काँग्रेसको १४ औँ महाधिवेशन आगामी भदौ १६-१९ गते काठमाडौंमा हुने



काठमाडौं । नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नौ दिन पछि सर्ने भएको छ । सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा पार्टी पदाधिकारी र पूर्व पदाधिकारीको आजको बैठकले महाधिवेशन आगामी भदौ १६ देखि १९ गतेसम्म गर्ने निर्णय गरेको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिनुभयो । उक्त निर्णय काँग्रेस केन्द्रीय कार्यसमितिको आगामी असार ३ गते बस्ने बैठकले पारित गर्ने उहाँले बताउनुभयो ।

काँग्रेसले यसअघि केन्द्रीय महाधिवेशन आगामी भदौ ७ देखि १० गतेसम्म काठमाडौँ गर्ने तालिका निर्धारण गरेको थियो ।  सोहीअनुसार क्रियाशील सदस्यतासम्बन्धी कार्य टुङ्ग्याउने र अन्य तहका अधिवेशन गर्ने मिति तोकिएको थियो । महामारीको विषम परिस्थितिका कारण यसअघिको निर्धारित महाधिवेशन कार्यतालिका प्रभावित भएको भन्दै काँग्रेसले नयाँ कार्यतालिका निर्धारण गर्नुपरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्