रोनाल्डोको कीर्तिमान नै कीर्तिमान



लन्डन, (एजेन्सी) । 

वर्तमान समयमा उत्कृष्ट भएका फुटबलरमध्ये एक खेलाडी क्रिस्टियानो रोनाल्डोले युरोकप २०२० अन्तर्गत हंगेरीविरुद्धको खेलमा ६ वटा कीर्तिमान रचेका छन् । रोनाल्डोले दुई गोल गरेको खेलमा पोर्चुगलले हंगेरीलाई ३–० ले हराएको थियो । सो नतिजाले हंगेरीस्थित पुस्कास रंगशालामा उपस्थित हजारौं घरेलु समर्थकसमेत निरास हुनुपरेको थियो । कोरोनाभाइरसको महामारीका बावजुद पुस्कास रंगशालामा करिब ६० हजार दर्शक उपस्थित थिए । यो कोरोनाको कालमा कुनै पनि ठूलो फुटबल प्रतियोगितामा उपस्थित भएका सर्वाधिक दर्शकसंख्यासमेत थियो ।

रोनाल्डोका कीर्तिमान

पहिलो कीर्तिमान—रोनाल्डो लगातार पाँचओटा युरो कपमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । उनले यसअघिका २००४, २००८, २०१२ र २०१६ युरो कप प्रतियोगितामा गोल गरेका थिए । रोनाल्डोले पोर्चुगलका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडी हुन् । उनले कुल एक सय ६ अन्तर्राष्ट्रिय गोल गरेका छन् । उनले पछिल्ला ४३ अन्तर्राष्ट्रिय खेलमा ४५ गोल गरेका छन् ।

दोस्रो कीर्तिमान—रोनाल्डोले युरोकप प्रतियोगितामा सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका छन् । उनले फ्रान्सका पूर्व फुटबलर माइकल प्लाटिनीको कीर्तिमान तोेडेका हुन् । उनले २००४ मा युरो कपमा डेब्यु गरेका थिए । उनले सोही प्रतियोगितामा डेब्यु गोल गरेका थिए । उनले युरोकपमा समग्रमा २२ खेलमा ११ गोल गरिसकेका छन् । प्लाटिनीले नौ गोल गरेका थिए ।

तेस्रो कीर्तिमान—रोनाल्डो युरोकपमा एक खेलमा दुई वा सोभन्दा बढी गोल गर्ने पाको खेलाडी बनेका छन् । हंगेरीविरुद्ध उनले ३६ वर्ष १ सय ३० दिनको उमेरमा दुई गोल गरेर कीर्तिमान रचेका थिए । यसअघि, यो कीर्तिमान युक्रेनका आन्द्रे श्वेचेन्कोको नाममा थियो । उनले २०१२ युरो कपमा ३५ वर्ष दुई सय ५६ दिनको उमेरमा स्वीडेन विरुद्ध दुई गोल गरेका थिए ।

चौथो कीर्तिमान—हंगेरीविरुद्धको खेल रोनाल्डोको प्रमुख प्रतियोगिता (विश्वकप-युरोकप) मा पोर्चुगलका लागि ३९ औं सहभागिता थियो । उनी कुनै पनि देशका लागि प्रमुख प्रतियोगितामा सबैभन्दा बढी खेल खेल्ने पहिलो युरोपियन खेलाडी बनेका छन् । यसअघि, यो कीर्तिमान जर्मनीका बास्टियन श्वेनस्टाइगरको नाममा थियो । उनले जर्मनीका लागि ३८ खेल खेलेका थिए ।

पाँचौं कीर्तिमान—अहिलेसम्म १७ खेलाडीले चारपटक युरोकप खेलेका छन् । यसमा लोथार माथ्युज र पिटर शमाइकलजस्ता चर्चित खेलाडी सोमल छन् । २०१६ मा रोनाल्डोसमेत ११ खेलाडी यस्ता थिए की चौथोपटक युरोकपमा सहभागिता जनाएका थिए । तर, यसमा १० खेलाडी हाल चलिरहेको युरोपकपमा छैनन् । कोहीले सन्न्यास लिए भने कोही चोटका कारण खेल्न सकेनन् । रोनाल्डाले पाँच युरोकप खेलेर अर्को रेकर्ड बनाएका छन् ।

