थोरै मात्रा खोपले स्वास्थ्यकर्मीको अपमान भयो

कोरोना विरुद्धको खोप अभियान शुरू



भगवती तिमल्सिना, काठमाडौं

सरकारले मंगलबारदेखि सातै वटा प्रदेशमा खोप अभियान शुरू गरेको छ । तर, कतिपय ग्रामीण भेगका स्वास्थ्य चौकीहरूमा केवल २०, २५ र २७ मात्रा खोप पठाएर स्वास्थ्य क्षेत्रकै बदनामी गरेको भन्दै खोप केन्द्रमा खटिएका स्वास्थ्यकर्मीहरूले गुनासो गरेका छन् । काभ्रेका एक स्वास्थ्यकर्मीले समाचारपत्रसँग कुरा गर्दै खोप लगाउन खटिएका स्वास्थ्यकर्मीको अपमान गर्ने कार्य भएको भन्दै दुखेसो पोखेका छन् । तर, सरकारले भने यसअघि पहिलो मात्रा भेरोसेल खोप लिई दोस्रो मात्रा लगाउन छुटेकालाई पनि खोप लगाइदिन समेत निर्देशन दिएको छ ।

सरकारको शुरूको निर्देशनअनुसार ६० वर्ष माथिका नागरिकलाई खोप लगाउन आउन सूचना जारी गरिसकेको अवस्थामा खोप केन्द्रमा ६० वर्षदेखि ६४ वर्षसम्मका नागरिकको घुईंचो लागि रहेको अवस्थामा २५ मात्रा मात्रै खोप प्राप्त भएपछि केही समय खोप कार्यक्रम सञ्चालनमै अप्ठ्यारो परेको नमोबुद्ध नगरपालिका स्यामपाटीका स्थानीयले बताएका छन् । उनीहरूका अनुसार नागरिक आफैंले नगरपालिकामा फोन गरी भोलि खोप पठाइने आश्वासन पाएपछि मात्र खोप कार्यक्रम सञ्चालन गर्न दिइएको थियो । गर्न नसक्ने काममा सरकारले यसरी जनतालाई आशा देखाएर निराशा बनाउनु नहुने ईपिडमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा.बाबुराम मरासिनी बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ—‘सरकारले जनतालाई खोप दिने विषयमा पहिलो चरणमा भारतसँग सिमाना जोडिएका जिल्ला र जोखिम क्षेत्रलाई लक्षित गरि वितरण गरेको भए यति धेरै समस्या पनि हुने थिएन र तोकिएको उमेर समूहका नागरिक निश्चित जिल्लामा पूर्ण खोपयुक्त हुँदै गर्दा अर्को क्षेत्र तोकी खोप ल्याउने कार्यलाई निरन्तरता दिँदै जानुपर्नेमा खोपजस्तो मानव स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको गम्भीर विषयमा सरकारले बिना योजना कनिका छरेझै गर्नुहुँदैन थियो ।’

सरकारले सोमबार ७ वटै प्रदेशका ६० देखि ६४ वर्षका नागरिकलाई मङ्गलबारदेखि चीन सरकारको सहयोगमा प्राप्त कोरोना विरुद्धको भेरोसिल नामक खोप दिने भनेर तालिका सार्वजनिक गरेको थियो । तर, उक्त तालिका सार्वजनिक भएको २ घण्टा नबित्दै अर्को सूचना जारी गर्दै ६२ देखि ६४ वर्षका नागरिकलाई खोप दिन योजना बनाई अभियान सञ्चालन गर्न निर्देशन दियो ।स्वास्थ्य मन्त्रालयअन्र्तगतको स्वास्थ्य सेवा विभागले ७ वटै प्रदेश स्वास्थ्य निर्देशनालय र प्रदेश आपूर्ति व्यवस्थापन केन्द्रलाई खोप अभियानका सम्बन्धमा ६ बुँदे पत्र पठाएको थियो । जसमा नेपाल सरकारको नीति एवं स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको निर्णयानुसार ६० देखि ६४ वर्ष उमेर समूहलाई हाल प्राथमिकता निर्धारण भई खोप प्राप्त भएपछि दोस्रो मात्र समेत सुनिश्चित गरेर खोप अभियान सञ्चालन गर्न गराउन जानकारी गराइएकोमा केही अस्पष्टता भएकोले थप स्पष्टता गराइएको थियो ।

पत्रमा विभिन्न प्रदेश र जिल्लाहरूबाट जानकारी हुन आएकोले जेठ २५ गते देखि सञ्चालन हुने खोप अभियान सञ्चालनमा मातहतका निकायमा समन्वय गरी ६२ देखि ६४ वर्षका नागरिकलाई खोप अभियान सञ्चालन गर्न निर्देशन दिइएको थियो । त्यसमा पनि प्राथमिकता क्रम पहिला ६४ वर्ष अनि ६३, त्यसपछि ६२ गर्दै तोकिएको थियो । पत्रको दोस्रो नम्बरमा यसअघि खोप लगाउन छुट भएका स्वास्थ्यकर्मी, मेडिकल कलेजका विद्यार्थी इन्टर्न, ओ.जे.टी.मा रहेका नर्सिङ र पारामेडिक्सहरू जो बिरामीको प्रत्यक्ष स्याहारमा जुटेका छन्, उनीहरूलाई पहिलो मात्रा खोप दिन निर्देशन दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्