खोप व्यवस्थापनमा समस्या



विश्वव्यापी रुपमा फैलिएको कोरोना नेपालको सन्दर्भमा शहरमा केही न्यून हुँदै गएपनि गाउँघरमा बढेकै देखिन्छ । लकडाउनका नाममा नागरिकलाई बन्दी बनाएर राजनीतिक नेताहरुले कुर्सीको तानातानमा समय व्यतीत गरेकै कारण पटक–पटक नेपालमा कोरोना महामारीले छोपेको हो । जनता कोरोनाको चपेटामा औषधि र अक्सिजन नपाएर छटपटाइरहँदा सरकार तथा नेताहरु भने कुर्सीका लागि अध्यादेश ल्याउने, अदालत धाउने र तेरो र मेरो भन्दै शक्तिको प्रदर्शनमा उत्रिने कार्य गरेकै कारण नागरिकले अनाहकमा ज्यान गुमाएको टिप्पणीलाई खण्डन गर्ने आधार कमजोर देखिन्छ ।

हुनेखानेका लागि अस्पताल र भेन्टिलेटरले केही हदसम्म धान्यो । दैनिक श्रम गरेर हुँदाखाने वर्गले बिरामी हुँदा एकछाक खानसमेत पाएन । उनका लागि औषधि, अस्पताल निकै टाढाको विषय भैदिँदा मृत्यु वरण गर्न बाध्य भए । सोर्सफोर्स लगाउन सक्नेका लागि कोरोना विरुद्धको खोप पुग्यो भने सर्वसाधारण नागरिक तथा ज्येष्ठ नागरिकहरुलाई ललिपप देखाउँदा झै खोप आएको छ । यदि सरकारकाले खोप खरिद गर्न सक्दैन र अनुदानमा आएको खोप मात्र नागरिकलाई दिने हो भने सीमा क्षेत्र र नाका जोडिएका जिल्लाका खोप लगाउन योग्य उमेर समूहका व्यक्तिलाई पूर्ण खोपयुक्त बनाएर अन्य जिल्लामा जहिले अनुदान जुन मात्रामा आउँछ त्यसकै आधारमा लगाउँने कार्यक्रम बनाए बुद्धिमानी हुने मत बाहिर आइरहेको छ । नेताहरुले आफ्ना परिवारका १८ वर्ष माथिका सबै सदस्यलाई संसद भवनमा लकडाउँनको समयमा कोभिसिल्ड खोप दिलाए । ज्येष्ठ नागरिकलाई दिनुपर्ने खोप लुकाई–लुकाई सरकारले आफन्तलाई पालिका र वडामार्फत लकडाउनकै बेला बोलाई–बोलाई लगाउँदै छ । अझै सरकारसँग ५० हजारभन्दा बढी खोप लुकाई–छिपाई देशभरि छरेर राखेको अवसस्थामा छ । यो खोप निश्चित वर्गलाई लगाउँनु नै बुद्धीमानी होला ।

फरक–फरक मितिमा आएको कोभिसिल्डको म्याद असार र श्रावण महिनामा सकिंदै छ । नेपाल सरकारले हालसम्म २४ लाख ३८ हजार कोरोना विरुद्धको खोप सेरम इन्ष्टिच्युट भारतबाट ल्याएको हो । यसमा १० लाख डोज खरिद गरेको र बाँकी अनुदानमा प्राप्त भएको सर्वविदित छ । थप १० लाख डोजको भुक्तानी गरिसकेको भएपनि भारत सरकारले नेपाल पठाएको छैन । चीन सरकारले पनि दुई चरण गरी १८ लाख डोज खोप अनुदानमा उपलब्ध गराइसकेको छ । अब कोभ्याक्सले उपलब्ध गराउने भनेको २० प्रतिशत खोप कहिले सम्म दिने भन्ने यकीन छैन ।यस्तो अवस्थामा नागरिकलाई सुरक्षित भएर रहनका लागि थप सचेत गराउँनु जरुरी छ । विगतमा पनि विभिन्न खालका झाडापखाला, हैजा, इबोला, डेंगुजस्ता समस्याहरु देखा पर्दा सरकार सचेत भै समयमै आवश्यक जनशक्ति, औषधिलगायत मौज्दात राखी विज्ञहरुको सल्लाहअनुसार काम गरी महामारी नियन्त्रण गरेको उदाहरण छ । संक्रमणको अवस्था र क्षेत्रगत मूल्यांकन गरी पूर्णरुपमा सुरक्षा अपनाएर मात्र मुलुकभर जारी गरिएको निषेधाज्ञाको व्यवस्थापन गरिए मात्र यस पटक पनि सो सफलता प्राप्त हुनेछ । पटक–पटक सरकारले गरेका गलत निर्णयका कारण देशमा कोरोना महामारी फैलन मलजल पुगेको यथार्थलाई आत्मसात् गर्नु आवश्यक देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्