उपमेयरको कार्यकक्षमा कार्यकर्तालाई खुसुक्क खोप



न्युज अफ नेपाल, हेटौंडा ।

सरकारले तोकेको मापदण्डअनुसार ६२ वर्ष पुग्न ३ महिनामात्र बाँकी रहेकाले नेपाली नागरिकताको प्रमाणपत्र लिएर केन्द्रमा जाँदा पनि लगाउन नपाएको खोप हेटौंडा उपमहानगरकी उपमेयरको कार्यकक्षमै पार्टीका कार्यकर्तालाई खुसुक्क लगाइएको छ ।

कोरोना भाइरसविरुद्धको खोप पहुँचका आधारमा उपमेयर मीनाकुमारी लामाको चेम्बरमा गोप्यरुपमा लगाइएको भेटिएको हो । सरकारले ६२ देखि ६४ वर्ष उमेर समूहका ज्येष्ठ नागरिकलाई मात्र लगाउन तोकेर पठाएको कोरोना भाइरसविरुद्ध खोप तन्नेरी कार्यकर्ताले लगाएका छन् ।

शुक्रबार उपमेयर लामाको चेम्बरमा खोप लगाउनेको भिड लागेको थियो । उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले खोप लगाउने आकांक्षी धेरै भएकाले उपमेयरको कार्यकक्षमा लुकेर खोप लगाइएको स्वीकार गर्नुृभयो ।

उहाँले वडा सदस्य र उपमेयरका आफन्तले खोप लगाउन दबाब दिएका भन्दै उपमेयरले खोप लगाइदिन निर्देशन दिएपछि १३ जनालाई शुक्रबार गोप्यरुपमा खोप लगाएको स्वीकार गर्नुभयो । चौलागाईंले भन्नुभयो–खोपकेन्द्रमा भिड हुने र वडाबासीलाई खोप प्राथमिकता दिनुपर्ने भएकाले वडाध्यक्ष र वडा सदस्यहरुले नगरपालिका आउँदा खोप लगाउनुभएको हो । अरुलाई खोप लगाइएको छैन । यतिमात्र होइन, जिल्ला स्वास्थ्य कार्यालयले जिल्ला प्रशासनलाई जानकारी नै नदिएर उपमेयरलाई ४० वटा खोप उपलब्ध गराएको हो ।

यस विषयमा उपमेयर लामाले आफूलाई केही जानकारी नभएको भन्दै पन्छिनुभयो । उपमेयर लामाले वडा अध्यक्ष र वडा सदस्यहरुलाई कोभिड खोप लगाइएको विषयलाई अनावश्यक राजनीतिकरण गर्न प्रयास भएको बताउनुभयो ।

‘म कामको सिलसिलामा बाहिर थिएँ । वडा नम्बर–११ तिर थिएँ । केही साथीहरु मलाई भेट्न आउनुभएको रहेछ । केहीले खाप लगाउन पाइन्छ कि भनेर आफ्नो नाम टिपाउनुभएको रहेछ,’ उपमेयर लामाले भन्नुभयो–नगरपालिकामा खुलेआम कार्यकर्तालाई खोप लगाइयो भनेर चर्चा भएछ । यस्तो कल्पना पनि गर्दिनँ र हुन पनि सक्दैन ।

मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले यसबारे आफूले सूचना आफूले पाएको र २४ घण्टाभित्र स्पष्टीकरण दिन जिल्ला स्वास्थ्य कार्यालयमार्फत् लिखित निर्देशन दिइएको बताउनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालय प्रमुख प्रणय उपाध्यायले पनि यसबारे सूचना आएको र अनुसन्धान कार्य अघि बढिसकेको भन्दै स्वास्थ्य कार्यालयले उपमहानगरलाई सरकारले तोकेको उमेर समूहलाई खोप लगाउन पठाएको भन्दै पठाइएको खोप पहुँचका आधारमा अन्यलाई लगाउन नमिल्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्