नाडाल र जोकोभिचको सहज जित



पेरिस, (एजेन्सी) ।

तेस्रो वरीयताका राफाल नाडालले उनको २१ औं ग्रान्डस्लाम मेन्स सिंगल्स उपाधि जित्ने अभियान सहज जितबाट शुरूवात गरेका छन् ।
३४ वर्षीया स्पेनी खेलाडीले पहिलो चरणको खेलमा अस्टे«लियाका एलेक्सेइ पोपीरीनलाई ६–३, ६–२, ७–६ ले हराएका थिए । यस्तै, शीर्ष वरीयताका नोभाक जोकोभिचले पनि सहज जित निकाले । सर्बियाली खेलाडीले अमेरिकाका टेनीस सान्डग्रेनलाई ६–२, ६–४, ६–२ ले पराजित गरेका थिए ।

जोकोभिचले गत वर्ष फाइनलमा नाडालसँग पराजय भोगेका थिए । तर, यसपटक यी दुवै खेलाडी फाइनलमा भेट हुने छैन । ड्र अनुसार बिग थ्री खेलाडी जोकोभिच, नाडाल र फेडेरर एउटै लाइनमा रहेका छन् । यी तीनमध्ये एक मात्रै फाइनल पुग्ने किसिमले यसपालि ड्र निकालेको हो ।

क्विटोभाले नाम फिर्ता लिइन्

दुई पटकको ग्रान्डस्लाम च्याम्पियन पेट्रा क्विटोभाले फ्रेन्च ओपनबाट नाम फिर्ता लिएकी छन् । चेक खेलाडीले खुट्टाको चोटका कारण प्रतियोगितामा खेल्न जारी राख्न नसकेको बताइन् । उनले पहिलो चरणको खेलमा ग्रीट मिनेनलाई हराएकी थिइन् ।

दोस्रो चरणको खेल हुनुअघि क्विटोभाले चोट भएकोले खेल्न असमर्थ जनाइन् । उनले नाम फिर्ता लिएपछि प्रतिद्वन्द्वी एलेना भेस्नीना तेस्रो चरणमा पुगेकी छन् । ३१ वर्षीया क्विटोभाले वक्तव्यमा उल्लेख गरेकी थिइन्—एमआरआई गराएपछि मेरो टिमसँग धेरै छलफल गरेर मैले यो कडा निर्णय लिएकी हुँ । यो दुर्भाग्य भएको छ तर, म ग्रास कोर्ट सिजनको लागि स्वस्थ भएर खेल्ने आशामा छु ।

क्विटोभाले करिअरमा दुई ग्रान्डस्लाम उपाधि जितेकी छन् । उनले विम्बल्डन २०११ र २०१४ मा जितेकी थिइन् । यसपछि, उनी ग्रान्डस्लाम फाइनलमा एक पटक मात्रै पुगेकी छन् । उनी अस्ट्रेलियन ओपन २०१९ मा फाइनल पुगे पनि नाओमी ओसाकासँग पराजित भएकी थिइन् ।

कार्लाले जित्न सकिनन्

स्पेनकी कार्ला सुआरेज नाभारोले जितको लागि दुई अंक लिनुपर्ने थियो । क्यान्सरबाट मुक्त भएर पुनः कोर्टमा देखा परेकी कार्लाले पहिलो सेट जितेर दोस्रो सेटमा ५–४ को अग्रतामा थिइन् । उनी ३०–० को स्थितिमा थिइन् र जितबाट २ अंकले नजिक थिइन् । तर, उनले जित हात पार्न सकिनन् ।

३२ वर्षीया कार्लाले सो अवसर गुमाएर सेट विपक्षी खेलाडी स्लोन स्टेफेन्सलाई सुम्पेपछि निर्णायक सेटमा उनी पछि परिन् र खेल पनि हारिन् । स्टेफेन्सले सो खेल ३–६, ७–६, ६–४ ले जित्न सफल भएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्