पर्सामा पुनः एकसाता निषेधाज्ञा थप, बजार भने खुल्ने



कृष्णउदास खनाल, वीरगन्ज ।

पर्सामा बैशाख १६ गतेबाट जारी गरिएको निषेधाज्ञाको समय फेरि थपिएको छ यद्यपी यसपाली भने केही खुकुलो गरिएको जिल्ला कोभिड संकट ब्यवस्थापन केन्द्र(डिसिसीएमसी)ले जनाएको छ । आइतबार बसेको सो केन्द्रको बैठकले आइतबार रातिबाट सकिने निशेधाज्ञाको समय पुनः थप गरी असार ६ गतेसम्मका लागि लम्बाउने निर्णय गरिएको छ ।

यसपाली भने निशेधाज्ञाको शैली केही परिवर्तन गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेले जानकारी दिनुभयो । उहाँका अनुसार अब सोमबार जेठ ३१ गतेबाट मध्यान्ह १२ बजेसम्म जनस्वास्थ्यका सबै मापदण्डहरु पूरा गरी सबै प्रकारका ब्यवसायहरु वीरगन्जमा संचालन गर्न पाइनेछ । यद्यपी अत्यावश्यक बस्तुहरुको आपूर्तिका लागि कुनै रोकतोक नलगाउने निर्णय भएको छ । आजको डिसिसीएमसीको बैठकले पर्सा जिल्लामा जारी गरिएको निशेधाज्ञाको समय छैटौं पटक थप गरी अब असार ६ गते मध्यराति सम्मका लागि लम्बाएको हो ।

खोपमा ग्रामीण भेगका नागरिकहरुको चासो कम

पर्सामा संचालन गरिएको कोरोना भाईरस विरुद्धको शहरमा खोपको अभाव भईरहेको अवस्थामा ग्रामीण क्षेत्रमा खोप लगाउनेको अभाव देखिएको छ । सरकारले काठमाडौं उपत्यका बाहिरका जिल्लाहरुमा ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरुलाई मात्रै कोरोना भाईरस विरुद्धको खोप लगाउने भनेको छ । तर, पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा ६२ देखि ६४ बर्ष उमेर समूहका व्यक्तिहरु खोप लगाउन नआउने र शहरी क्षेत्रमा भने लक्षित उमेर समूह भन्दा बाहिरको व्यक्तिहरु समेत खोप लगाउन आउँदा खोप संचालनमा नै समस्या सृजना भएको छ ।

पर्साको ग्रामीण क्षेत्रका स्थानीय तहका स्वास्थ्य संस्थाहरुमा खोप लगाउन आउने लक्षित उमेर समूहको संख्या अत्यन्त न्यून रहेका छन् । पर्साको ठोरी गाउँपालिकामा ३ सय ५८ जना लक्षित समूहको संख्या रहेकोमा करिब २ सय जनाले मात्रै खोप लगाएका छन् । प्रचार प्रसार गरेको भएपनि केहीले खोप लगाउने इच्छा नदेखाएको, केहीलाई ज्वरो आएको अवस्थामा लगाउन नमिल्ने भएर तथा केही बसाई सराईले संख्या घटेको स्वास्थ्य संयोजक रमेशराज थिङले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले ग्रामीण क्षेत्रमा खोप लाउने संख्या कम हुँदा ३० प्रतिशत मात्रै कभरेज भएको जानकारी दिनुभयो । ग्रामीण क्षेत्रमा खोप लगाउने मान्छे नआउँदा खोप कार्यक्रम नै असफल भएको छ भने, महानगरपालिकाको शहरी क्षेत्रमा भने लक्षित समूह भन्दा बाहिर समूहका व्यक्तिहरुले खोप पाउनुपर्छ भनेर आउँदा खोप दिन नमिल्दा समस्या उत्पन्न भएको छ । अन्तरव्यक्ति सञ्चार, महिला स्वयंसेविकाहरु मार्फतबाट पनि सूचना प्रवाह गरेको भएपनि ग्रामीण क्षेत्रमा भने चीनबाट ल्याएको खोपमा भ्रम सृजना गरिएका कारण खोप लगाउन नआएको खोप अधिकृत सिंहको भनाई छ ।

पर्सामा १२ हजार जति ६२ देखि ६४ बर्ष उमेर समूहको लक्षित संख्या रहेकोमा १० हजार ८ सय ३० डोज मात्रै खोप उपलब्ध भएको छ । ग्रामीण क्षेत्रमा खोप लगाउन नमान्दा र महानगरमा भने खोप अपुग हुँदा खोप वितरणको सन्तुलन नै विग्रिएको छ । यसलाई जिल्लाखोप समन्वय समितिसँग छलफल गरेर निर्णय गरिने खोप अधिकृत सिंहले बताउनुभयो । जेठ २८ गते र २९ गते खोप लगाईएको र आजदेखि खोप कार्यक्रम रोेकेको जानकारी दिदै उहाँले अब खोप समन्वय समितिको बैठकले गरेको निर्णय अनुसार नै कार्यक्रम संचालन गरिने बताउनुभयो । पर्साको जीराभवानी गाउँपालिकाका १४५ जनाले मात्रै खोप लगाएका छन् । जगरनाथपुर गाउँपालिकामा ४०० को हाराहारीमा लक्षित उमेर समूह भएपनि १६४ जनाले मात्रै खोप लगाएका छन् ।

त्यस्तै छिपहरमाई गाउँपालिकामा ४४७ जना लक्षित समूहको संख्या रहेकोमा ६१ जनाले मात्रै खोप लगाएका छन् । धोविनी गाउँपालिकामा ३४१ जनामा ४८ जनाले, पकाहामैनपुरमा ५७ जनाले लगाएका छन् । त्यसैगरी ४१० लक्षित उमेर समूहको संख्या रहेको विन्दवासिनीमा १९८ जनाले मात्रै खोप लगाएका छन् । बहुदरामाई नगरपालिकामा ६६१ जना लक्षित उमेर समूहको संख्या मध्य ३३० जनाले लगाएका छन् । ग्रामीण क्षेत्रका अधिकांश गाउँपालिकामा चिनयाँ खोप काम गर्दैन भनेर भ्रम फैलाईएका कारण खोप लगाउन डराएर नआएको गाउँपालिकाका स्वास्थ्य संयोजकहरुले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्