लुकीछिपी भित्रनेले बढाए जोखिम



विनोदसिंह विष्ट, बैतडी

भारतबाट अवैध बाटो भएर नेपाल भित्रिने क्रम नरोकिएपछि बैतडीमा कोरोना संक्रमणको जोखिम बढेको छ । निषेधाज्ञा जारी गरेर भारतसँग सीमा जोडिएको नाका झुलाघाट खुला रहेको भए पनि अवैध बाटोबाट नेपाल भित्रिने क्रम नरोकिँदा जोखिम बढेको हो ।

झुलाघाट नाकामा हेल्थ डेस्क स्थापना गरी एन्टिजेन विधिमार्फत अनिवार्यरूपमा कोरोना परीक्षण गर्ने गरिएको छ । तर, अवैधरूपमा नेपाल आउँदा जोखिम बढिरहेको छ । महाकाली नदीमा ट्युब र डुंगामार्फत अवैधरूपमा स्वदेश भित्रिने गरेकाले कोरोना संक्रमणको जोखिम बढेको पञ्चेश्वर गाउँपालिका प्रवक्ता एवं वडा नं २ का अध्यक्ष दशरथ मंगोलाले बताउनुभयो । ‘औपचारिक नाका खुला हुँदाहुँदै पनि अवैधरूपमा आउँदा गाउँमा जोखिम बढाएको छ । –उहाँले भन्नुभयो ।गत वैशाख २० गतेदेखि जिल्लामा निषेधाज्ञा जारी रहेको छ । जिल्लाको तल्लोस्वराड क्षेत्रमा पर्ने अस्थायी नाका (घाटहरु) अहिले बन्द गरिएका छन् । पञ्चेश्वर गाउँपालिकामा पर्ने बलारा, विनायक, रोल, धरम, डिम्बर र ढोयाघाट तथा शिवनाथ गाउँपालिकामा पर्ने कुस्मौत र नागार्जुन घाट बन्द रहेका छन् । स्थानीय तहहरुले ती घाटहरु बन्द गरेका भए पनि डुंगा र ट्युबबाट आवत–जावत नरोकिएको स्थानीय बासिन्दाले बताएका छन् ।

अवैधरूपमा नेपाल भित्रिने क्रम रोक्नका लागि प्रहरी प्रशासनलाई अनुरोध गरिएको भए पनि नियन्त्रणमा आउन नसकेको वडाध्यक्ष मंगोला बताउनुहुन्छ । चोरीछिपी नेपाल आउने गरेका नागरिक कोही भने जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा आउने गरेका र कोही सम्पर्कमा नआएर सीधै घर जाने गरेका स्थानीयले बताएका छन् । अवैधरूपमा नेपाल भित्रिने नागरिकमा जिल्लाको शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिक बढी रहेका छन् । जनप्रतिनिधि र स्वास्थ्यकर्मीको सम्पर्कमा आएकाहरुको कोरोना परीक्षण गर्ने गरिएको स्थानीय तहहरुले जनाएका छन् । महाकाली नदीकिनार शिवनाथ र पञ्चेश्वरमा सुरक्षाकर्मीले सुरक्षा दिइरहेको छन् । डिम्बरघाटमा प्रहरीचौकी र रोलघाटमा सशस्त्र प्रहरी बसेको छ । तर, सुरक्षाकर्मीले भनेअनुसार कडाइ नगरेकाले अवैधरूपमा नेपाल भित्रिने क्रम नरोकिएको स्थानीय बासिन्दाको आरोप छ ।झुलाघाट नाकाबाट आउँदा शिवनाथ र पञ्चेश्वर गाउँपालिकाका नागरिकलाई यातायात र बसोबासका लागि समस्या हुने गरेकाले अवैधरूपमा ट्युबमार्फत भित्रिने गरेका हुन सक्ने सञ्चारकर्मीसमेत रहेका पञ्चेश्वरका बासिन्दा मोहन चन्दले बताउनुभयो । उहाँको भनाइ छ– ‘झुलाघाट नाकाबाट आउँदा यहाँका नागरिकलाई घर पुग्न २ दिन लाग्छ, निषेधाज्ञाका कारणले यातायात र बस्न समस्या हुने गरेकाले अवैधरूपमा आउँछन् ।’ अवैधरूपमा नेपाल भित्रिने क्रम रोक्नका लागि प्रहरी प्रशासनले कडाइका साथ उक्त क्षेत्रमा सुरक्षाकर्मी परिचालन गर्नुपर्नेमा चन्दको जोड रहेको छ ।

यता बैतडीका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले भने उक्त क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी परिचालन गरिएकाले अवैधरूपमा नेपाल भित्रिएको कुरा आफ्नो जानकारीमा नभएको बताउनुभयो । उहाँले भन्नुभयो– ‘सुरक्षाकर्मी, स्थानीय तहका जनप्रतिनिधिसँग सम्पर्क भइरहन्छ, अहिलेसम्म त्यसरी आएको भन्ने गुनासो कतैबाट आएको छैन ।’झुलाघाट नाका खुला रहेकाले त्यसरी अवैध नाका भएर नेपाल प्रवेश नगर्न प्रमुख जिल्ला अधिकारी पाण्डेको आग्रह रहेको छ ।कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि बैतडीमा जेठ ३१ गतेसम्म निषेधाज्ञा जारी गरिएको छ । जिल्लामा हाल कोरोनाका २ सय बढी जना सक्रिय संक्रमित रहेका छन् भने १६ जनाको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्