विहे गर्दैमा जागिर नजाने एसओएसमा

‘जागिर खाइदिन्छु भन्ने’ एसओएस नेपालका डाइरेक्टरको चेतावनी अन्तर्राष्ट्रिय अफिसले गलत ठहरायो



नेपाल समाचारपत्र, काठमाडौं ।

सुर्खेतस्थित एसओएस बालग्राममा आमा पदमा कार्यरत यसोदा महतलाई नेपालका कार्यकारी प्रमुख ईश्वरीप्रसाद शर्माले ‘विहे गरे जागिर जाने’ चेतावनी दिएपनि बालग्रामकै अन्तर्राष्ट्रिय कार्यालयले ‘नेपालको कानुनअनुसार हुने’ जनाएर उनीमाथि न्याय गरेको छ ।

नेपाल समाचारपत्रले इमेलमार्फत सोधेको प्रश्नको जबाफमा एसओएस अन्तर्राष्ट्रिय कार्यकारी प्रमुख इनग्रिड मारियाले नेपालको ‘एसओएस बालग्राम सम्बन्धित देशको स्थानीय कानुनको अधीनमा रहने भएकोले सम्बन्धित महिला कर्मचारीको हकमा समेत संस्थाको मान्यता जे भए पनि सम्बन्धित देशको कानुन नै प्रमुख हुने’ जबाफ दिएकी छन् ।

विगत केही महिनादेखि एसओएस बालग्राम सुर्खेत कार्यालयकी आमा महतले एसओएस बालग्राम नेपालका कार्यकारी प्रमुख शर्माले सुर्खेत शाखाका प्रमुख मुकुन्द गिरीकै रोहबरमा ‘तैले विहे गरिछस्, तँ जागिर खान पाउँदिनस्, जागिरबाट निस्किहाल’ भनेर उनको मानवअधिकार हनन गरेको भन्दै लिखित उजुरी दिनुका साथै मिडियामा समेत आवाज उठाउँदै आएकी थिइन् ।

संस्थाको राष्ट्रिय, क्षेत्रीय तथा अन्तर्राष्ट्रिय कार्यालयको पटक–पटक ध्यानाकर्षण गर्दासमेत गुनासोको पारदर्शी रुपमा छानबिन तथा सुनुवाई नभएको भन्दै महतले नेपाल समाचारपत्रलाई सम्पर्क गरी भिडियो अन्तर्वार्ता दिएकी थिइन् ।

एसओएस सुर्खेतकी ‘आमा’ पीडित

एसओएस नेपालको कार्यालयले ‘स्वच्छ तथा पारदर्शी रुपमा छानबिन भइसकेको’ भनेर दाबीका साथ समाचारको खण्डन गर्नखोजेता पनि महिलाले छानबिन समिति कार्यकारी निर्देशक शर्माकै प्रभावमा रहेको कारण छानबिन पारदर्शी नभएको र आफूलाई अन्याय परेको भन्दै बोलेपछि अन्तर्राष्ट्रिय कार्यालयले पुनः नयाँ तरिकाले छानबिन सुरु गरेको छ ।

छानबिनकै प्रक्रियामा रहेको उक्त विषयमा आरोपित मध्येका एक सुर्खेत बालग्रामका निर्देशक मुकुन्द गिरीले पीडित महिलालाई बिभिन्न ढंगले मनोवैज्ञानिक दबाब सृजना गरिरहेको स्रोतले बताएको छ । गिरीले पीडित महतको जिम्मेबारीमा रहेका बालग्रामका साना बालबालिकालाई आमाविरुद्ध भड्काउन थालेको सो स्रोत बताउँछ ।

नेपाल समाचारपत्रको अनलाइन संस्करण न्युज अफ नेपालमा तीन हजारभन्दा बढीले शेयर गर्नुका साथै लाखौंले हेरेको उक्त भिडियो अन्तर्वार्तामा महिलाले बारम्बार रुँदै आफ्नो दुखेसो पोखेको देखिन्छ । यस विषयमा एसओएस अन्तर्राष्ट्रियकी सिईओ इनग्रिड मारिया जानेसेनसंँग समाचारपत्रले लिएको अन्र्तर्वार्ताको प्रश्नोत्तर अंशः