छैटौं कीर्तिमान—रोनाल्डो पोर्चुगलका लागि सबै अन्तर्राष्ट्रिय प्रतियोगितामा गोल गर्ने पहिलो खेलाडी हुन् । उनले २००४ युरोकपदेखि हालसम्म पोर्चुगलका लागि ११ प्रमुख प्रतियोगिता खेलेका छन् । उनले सबै खेलमा गोल गरेका छन् । उनले पाँच युरोकप, चार फिफा विश्वकप, कन्फेडेरेसन कप २०१७ र युएफा नेसन्स लिग सामेल छन् ।

युसीएल, युरोमा अल टाइम गोलकर्ता

रोनाल्डो अब युएफा च्याम्पियन्स लिग, युरो कपसमेत गरी समग्रमा फुटबलका अलटाइम लिडिङ गोल स्कोरर बनेका छन् । उनी त्यसै महानतम् खेलाडी बनेका होइनन् । जब विश्वका महान खेलाडीले कम उमेरमै फुटबल छाडेका थिए । जबकी, रोनाल्डो ३६ वर्षमा पनि फुटबल खेलिरहेका छन् ।
२००५ पछि फुटबलका महान खेलाडी जिनेदिन जिदान, रोनाल्डिन्हो, काका र इनिएस्टाले सन्न्यास लिँदा उनीहरूको उमेर रोनाल्डोभन्दा कम थियो । फ्रान्सका जिदानले ३४ वर्षमा, ब्राजिलका दुई खेलाडी रोनाल्डिन्होले ३२ वर्षमा र काकाले ३५ वर्षमा तथा स्पेनका इनिएस्टाले ३३ वर्षमा अन्तर्राष्ट्रिय फुटबलबाट आफूलाई टाढा राखेका थिए । रोनाल्डो भने अहिलेसम्म पोर्चुगलका प्रमुख खेलाडी बनिरहेका छन् ।

अर्को कीर्तिमाननिकट रोनाल्डो

हाल युरोपका विभिन्न शहरमा जारी युरोकपमा रोनाल्डो अझै कीर्तिमान तोड्न गइरहेका छन् । उनले युरोकपमा छनोट र मुख्य प्रतियोगिता गरी कुल ५७ खेल खेलेका छन् । उनी २ खेल खेल्नेबित्तिकै प्रतियोगितामा सबैभन्दा बढी खेल खेल्ने खेलाडी बन्नेछन् ।
हालसम्म इटालीका पूर्व गोलकिपर जियानलुइगी बुफोनले ५८ खेल खेलेका छन् । बुफोनको कीर्तिमान तोडिने पक्कै छ । तर, छनोट खेललाई छोडेमा रोनाल्डो युरोकप प्रतियोगितामा सबैभन्दा बढी खेल खेल्ने खेलाडी हुन् । उनले २२ खेल खेलेका छन् ।
यदि, यो प्रतियोगितामा रोनाल्डोले चार गोल गरेमा अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने खेलाडीको कीर्तिमान रच्नेछन् । उनले हालसम्म एक सय ६ अन्तर्राष्ट्रिय गोल गरिसकेका छन् । अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने कीर्तिमान इरानका महान खेलाडी अली दाइले राखेका छन् । उनले एक सय नौ अन्तर्राष्ट्रिय गोल गरेका छन् ।

रोनाल्डोको रिसले कोकाकोलालाई घाटा 

पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोको रिसले चिसो पेय पदार्थ बनाउने कम्पनी कोका कोलालाई चार अर्ब डलर घाटा भएको छ । शेयर बजारमा कोकाकोला कम्पनीको शेयर मार्केट ५६.१० डलरबाट ५५.२२ डलरमा घटेको हो । अस्टे«लियन एसोसिएटेड प्रेसका अनुसार शेयरमा गिरावटले कोका कोलाको बजार मूल्य दुई सय ४२ अर्ब डलरबाट घटेर दुई सय ३८ अर्ब डलरमा पुगेको हो । कोकाकोला हाल जारी युएफा युरोकपका आधिकारिक प्रायोजकसमेत हो ।

रोनाल्डो अनुशासित डाइटको लागि परिचित छन् । ३६ वर्षमा पनि युवाको जोश भएका रोनाल्डो कुनै पनि चिसो पेय पदार्थ र अन्य पेय पदार्थसँग टाढा नै रहने गर्दछन् । उनको फिटनेस डाइटका धेरै खेलाडी समर्थकसमेत बनेका छन् । जब प्रेस कन्फ्रेन्स हुँदा रोनाल्डोको टेबल अगाडि दुई वटा कोकाकोला राखिएको थियो । उनी यस्ता पेय पदार्थविरुद्ध भएकाले उनले रिसले कोकाकोला हटाएका थिए ।

प्रतिक्रिया दिनुहोस्