सिन्धुलीमा ओली सरकारविरुद्ध विद्यार्थीको मसाल जुलुस (फोटो फिचर)



बुद्ध नेपाली, सिन्धुली ।

सिन्धुलीमाढीमा शनिवार साँझ प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका विरुद्ध मसाल जुलुस प्रदर्शन गरिएको छ । प्रधानमन्त्री ओली नेतृत्वको सरकारले दोस्रो पटक असंवैधानिक र अलोकतान्त्रिक रुपमा गरेको प्रतिनिधि सभा विघटन विरुद्ध विभिन्न बिपक्षि गठबन्धनका विद्यार्थी संगठनहरुले सिन्धुलीमा मसाल जुलुस प्रदर्शन गरेका हुन् ।

संगठनको केन्द्रिय कार्यक्रम अनुसार अखिल (क्रान्तिकारी), नेविसंघ, अनेरास्ववियु र समाजवादी विद्यार्थी युनियनले संयुक्त रुपमा मसाल जुलुस प्रदर्शन गरेको अखिल(क्रान्तिकारी) सिन्धुलीका अध्यक्ष उत्तम पहाडीले बताउनुभयो । उहाँले भन्नुभयो ‘ ओलीको प्रतिनिधिसभा विघटनको असंवैधानिक, स्वेच्छाचारी, अलोकतान्त्रिक र प्रतिगामी कदमका विरुद्ध विद्यार्थी संगठनहरुले संयुक्त रुपमा मशाल जुलुस सहितको वृहत प्रदर्शन गरिएको हो ।’

असंवैधानिक प्रतिनिधिसभाको विघटन, पेट्रोलियम पदार्थ तथा खाद्यान्हको मूल्यवृद्धि, लगायतको विरोध गर्दै सरकारविरुद्ध प्रदर्शन गरिएको नेविसंघ सिन्धुलीमा सभापति उत्पल खड्काले बताउनुभयो । मसाल जुलस प्रदर्शनमा प्रहरीले धरपकट गरेको अध्यक्ष पहाडीको आरोप छ । प्रधानमन्त्री ओलीले दोस्रो पटक पुन प्रतिनिधिसभा विघटन गरेपछि विद्यार्थी संगठनहरुले संयुक्त रुपमा लगातर विरोधका कार्यक्रमहरु गर्दै आएका छन् ।

विद्यार्थीहरुले मसाल बोकेर सिन्धुलीमाढी बजार परिक्रममा गर्दै प्रधानमन्त्री ओलीले गरेको प्रतिनिधिसभा पुनस्थापन गर्न माग गरेका छन् । विद्यार्थी संगठनहरुले गरेको मसाल जुलुस प्रदर्शनमा पार्टीका जिल्ला स्थित शिर्षतहका नेताहरु पनि उत्रिएका थिए ।

प्रतिक्रिया दिनुहोस्