के तपाईंको संस्थाको नीति–नियम स्थानीय कानुनको प्रतिकूल जानसक्छ ? कानुनसम्मत तरिकाले विवाह गर्ने एसओएसकी आमाको जागिर यथावत रहन्छ ? तपाईहरुको अन्तर्राष्ट्रिय अभ्यास के छ र एसओएस बालग्राम नेपालका लागि के कस्ता नियम लागु गर्नुभएको छ ?

एसओएस बालग्राम जुनसुकै देशमा स्थापित भएतापनि स्थानीय कानुनको अधीनमा हुन्छ । प्रत्येक देशले स्थानीय कानुनअनुरुप संस्थाको नियमलाई सहकार्य गर्दे आफ्नो नीतिनियम निर्माण गर्ने अपेक्षा गरिन्छ । तर त्यो भएता पनि स्थानिय नीति नियमहरुलाई नै प्राथमिता दिइन्छ ।

एसओएसका १० वर्षदेखि कार्यरत अविवाहित आमा जसको तत्कालै विवाह गर्ने कुनै योजना पनि छैन, उनलाई आधारहीन आरोपहरु लगाई तपाईका राष्ट्रिय प्रमुख र योजना प्रमुखले धम्की दिएको सार्वजनिक भएको छ, संस्थाभित्रै उनको गुनासो सुन्ने र मानवअधिकार सुनिश्चित गर्ने कुनै संयन्त्र छ ?

एसओएस बालग्रामसँंग सरोकार राख्ने गुनासाको बारेमा उजुरी गर्ने धेरै माध्यमहरु छन् र ती अन्तर्राष्ट्रिय अफिसको वेवसाइटमा उपलब्ध पनि छन् जुन यी आमाले पनि प्रयोग गर्नुभएको थियो । एक जिम्मेबार संस्थाको हैसियतले एसओएस बालग्रामले प्रत्येक गुनासाहरुलाई संवेदनशीलताका साथ लिन्छ र संस्थाले निर्धारण गरेको प्रोटोकलअनुरुप समाधान गर्छ ।

उजुरी गर्ने पहिलो संयन्त्र भनेको संस्थाको सम्बन्धित कार्यालय प्रमुख र वा मानव संशाधन विभाग प्रमुख हुन् । यदि त्यहाँ समाधान भएन भने, संस्थाको अध्यक्ष वा सञ्चालक समितिको ध्यानाकर्षण गर्ने प्रावधान रहेको छ । यदि त्यहाँ पनि असफल भएमा क्षेत्रीय कार्यालय उपलब्ध छ ।

स्थानीयस्तरमा बालबालिकाको सुरक्षा, आर्थिक अनियमितता र मानवअधिकार हननसम्बन्धी नेपालमा तपाईहरुले कुनै स्वतन्त्रतापूर्वक मूल्यांकन गर्नुभएको छ ? कुनै यस्ता खालका उजुरीहरु विगतमा परेका थिए ? यदि परेका थिए भने साधारणतया कस्तो कदम संस्थाले लियो र पीडितलाई न्याय दिलाउन कति समय लाग्यो ?

एसओएस बालग्रामहरुमा पूर्ण परिभाषित प्रक्रियाहरु छन् जसलाई संस्थाले निरन्तररुपमा लागु गर्दछ । आन्तरिक परीक्षण, प्रभावको मूल्यांकण, छड्के जाँच, सर्वेक्षण आदि केही यस्ता कार्यहरु हुन् । यस्ता कार्यहरुले संयन्त्रमा रहेको कमजोरीहरु पनि निकाल्छ र प्रभावकारी रुपमा सम्बोधन गर्छ ।

यदि तल्लो तहमा काम गर्ने तपाईको संस्थाको कर्मचारी संस्थाको प्रमुखबाटै पीडित हुन्छ भने, तपाईहरुको स्वच्छ सुनुवाई गर्ने संयन्त्र वा प्रावधान केही छ ? अहिलेको यो विशेष मुद्दामा, के तपाईंले पीडितलाई छनविन समिति र त्यसको सदस्यहरुसम्बन्धी कुनै जानकारी दिनुभयो ? यदि दिनुभएन भने, के तपाईलाई लाग्दैन, पीडितले आफ्नो उजुरीको छानबिन कसले गर्ने भन्ने जान्न पाउनुपर्छ ?

