाएका करिब २७ लाख नेपालीले महत्वका साथ हेर्नेगरेका छन् ।

भारतले २८ करोडभन्दा बढी मात्रा कोभिशिल्ड उत्पादन गरेकोमा नेपालले २४ लाख ४८ हजार डोज कोभिशिल्ड प्राप्त गरेको अवस्था छ । पछिल्लो समय विभिन्न मुलुकले कोरोनाविरुद्धको खोप लगाएका व्यक्तिलाई मात्र अन्तर्राष्ट्रिय उडानको अनुमति दिएका छन् । बिबिसीका अनुसार युरोपका सात मुलुकले पनि कोभिशिल्ड लगाउने व्यक्तिलाई आगमनको स्वीकृति प्रदान गरेको छ । यी सात मुलुकमा अष्ट्रिया, जर्मनी, स्लोभेनिया, ग्रिस, आयरल्याण्ड, स्वीट्जरल्याण्ड र स्पेन रहेका छन् ।

यसबाहेक इस्टोनियाले भारतले स्वीकार गरेका कोरोनाविरुद्धका सबै खोपलाई अनुमोदन गर्ने जनाइसकेको छ । भारतले आफ्नो मुलुकले निर्माण गरेका खोपलाई अनुमोदन नदिने हो भने युरोपमा निर्मित खोप लगाउने व्यक्तिलाई आफूले पनि स्वीकार नगर्ने जनाएको थियो । गत बिहीबार युरोपले जारी गरेको ‘इयु डिजिटल ग्रिन सर्टिफिकेट’ मा कोभिशिल्डलाई मान्यता नदिइएका कारण यो खोप लगाउनेले हीनताबोध गरेका थिए ।

तर सो प्रमाणपत्र युरोपेली नागरिका लागि मात्र भएको बुझिएको छ । कोभिशिल्ड युरोपकै एष्ट्राजेनिका खोपको भारतीय स्वरुप मात्र हो । एष्ट्राजेनिकालाई युरोपले स्वीकार गर्ने तर कोभिशिल्डलाई स्वीकार नगर्ने व्यवहार पक्षपातपूर्ण हुने भारतीय पक्षको धारणा छ । अन्ततः यसलाई युरोपियन मेडिसिन्स एजेन्सी (ईएमए) ले अनुमोदन गरेको जनाइएको छ । भारतीय विदेश मन्त्रालयको कूटनीतिक प्रयासका कारण ईएमएले अनुमोदन गरेको पनि जनाइएको छ । कोभिशिल्डजस्तै कोभ्याक्सिन खोप लगाएका व्यक्तिलाई पनि युरोपले आवागमनमा अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्