एन्सेलोट्टी रियलका प्रशिक्षक



लन्डन, (एजेन्सी)

स्पेनिस क्लब रियल मेड्रिडले कार्लो एन्सेलोट्टीलाई नयाँ प्रशिक्षकमा नियुक्त गरेका छन् ।मंगलबार राति इटालीका एन्सेलोट्टीलाई आधिकारिकरूपमा रियलले नयाँ प्रशिक्षकमा नियुक्त गरेको हो । रियल मेड्रिडले प्रस्ताव राखेपछि उनी तत्कालै इङ्ग्लिस क्लब एभर्टनसँगको सम्झौता भंग गरेर पूर्वक्लब फर्किन तयार भएका हुन् । इटालियन कोच एन्सेलोट्टीले विगतमा पनि रियललाई प्रशिक्षण गरिसकेका छन् । उनी २०१३ देखि २०१५ सम्म रियलको मुख्य प्रशिक्षक रहेका थिए । योसमेत उनलाई दोस्रोपटक रियलले नयाँ प्रशिक्षकका रूपमा अनुबन्ध गरेको हो ।

६१ वर्षीय इटालीका कोच एन्सेलोट्टी आक्रामक खेल शैलीका कोचका रूपमा परिचित छन् । यसअघि, रियल मेड्रिडमा दुई सिजन बिताउँदा पनि उनले चार उपाधि जितेका थिए । उनले रियललाई सिजन २०१३–१४ मा सबैखाले प्रतियोगिताबाट २२ खेलसम्म अपराजित राखेका थिए । एन्सेलोट्टीको नेतृत्वमा रियलले २०१३ देखि २०१५ को बीचमा कोपा डेल रे कप, युरोपियन च्याम्पियन्स लिग, युइएफए सुपर कप र फिफा क्लब विश्वकप गरी चार उपाधि जितेको थियो ।२०१५ मा रियल छाडेपछि उनी जर्मन क्लब बार्यन म्युनिख, इटालियन नेपोली हुँदै अहिले इङ्ग्लिस प्रिमियर लिगको एभर्टनमा थिए । रियलको प्रस्ताव आएपछि उनले एभर्टनलाई तत्कालै छाडेका हुन् । अब, एन्सेलोट्टीमाथि सिजन २०२१–२२ मा राम्रो गर्नुपर्ने चुनौती हुनेछ । भर्खरै सकिएको सिजनमा रियल उपाधिविहीन बनेपछिको सिजन सम्हाल्न आइपुगेका इटालियन कोचले आगामी सिजनका लागि कस्तो खेल योजना ल्याउँछन् र खेलाडी किनबेचमा कस्ता निर्णय लिन्छन् भन्ने कुरामा धेरैको चासो रहनेछ ।

यसअघि, फ्रेन्च कोच जिनेदिन जिदानले क्लब छाडेपछि एन्सेलोट्टीलाई नयाँ प्रशिक्षकका रूपमा भित्र्याइएको हो । जिदानले यसै साता पद छाडेका थिए । जिदानले रियलमा दोस्रो कार्यकाल बिताउनेक्रममा सिजन २०२०–२१ मा जिरो उपाधि भएपछि नैतिकरूपमा उनले क्लब छाड्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्