फिफा विश्वकप छनोटमा नेपालको प्रदर्शन



कविरस शर्मा ।
सन् १९५१ मा अखिल नेपाल फुटबल संघको स्थापना भए पनि सन् १९७० मा मात्र नेपाल फिफाको आधिकारिक सदस्य राष्ट्र बनेको थियो । फिफाको सदस्यता पाएको १५ वर्षपछि मात्र नेपालले सन् १९८५ मार्च २ मा विश्वकप छनोट चरणको पहिलो म्याच खेलेको थियो । फिफाको आधिकारिकतापश्चात् सन् १९७० देखि १९८५ सम्म सम्पन्न विश्वकप फुटबलको तीन संस्करणको छनोट खेलमा नेपालको सहभागिता शून्य नै रहेको थियो ।
सन् १९८५ देखि विश्वकप छनोट चरणमा सहभागिता जनाएको नेपालले अहिलेसम्म सातपटक छनोट चरणका सम्पूर्ण म्याचहरू खेलिसकेका छन् भने अहिले कुवेतमा आठौंपटक छनोट खेल्दैछ । सन् १९९४ र २००६ मा गरी दुईपटक विश्वकप छनोट चरणमा सहभागी नभएको नेपालले आगामी वर्ष २०२२ मा कतारमा हुने विश्वकपका लागि भइरहेको पहिलो चरणका खेलहरू भने खेलिसकेका छन् ।
बिहिबारबाट शुरू हुने दोस्रो चरण खेल्नका लागि अहिले नेपाली टोली कुवेतमा छन् । समूह बी मा रहेको नेपालले बिहीबार चाइनिज ताइपेइ, जोर्डन र अस्ट्रेलियासँग गरी तीन म्याच खेल्दैछ । गत शनिबार इराकसँगको मैत्रीपूर्ण खेलपछि नेपाली टोली उतैबाट कुवेत पुगेको हो । नेपाल र चाइनिज ताइपेइबीचको खेल २० गते बिहीबार राति हुँदैछ । त्यसपछि जेठ २४ गते जोर्डन र जेठ २८ मा अष्ट्रेलियासँग खेल्नेछ ।
कोरोना महामारीका कारण पटक–पटक स्थगित यस विश्वकप छनोटमा अघिल्लो चरण पुग्ने नेपालको गणितीय सम्भावना जीवित भए पनि निकै कठिन छ । प्रतिद्वन्द्वी टोलीको इतिहास हेर्दा नेपालको अघिल्लो चरणमा पुग्ने सम्भावना भने असम्भव नै देखिन्छ । नेपाल समूह चरणमा ३ अंकसहित चौथो स्थानमा छ ।
नेपालले विश्वकप छनोटमा यसअघि खेलेका पाँच खेलमा चार हार र एक जित निकालेको थियो । पहिलो चरणमा नेपाल कुवेतसँग ७–० ले, जोर्डनसँग ३–० ले, अस्ट्रेलियासँग ५–० ले हार्दा चाइनिज ताइपेइलाई २–० ले हराउन सफल भएको थियो । त्यस्तै, तटस्थ भूमि भुटानमा भएको दोस्रो चरणको पहिलो म्याचमा कुवेतले नेपाललाई १–० ले पराजित गरेको थियो । नेपालको समूहमा रहेको अष्ट्रेलियाको चार खेलपछि १२ अंक छ भने समान पाँच–पाँच खेलपछि जोर्डन र कुवेतको समान १० अंक, नेपालको तीन अंक र चाइनिज ताइपेई अंकविहीन अवस्थामा छ ।

जारी छनोटले नेपालको विश्वकप यात्रामा कुनै चमत्कार नभए पनि एसिया कपको छनोटको समीकरणमा भने ठूलो फेरबदल हुनसक्छ । त्यसका लागि यी तीन खेलमा आउने नतिजामा भर पर्नेछ । नेपालले आफ्नो समूहमा चौथो स्थान हासिल गर्दै अन्य समूहमा रहेको चौथो टोलीको तुलना गर्दा शीर्ष चार स्थानमा पर्न सके सिधै एसिया कप छनोटको तेस्रो चरण खेल्न पाउनेछ । यदि, त्यसो भएन भने नेपालले प्लेअफ खेल्नुपर्ने हुन्छ ।