संस्थाले जुनसुकै तहका कर्मचारीबाट आएका उजुरी र गुनासोहरुलाई गम्भीरतापूर्वक लिनेगर्दछ । एसओएस बालग्राम, नेपालले पनि उठेका विषयबस्तुहरुलाई सुनिरहेको छ र सम्बोधन गर्दै आएको छ ।

संस्थाका अध्यक्ष (जो एकजना प्रतिष्ठित स्वास्थ्यकर्मीसमेत हुनुहुन्छ) ले ती आमासँग सम्पर्क गर्नुभएको छ र अर्का संस्थाका उपाध्यक्ष जो पेशाले एक प्रतिष्ठित डाक्टर समेत हुनुहुन्छ उहाँले ती आमालाई प्रत्यक्ष भेट्नुभएको छ र उहाँका कुराहरु सुन्नु भएको छ । संस्था यस विषयको सम्बोधन गर्न प्रतिबद्ध छ ।

हाम्रा मूल्य–मान्यता भनेको साहस र प्रतिबद्धता हुन् र परिस्थितिअनुसार हामीले आवश्यक अनुसासनको कारबाही गरेका छौं ।

संस्थामा देखिने यस्ता खराब कुराहरुलाई सुधार गर्ने कुनै तात्कालिक योजना यहाँहरुसँग छ ?

हामी एसओएस बालग्राम नेपालमा समेत एउटा ‘लोकतान्त्रिक प्रणाली’ को प्रक्रिया सुरु गर्दैछौ, यसरी नियुक्त भएको संयन्त्र, जसले संस्थामा रहेका धेरै विकृतिहरुको स्वतन्त्रतापूर्वक अध्ययन गर्नेछ र त्यसको यथाचित सम्बोधनको लागि संस्थाको सञ्चालक समिति र व्यवस्थापन समितिलाई सुदृढ र सक्रिय बनाउन मद्दत गर्नेछ ।

भष्ट्राचारकोे उजुरी समाज कल्याण परिषद्मा

सुर्खेतमा कार्यरत महिला यसोदा महतलाई ‘तँ’ शब्दकै प्रयोग गरेर जागिर खोस्ने धम्की दिने कार्यकारी प्रमुख ईश्वरीप्रसाद शर्माविरुद्ध गत साता मात्र समाज कल्याण परिषद्मा आर्थिक हिनामिना गरेको आरोपसहित उजुरी परेको छ ।

भूकम्प पुनर्निर्माण तथा भूकम्प पीडित बालबालिकाको उद्धारका लागि आएको विदेशी सहयोग भ्रष्ट्राचार गरेको भनी समाज कल्याण परिषदमा २०७८ जेठ २६ गते उजुरी परेको परिषद्बाट जानकारी प्राप्त भएको छ ।

स्रोतका अनुसार उजुरीमा कार्यकारी प्रमुख शर्माको निजी सम्पत्ति २०७२ सालको महाभूकम्पपश्चात् ह्वात्तै बढेको प्रमाणहरु प्रस्तुत गरिएको छ ।

सम्पत्ति शुद्धीकरण आयोग, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, महालेखा परीक्षकको कार्यालय तथा एसओएस अन्तर्राष्ट्रिय कार्यालयमा समेत २०७८ जेठ २६ गतेमा नै पठाइएको भनिएको उजुरी नेपाल समाचारपत्रलाई पनि प्राप्त भएको छ ।

प्रतिक्रिया दिनुहोस्