माक्र्सवादीले नै बुझेनन् माक्र्सवाद



माक्र्सका विचारहरु आधुनिक थिए । उनले स्वप्नदर्शी भावना र अव्यावहारिक शब्द आफ्ना विचारमा प्रस्तुत गरेका छैनन् । यद्यपि, माक्र्सको विचार बुद्धका विचारसँग मिल्दाजुल्दा छन् । उनले भनेका छन्, ‘धर्मको काम ब्राह्माण्डको उत्पत्तिको व्याख्या गर्ने होइन । आर्थिकले इतिहासको दिशा निर्देश गर्छ, वर्गहरुको खण्डीकरण मालिक र मजदुरबीचको संघर्षले तय गरेको हो । मालिकहरुले मजदुरमाथि शोषण गरेर अतिरिक्त मूल्यको दुरुपयोग गर्छन्, जुन मजदुरले परिश्रमको परिणामस्वरूप पाउँछन् ।

उत्पादनको साधनहरुको राष्ट्रियकरण अर्थात् व्यक्तिगत सम्पत्तिको उन्मूलन गरेर शोषणलाई समाप्त गर्न सकिन्छ । यस शोषणले श्रमिकलाई अधिकाधिक निर्बल र दरिद्र बनाउँछ । श्रमिकमा यस्तै दमनका कारण दरिद्रता र निर्बलता बढ्दै जाँदा क्रान्तिकारी भावना उत्पन्न हुन्छ । र, परस्पर विरोध वर्ग संघर्षको रूपमा बदलिन्छ । यस्ता शासकलाई माक्र्सले सर्वहारा वर्गको तानाशाहीको नामले घोषणा गरेका छन् । यस्ता तत्वको प्रतिरोधका लागि समाजवाद आवश्यक रहेको उनको निष्कर्ष थियो ।माक्र्सवादी नेता तथा लेखक आहुति आफ्नो लेखहरुमा नेपालका लागि माक्र्स र उनका विचार अपरिहार्य रहेको दाबी गर्छन् । धर्मको विरुद्ध धर्मलाई जन्म दिनु एक खराब चिजबाट अर्को खराब चिजमा छिर्नुजस्तै भएको उल्लेख गरेका छन् । उनले अम्बेडकरका विचारहरु एकात्मक भएको र उनी आत्मरतीमा रमाउने व्यक्ति भएको दाबी गर्दै आएका छन् । तर, बुद्ध र माक्र्सको अध्ययनमा उनका अनुयायीहरुको एकोहोरो अध्ययन देखिन्छ ।अम्बेडकरका अनुसार मुक्त समाजका लागि पन्थ अर्थात् ‘रिलिजन’ आवश्यक छ । बुद्धका अनुयायीमा मानवीय गुण महत्वपूर्ण भएको अम्बेडकरको दाबी छ । उनले बुद्धका सिद्धान्त जति पुराना छन्, उति नै नयाँ हुन् भनेर ठोकुवा गरेका छन् ।

माक्र्सका सिद्धान्तको विवेचना गर्दै अम्बेडकरले माक्र्स आधुनिक समाजवाद वा साम्यवादका जनक हुन् भन्नेमा शंका रहेको बताएका छन् । अम्बेडकरका अनुसार माक्र्सको सिद्धान्त पुँजीपतिहरूका विरुद्ध थियो । उनले आफूलाई स्वप्नदर्शी वा अव्यावहारिक समाजवादी भन्नेहरुलाई समेत मन पराउँदैनथिए ।उनको आलोचना गर्दै अम्बेडकरले भनेका छन्, ‘माक्र्सवादी सिद्धान्त उन्नाइसौँ शताब्दीको मध्यतिर प्रस्तुत गरिएलगत्तै त्यसको प्रशस्त आलोचना शुरु भएको थियो । आलोचनाका कारण त्यति नै बेला उनको विचारधाराको ठूलो ढाँचा ध्वस्त भइसकेको छ । उनको समाजवाद अपरिहार्य छ भन्ने दाबी पूर्णतयाः असत्य साबित भएकै कारण उनको पुस्तक दास क्यापिटल, समाजवादको सिद्धान्त प्रकाशित भएको झन्डै ७० वर्षपछि रुसमा मात्र स्थापित भएको र त्यो पनि तानाशाहीको अर्को नाम भएको भन्दै खण्डन गरेका छन् । रुसको क्रान्तिलाई रक्तपातपूर्ण आन्दोलनको संज्ञा दिँदै विश्वभर त्यस प्रकारको समाजवाद आवश्यक नरहेको बताएका थिए । उनले यही कारणले बुद्ध र माक्र्सलाई जोड्न नसकिने बताएका छन् । उनका विचारअनुसार माक्र्सको विचारका स्रोत नै बुद्ध भएको देखिन्छ ।

भारतीय लेखक लंकेश्वरका अनुसार बुद्ध पूर्णतः समतावादी थिए । उनले आफूजस्तै अरुलाई पनि समानरुपमा राख्न खोज्थे । यस विषयलाई सिद्ध गर्न अम्बेडकरका कैयौं कथनहरु प्रस्तुत गरेका छन् । उनले नेता छान्न र शासक बनाउन कहिल्यै आवश्यक देखेनन् । अम्बेडकरका अनुसार बुद्धले संघमा नेतृत्वविहीन साम्यवादको स्थापना गरेका थिए । तर, त्यो साम्यवाद सानो ठाउँमा वा निश्चित क्षेत्रमा भए पनि उनले नेतृत्व वा शासकविहीन साम्यवाद स्थापना गरेका थिए । तर अम्बेडकरले यसलाई चमत्कार भनेका छन् । यसबारेमा भने कैयौं लेखकहरुको असहमति देखिन्छ । उनले बल प्रयोग नगरी मान्छेको स्वेच्छाअनुसार साम्यवादको अभ्यास गरेका थिए ।बुद्धको अध्ययनले भ्रातृत्व, स्वतन्त्रता र समानता विद्यमान राख्न सम्भव हुने निष्कर्ष अम्बेडकरले निकालेका छन् । तर माक्र्स र बुद्धलाई हरेक विचारकहरुले आ–आफ्नै तरिकाले अध्ययन गरेका छन् । जस्तो– माक्र्सका अनुयायीले बुद्धका विचार स्वीकार नगरी, एकोहोरो माक्र्सलाई मात्र अध्ययन गरेको पाइन्छ भने बुद्धका अनुयायीले केवल बुद्धलाई मात्र अध्ययन गरेर माक्र्सलाई बेवास्ता गरेका छन् । यसर्थ यी दुवैको फ्युजन नै अहिलेको समाजको निकासको आधार बन्न सक्ने देखिन्छ ।
– सुनिता चौलागाईं, काठमाडौं ।

प्रतिक्रिया दिनुहोस्