गण्डकीमा एमाले सरकार ढल्यो, मुख्यमन्त्री गुरुङ पदमुक्त



न्युज अफ नेपाल, पोखरा ।

गण्डकीमा एमाले नेतृत्वको सरकार ढलेको छ । यससँगै मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ पदमुक्त बनेका छन् । मुख्यमन्त्री गुरुङले बिहीबार प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्ताव पेश गरेकोमा उनले बहुमत सिद्ध गर्न सकेनन् ।
उपस्थित ५८ सांसदमध्ये ५७ जनाले मतदान गरेका थिए भने मुख्यमन्त्री गुरुङको पक्षमा जम्मा २७ मत, विपक्षमा ३० मत र १ मत तटस्थमा परेको छ ।

गत वैशाख २९ गते मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका गुरुङले संवैधानिक प्रावधानअनुसार विहीबार विश्वासको मत लिन प्रयास गरेका थिए । विश्वासको मत प्राप्त नगरेपछि अब प्रदेशमा के हुन्छ भन्नेमा चासो बढेको छ । यद्यपि विपक्षी गठबन्धनले आफ्नो नेतृत्वमा नयाँ सरकार बन्न सक्ने जिकिर गर्दै आएको छ । प्रदेशसभाको बिहीबार बसेको बैठकमा गुरुङले भने विश्वासको मतसम्बन्धी प्रस्ताव विफल भएमा संविधानअनुसार अघि बढ्ने बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्