प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध प्रहरीमा जाहेरी दर्ता



न्युज अफ नेपाल, हेटौंडा ।

बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यविरुद्ध जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको हत्या गर्न दुरुत्साहन हुने अभिव्यक्ति दिएको भन्दै युवा संघ मकवानपुरका एक सदस्यले वैद्यलाई पक्राउ गरी कारबाहीको माग गर्दै जिल्ला प्रहरी कार्यालय मकवानपुरमा जाहेरी दर्ता गरेका हुन् ।

उनले वैद्यविरुद्ध मुलुकी अपराधसंहिता, २०७४ को दफा ३५ को उपदफा ३ (ख) बमोजिम कारबाही माग गर्दै आइतबार जाहेरी दर्ता गराएका छन् । प्रधानमन्त्री ओलीविरुद्ध ‘नाथुराम गोड्से बन्ने’ अभिव्यक्ति दिनुभएका वैद्यविरुद्ध जाहेरी दिइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक÷प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो ।

युवा संघ मकवानपुर जिल्ला सदस्य अनिल काफ्लेले दिएको जाहेरी मकवानपुर प्रहरी प्रमुख प्रहरी उपरीक्षक सोमेन्द्रसिं राठौरलाई बुझाइएको छ । युवा संघ नेपाल केन्द्रीय समिति सदस्य सन्तोष चौलागार्इं नेतृत्वमा युवा संघआवद्ध समूहले प्रहरी उपरीक्षक राठौरलाई जाहेरी निवेदन बुझाएको हो । वैद्यले शुक्रबार संसद् बैठकमा नीति तथा कार्यक्रममाथि आफ्नो धारणा राख्ने क्रममा प्रधानमन्त्री ओलीविरुद्ध ‘नाथुराम गोड्से बन्ने’ अभिव्यक्ति दिनुभएको थियो ।

उहाँको अभिव्यक्तिको सर्वत्र आलोचना भएपछि शनिबारको बैठकमा वैद्यले आत्मालोचना गर्दै अभिव्यक्ति फिर्ता लिनुभएको थियो ।प्रधानमन्त्रीका सन्दर्भमा आपत्तिजनक अभिव्यक्ति दिनुभएका वैद्यले शुक्रबार बैठकमा आफूले बोलेका अभिव्यक्ति गलत रहेको स्वीकार गर्दै माफी माग्नुभएको छ ।

प्रदेशसभामा समय लिएर बोल्दै उहाँले आफूले बोलेका शव्द फिर्ता लिँदै आफूले बोलेका कुरा नीति र संसदीय मर्यादाविपरीत रहेको महसुस गर्दै अभिव्यक्ति रेकर्डबाट हटाउन अनुरोध गर्नुभएको थियो । यद्यपि, उहाँले आत्मालोचना गरेरमात्र नहुने र पक्राउ गरेर कारबाही नै गर्नुपर्ने भन्दै संघले जाहेरी दर्ता गरेको हो । संघले शनिबार कारबाही माग गर्दै प्रहरीमा ज्ञापनपत्र बुझाएको थियो ।

प्रतिक्रिया दिनुहोस्