विश्वकप छनोटको समूह बी मा रहेको नेपाल ५ खेलबाट ३ अंक बटुल्दै तालिकाको चौथो स्थानमा छ । यता, ताइपेई ५ खेलबाट अंकविहीन हुँदै पाँचौं स्थानमा छ । नेपाल र ताइपेईले हालसम्म दुई वटा खेलमा मात्र प्रतिस्पर्धा गरेका छन् । तीमध्ये एक खेल बराबरीमा सकिएको छ भने एक खेल नेपालले जितेको छ । सन् २०१९ को जुन महिनामा भएको मैत्रीपूर्ण खेलमा दुई टोलीले एक–एक गोलको बराबरी खेलेका थिए । त्यसपछि, सोही वर्षको सेप्टेम्बरमा भएको विश्वकप छनोट खेलमा नेपाल २–० गोलले विजयी भएको थियो ।

कुवेती भूमिमा पनि नेपालको चाहना चाइनिज ताइपेईलाई हराएर अरू टिमसँग अंक खोस्ने रहेको छ । युवा खेलाडीको टिमका प्रशिक्षक अब्दुल्लाहल अल्मुताइरीले पनि यो प्रतियोगिता युवा खेलाडीका लागि राम्रो एक्सपोजरका रूपमा लिएका छन् । कुवेतको गर्मीलाई केही छिचोल्नका लागि भए पनि सबै खेल रातिको समयमा गरिने भएको छ । यस्तैमा विश्वकप छनोटका सबै खेल एउटै मैदानमा हुने भएका छन् । यसअघि, दुईवटा रंगशाला प्रयोग गर्ने भनिए पनि कोरोना त्रासका कारण सबै खेल एउटै मैदानमा हुने भएका छन् ।

विगतमा नेपालको विश्वकप छनोट यात्रा

सन् १९८६ मा मेक्सिकोले आयोजना गरेको फिफा विश्वकप प्रतियोगिताका लागि एसियाली छनोटमा सहभागी बनेपछि नेपाली राष्ट्रिय फुटबल टोलीले फुटबलको महाकुम्भबाट परिचित विश्वकप फुटबलसँग पहिलोपटक नाता गाँसेको हो । एसियन फुटबल कन्फेडरेसनले छनोट चरणअन्तर्गत एसिया महादेशबाट सहभागी २७ राष्ट्रलाई जोन ‘ए’ र ‘बी’ गरी दुई भागमा विभाजित गरी ‘होम एन्ड अवे’ को ढाँचामा खेलाएका थिए ।
जसमध्ये प्रत्येक जोनमा चार उपसमूह बनेकोमा नेपाल जोन “बी“ को समूह १ मा परेपछि दक्षिण कोरिया र मलेसियाको चुनौती पाएको थियो । जसअनुरूप नेपालले छनोट चरणको पहिलो खेल सन् १९८५ मार्च २ मा भरिभराउ दशरथ रंगशालामा दक्षिण कोरियासँग खेलेको थियो । खेलको ३५औं मिनेटमा रूपकराज शर्माको आत्मघाती गोलबाट मध्यान्तरसम्म १–० ले पछि परेको नेपालविरुद्ध ६४औं मिनेटमा दक्षिण कोरियाका ली ते हो ले पेनाल्टीमार्फत गोल थपेछि नेपाली टोली २–० ले पराजित हुनपुगेको थियो ।
यस्तै समूह चरणअन्तर्गत मार्च १६ मा भएको दोस्रो खेलमा नेपालले दशरथ रंगशाला मलेसियासँग २–० ले पराजित भएको थियो । यस्तै ‘अवे’ म्याचअन्तर्गत सन् १९८५ को मार्च ३१ मा मलेसियासँग उसैको गृह मैदानमा भएको खेलमा ५–० ले पराजय बेहोरेको नेपालले ६ अप्रिलमा सियोल रंगशालामा दक्षिण कोरियासँग ४–० ले पराजित हुनुपरेको थियो । यसरी, नेपालले विश्वकप छनोट चरणअन्तर्गत आप्mनो पहिलो सहभागितामा खेलेको चार खेलबाट कुल १३ गोल व्यहोर्दा विपक्षीलाई कुनै गोल फर्काउन नसकी घर फर्कनु परेको थियो ।

