माटो सुहाउँदो मानसिकता



‘जननी जन्मभूमिश्च स्वर्गादपि गरीयशी’ अर्थात् आमा र मातृभूमि स्वर्गभन्दा पनि महान् छन् भन्ने आदर्शलाई हामी नेपालीले कत्तिको सम्मान गरेका छौं ? जननी र जन्मभूमिको सम्मान भनेको के हो ? यस विषयमा हरेक जिम्मेवारीमा रहेका नेपालीले चिन्तन गर्नु आवश्यक देखिन्छ । जसरी मातृभक्त छोरा–छोरीले बिरामी आमालाई उपचारका लागि प्रयास गर्छन् त्यसरी नै वर्षा, बाढी–पहिरो र डुवानको समस्यामा परेकी मातृभूमिलाई हामीले रक्षा गर्नुपर्ने हो । ‘नेपालको भू–बनावट नै यस्तै छ’ भनेर हात बाँधेर बस्यौं, नदीनाला र कमजोर बनावटका पाखाहरुलाई हिउँदमै ‘रिटेनिङ वाल’ लगाउने, वृक्षरोपण गर्ने र अतिक्रमण विरुद्धका अभियान चलाउने कार्य गरेनौं भने वर्षाले विपत्ति त जन्माउँछ नै ।

हरेक वर्ष वर्षायाममा नेपालमा बाढी–पहिरोबाट ठूलो जनधनको क्षति हुने गरेको छ । वर्षेनी बाढी–पहिरोका कारण हजारौँ नागरिक घरबारविहीन हुने गरेका छन् । प्राकृतिक विपद् कहाँ र कति बेला आउँछ भन्न सकिने अवस्था छैन । तर, सम्भावित प्राकृतिक विपद्का बारेमा पूर्वतयारी र सावधानी अपनाउने अभ्यास नभएकै कारण यस्ता विनाश बढेकोमा भने विवाद छैन । यसै गरी, तराई क्षेत्रमा वर्षेनी डुवानको समस्या छ भने पहाडी क्षेत्रमा पहिरोको जोखिम छ । वर्षा शुरु भएसँगै देशको मुख्य राजमार्ग पहिरोका कारण अवरुद्ध हुने क्रम शुरु हुन्छ । पहाडी क्षेत्रमा पछिल्लो समय विकासको नाममा घर–घरमा सडक पु¥याउने होडबाजी नै चलेको छ, डोजर आतंक सिर्जना भइरहेको छ । स्थानीय सरकारको अधिकांश बजेट कच्ची सडक निर्माणका नाममा जथाभावी मातृभूमिलाई घाइते बनाउने काम भइरहेको छ । वातावरणीय पक्षलाई ध्यान नदिई प्राकृतिक संरचना भत्काउने अभियान चलेको छ । वातावरणीय असरको मूल्यांकन नगरी मनोमानीरूपमा सडकको ट्रयाक खोल्ने रिएको छ । बाटो, सडक, उत्खनन आवश्यक भए पनि मापदण्डविपरीत निर्माण गरिएको सडकले पहाडी क्षेत्रमा विकाससँगै विकास पनि ल्याएको छ । पहाडी क्षेत्रमा भएका सडकलाई व्यवस्थित बनाउने भन्दा पनि राजनीतिक पहुँचको आधारमा सडक खन्ने क्रम तीव्र गतिमा अघि बढेको छ । हचुवा शैलीमा निर्माण गरिएको सडकले ल्याउन सक्ने विपद्को बारेमा पूर्वानुमान गरिएको छैन ।

विगतमा तराई क्षेत्रमा बाढीले ठूलो जनधनको क्षति गरेको दृष्टान्त रहेको छ । बाढीपछि सरकारले बाढीका कारण पहिचान गर्न अध्ययन समिति पनि गठन गर्ने गरेको छ । अध्ययनपछि ती समितिहरुले प्रतिवेदन पनि बुझाउने गरेका छन् । तर, प्रतिवेदनअनुसार सरकारले पूर्वतयारीको काममा खासै ध्यान दिएको पाइँदैन । सरकारले पूर्वतयारी र सावधनी अपनाउँदा ठूलो जनधनको क्षतिबाट मातृभूमिलाई रोक्न सक्छ । सरकारले विपद्मा हुने जनधनको क्षतिको व्यवस्थापनमा ठूलो बजेट खर्च गर्ने गरेको छ । बाढी–पहिरोबाट विस्थापित भएकाहरुको व्यवस्थापन गर्नु सरकारको दायित्व र कर्तव्य पनि हो । तर, सरकारले सम्भावित विपद्बाट हुन सक्ने क्षति रोक्ने विषययमा समयमै ध्यान दिन सकिरहेको छैन । मातृभूमिप्रतिको सम्मानको कुरा गर्दा धेरैले शत्रु राष्ट्रबाट हुने आक्रमणमा लड्ने तत्परतालाई मात्र बुझेका छन्, तर माटो सुहाउँदो विकास नै यसप्रतिको सम्मान हो भन्ने पक्ष ओझेलमा परेको देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्