राष्ट्रपतिले केपी ओली बाहेक अरुलाई प्रधानमन्त्री बन्नै नदिने तयारी देखियो: वरिष्ठ अधिवक्ता थापा



न्युज अफ नेपाल ,काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केपी शर्मा ओली बाहेक अरुलाई प्रधानमन्त्री बन्नै नदिने गरि तयारी भएको वरिष्ठ अधिवक्ता शम्भु थापाले बताएका छन्।  संसद विघटन सम्बन्धी मुद्दाको सर्वोच्च अदालतमा जारी बुधबारको सुनुवाईको क्रममा संसद विघटन खारेज गरि शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न माग गर्दै १४६ सांसदको तर्फबाट दायर रिटको पक्षमा बहसको क्रममा अधिवक्ताहरुले यस्तो बताएका हुन्।

वरिष्ठ अधिवक्ता शम्भू थापाले बहसको क्रममा भने, ‘संविधान अनुसार विश्वासको मत ३० दिन भित्र लिनु पर्छ, नलिए प्रधानमन्त्री रहँदैनन्। विश्वासको मत पाउन नसकेको अवस्थामा स्वतः पद मुक्त हुन्छन्। जसले विश्वासको मत पाउन सक्दिँन भन्यो र संसदको सामना गरेन भने उ कसरी प्रधानमन्त्रीमा टिकिरहन्छ।’उनले अघि भने, ‘धारा ७६ संविधानको आधारभूत संरचना हो। यसको उल्लंघन भएको अवस्थामा अरु कुनै पनि धारा बाँकी रहँदैनन्। राष्ट्रपति र प्रधानमन्त्रीबाट यसको उल्लंघन भएको छ।

अधिवक्ता थापाले बहसको क्रममा राष्ट्रपतिले आफै सरकार बन्न सकेन भनेर निर्णय गर्ने नभइ संसदमा सिफारिस गरेर परीक्षण गराउनु पर्ने बताए। उनले संसद विघटन खारेज गरि शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपतिका नाममा अन्तरिम आदेश जारी गर्न माग गरे।त्यसअघि बहस गरेका पूर्व महान्यायाधीवक्ता समेत रहेका वरिष्ठ अधिवक्ता महादेव यादवले राष्ट्रपतिबाट संविधान पालनाको साटो उल्लंघन भएको बताए।

प्रतिक्रिया दिनुहोस्