त्यस्तै,सन् १९९० मा इटालीमा आयोजना भएको विश्वकप फुटबल प्रतियोगिताका लागि एसियाका २५ राष्ट्रलाई ६ समूहमा विभाजन गरिएको थियो । जसअनुरूप नेपालले समूह ४ मा रही दक्षिण कोरिया, मलेसिया, सिंगापुर र भारतको चुनौती पाएको थियो । तर, भारत छनोट चरणमा सहभागी नहुने भएपछि नेपालले बाँकी तीन राष्ट्रसँग मात्र प्रतिस्पर्धा गरेको थियो । जसअनुसार नेपालले प्रत्येक सहभागी राष्ट्रसँग दुईपटक गरी कुल ६ खेल खेलेको थियो । नेपालले पहिलो खेल सन् १९८९ मे २३ मा मलेसियासँग खेलेको थियो । दक्षिण कोरियाको सियोलस्थित दोङग्देमुन रंगशालामा भएको उक्त खेलमा मलेसियाले नेपाललाई २–० ले पराजित गरेको थियो । मलेसियाका लागि अजीजोलले दोस्रो मिनेटमै गोल गरेको उक्त खेलको ९०औं मिनेटमा डोल्ला सालेह पेनाल्टीमार्फत दोस्रो गोल थपेका थिए । यस्तै, दोस्रो खेलमा दक्षिण कोरियाले नेपाललाई ९–० को फराकिलो अन्तरले पराजित गरेको थियो भने तेस्रो खेलमा सिंगापुरले नेपाललाई ३–० ले पाखा लगाएको थियो । यसैगरी, सिंगापुरमा भएको दोस्रो चरणको खेलमा दक्षिण कोरियासँग ४–०, सिंगापुरसँग ७–० तथा मलेसियासँग ३–० गोल अन्तरले हार्दा छनोट चरणभरि कुल २८ गोल बेहोर्दै घर फर्किनु परेको थियो ।

त्यसपछि, सन् १९९४ को विश्वकप छनोट चरणमा नखेलेका नेपालले सन् १९९८ मा फ्रान्समा आयोजित विश्वकपका लागि एशियाली छनोट चरणअन्तर्गत ३६ राष्ट्रलाई १० समूहमा विभाजन गरिएको थियो । जसअन्तर्गत नेपालले समूह ४ मा जापान, ओमान र मकाउको चुनौती पाएको थियो । ओमानमा सम्पन्न पहिलो चरणको खेलमा मकाउसँग १–१ गोलको बराबरीसँगै नेपालले विश्वकप यात्रामा पहिलोपटक अंक बटुल्नुका साथै पहिलो गोलसमेत गर्न सफल भएको थियो । खेलको १३औं मिनेटमा मकाउसँग १–० ले पछि परेको नेपालका लागि हरि खड्काले खेलको २३औं मिनेटमा उक्त बराबरी गोल फर्काएका थिए । त्यस्तै, दोस्रो खेलमा ओमानसँग १–० ले हार बेहोरेको नेपाललाई तेस्रो खेलमा जापानले ६–० ले पराजित गरेको थियो । यसैगरी, जापानमा भएको दोस्रो चरणको खेलमा ओमानसँग ६–०, जापानसँग तथा मकाउसँग २–१ ले पराजित हुँदै ६ खेलबाट १ अंक जोड्दा २ गोल गरेको बदला १७ गोल बेहोर्दै छनोट चरण टुंग्याएका थिए ।

सन् २००२ मा पहिलोपटक एसिया महादेशमा दक्षिण कोरिया र जापानले संयुक्तरूपमा विश्वकप आयोजना गरेको थियो । जसमा सहभागिताका लागि एसिया महादेश ४० राष्ट्रलाई १० समूहमा विभाजन गरी छनोट चरणका खेलहरू खेलाइएको थियो भने नेपाल समूह ६ कजाखस्तान, मकाउ र इराक सम्मिलित टोलीमा परेको थियो । दुई चरणमा खेलाइएको उक्त प्रतिस्पर्धाअन्तर्गत समूहमा रहेका प्रत्येक टोलीसँग दुई–दुई म्याच खेल्नुपर्ने नियमअनुसार नेपालले बग्दादमा भएको आप्mनो पहिलो खेलमा कजाखस्तानसँग खेलको थियो । जसमा नेपाल ६–० ले पराजित भएको थियो भने दोस्रो खेलमा इराकसँग ९–१ हार्दा निराजन रायमाझीले एक गोल फर्काउन सफल भएका थिए । तेस्रो खेलमा मकाउलाई ४–१ ले हराउँदै विश्वकप छनोट चरणमा नेपालले पहिलोपटक जितको स्वाद चाखेको थियो । नेपाललाई उक्त ऐतिहासिक जित दिलाउन निराजन रायमाझीले दुई तथा हरि खड्का र वसन्त थापाले एक–एक गोलको योगदान गरेका थिए । त्यस्तै, कजाखस्तानको अल्माटीमा सम्पन्न दोस्रो चरणको खेलमा कजाखस्तानले नेपाललाई ४–० ले पराजित गरेको थियो भने इराकसँग ४–२ को सन्तोषजनक हारका साथै मकाउलाई ६–१ को फराकिलो अन्तरले पराजित गरेको थियो । नेपालका निराजन खड्काले ह्याट्रिक पूरा गरेको उक्त खेलमा बालगोपाल महर्जन, दीपक लामा तथा वसन्त थापाले एक–एक गोल गरेका थिए । उक्त छनोट चरणमा समग्रमा नेपालले ६ खेलबाट ६ अंक जोड्दै २५ गोल बेहोरेको थियो भने विपक्षीविरुद्ध १२ गोल गर्न सफल भएको थियो । जुन नेपालले विश्वकप छनोट चरणमा अहिलेसम्म गरेको उत्कृष्ट प्रदर्शनसमेत हो ।

त्यसको चार वर्षपछि सन् २००६ मा जर्मनीमा आयोजित विश्वकपका लागि छनोट नखेलेको नेपालले सन् २०१० विश्वकपका लागि पाँचौंपटक छनोट चरणमा प्रतिस्पर्धा गरेका थिए । सन् २०१० मा दक्षिण अफ्रिका आयोजक रहेको विश्वकपका लागि एसिया महादेशका ४३ राष्ट्रहरूलाई वरीयताव्रmमअनुसार छनोटमा चरणका सम्मिलित गराइएको थियो । जसनुसार एकदेखि ५ स्थानसम्मका राष्ट्रहरूले सोझै अन्तिम चरणमा खेल्नु परेको थियो । त्यस्तै, छैटौंदेखि २४औं स्थानमा रहेका राष्ट्रहरूले २५ देखि ४३औं स्थानमा रहेका राष्ट्रहरूसँग ‘होम एन्ड अवे’ को ढाँचामा खेलेका थिए । जसअनुसार नेपालले ओमानको चुनौती पाएको थियो । ‘अवे’ म्याचअन्तर्गत ओमानको राजधानी मस्कटमा भएको खेलमा नेपाल ओमानसँग २–० ले हारेको थियो भने दशरथ रंगशालामा भएको दोस्रो खेलमा पनि ओमानले नेपाललाई २–० ले नै पराजित गरेपछि समग्रमा दुई खेलमा चार गोल बेहोर्दै नेपालले विश्वकप छनोट चरण टुंग्याएको थियो ।

सन् २०१४ को ब्राजिल विश्वकपका लागि भने एसिया महादेशको बरीयता व्रmमअनुसार छैठांै स्थानभन्दा माथिका ३० राष्ट्रलाई ‘होम एन्ड अवे’ को ढाँचामा खेलाइएको थियो । जसअनुसार नेपालले जोर्डनलाई प्रतिद्धन्दी पाएको थियो । ‘अवे’ म्याचमा नेपालले जोर्डनको अम्मानमा सम्पन्न खेलमा घरेलु टोलीसँग ९–० को लज्जास्पद पराजय बेहोरेको थियो । त्यसपछि, काठमाडौंमा भएको दोस्रो खेलमा भने जोर्डनलाई १–१ गोलको बराबरीमा रोक्न सफल भएको थियो ।

सन् २०१८ को रसिया विश्वकप छनोट चरणमा नेपालले भारतलाई प्रतिद्वन्दी पाएको थियो । एसियाली वरीयताको ३५औं देखि ४६औं स्थान ओगट्ने १२ राष्ट्रलाई दुई समूहमा विभाजन गरी छनोट खेलाइएको थियो । जसअनुसार १२ मार्च २०१५ मा भारतको गुहाटीमा भएको पहिलो लेगमा नेपाल भारतसँग २–० ले पराजित भएको थियो । त्यस्तै, १७ मार्च २०१५ मा काठमाडौंमा भएको दोस्रो लेगमा भने दुवै टोलीले गोलरहित बराबरी खेलेपछि नेपालको रसिया विश्वकप छनोट यात्रा टुंगिएको थियो ।

प्रतिक्रिया दिनुहोस्