एकताको चेत



कुनैबेला दुई–तिहाई नजिकको बहुमतका प्रधानमन्त्रीले आज अल्पमतमा परेर कुर्सी नै त्याग्नुपर्ने अवस्थामा पुग्दा पनि एकताको मर्म बुझिरहेका छैनन् भन्ने विश्लेषण नेकपा एमालेका शुभचिन्तकहरुको छ । नेताहरुका आ–आफ्नै दम्भका कारण विभाजनको औपचारिक घोषणाको संघारमा पुगेको सत्तारुढ दल पुनः एकीकृत होस् भन्ने उद्देश्यका साथ उनीहरु आ–आफ्नो ठाउँबाट प्रयास गरिरहेका छन् ।

अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधव नेपाल समूहबीचएकले अर्कालाई पर्टीबाट साधारण सदस्यतासमेत नरहने गरी कारवाहीको होडबाजीमा रहेको नेकपा एमालेका दोस्रो पुस्ताका नेताहरु पुनःबार्ताकालागि एउटै टेबलमा बस्ने वातावरण बनेपछि कार्यकर्तामा केही उत्साह छाउन शुरु गरेको छ । प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा दोस्रो पटक विघटन गरेपछि पार्टीका वरिष्ठ नेता नेपाल सहितको टोली प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षरसहित सर्वोच्च अदालत गएपछि प्रधानमन्त्री ओलीको कुर्सी जाने सम्भावना बढेर गएको बेला दुवै समुहका दोस्रो तहका नेताहरु पार्टीलाई अझै जीवन्त राख्न छलफलमा जुटेका छन् । एमाले कार्यकर्ताले पार्टीको विभाजन हुने हो भने हामी तटस्थ बस्छौं, कतै पनि साथ दिंदैनौं भनिदिएका कारण पनि नेताहरु बिभाजनबाट जोगिने बाटो खोज्न लागेका हुन् । दुवै समूहमा रहेका अतिवादी नेताका कारण पार्टी विभाजनको संघारमा पुगेको सर्वविदित छ । खासगरी, दोस्रो तहका नेताहरुमा पार्टीलाई अतिवादीहरुको चंगुलबाट जोगाउन सकेको भए यो अवस्था नआउने विश्वास देखिन्छ । खासगरी अध्यक्ष ओलीले अतिवादी कार्यकर्तालाई कासी च्यापेका कारण नेपाल पक्ष टाढिएको अधिकांशको धारणा छ ।

विभाजनले होइन एकताले मुलुकलाई अघिबढाउने भएकाले नेताहरुले आफ्नो व्यक्तिगत कुण्ठालाई थाती राखेर अघि बढ्न सके कार्यकर्तामा विगतमा देखिएको निरासालाई आशामा परिणत गर्न सकिने देखिन्छ । सत्ताकालागि जे गर्न पनि तयार हुने ओली प्रवृत्ति र आफ्नो अनुकूल नभएपछि विपक्षीको शरणमा पर्ने नेपाल प्रवृत्तिबाट एमालेलाई मुक्त गराउनु नै आजको आवश्यकता हो भन्ने समूहको यस प्रयासले कति सफलता हासिल गर्छ, भन्नसकिन्न । आम कार्यकर्ताको भावनाविपरीत हिड्ने नेताहरुलाई समयमा नै कार्यकर्ताले ठेगान लगाउनुपर्ने बेला आइसकेको छ ।अन्ततः दल बाँकी रहे मात्र राजनीति रहला, नेताहरुले मुलुकमा शासन गर्लान्, पार्टी नै नरहे कुन माध्यवबाट राजनीति गर्ने ?सत्तारुढ दलका दोस्रो तहका नेताहरुले पुनः शुरु गरेको यो अभियानलाई सार्थकतातर्फ उन्मुख गराउन सके इतिहासले पनि उनीहरुलाई मुक्तकण्ठले प्रशंशा गर्नेथियो ।

वार्तालाई सार्थकतातर्फ उन्मुख गराउन नेताहरुले शीर्ष भनिएका नेतालाई नैतिक दवाव दिनुपर्ने देखिन्छ । स्वार्थले जेलिएर गरिएका तिकडमलाई पहिचान गर्दैदोस्रो तहका नेताहरुले समयमा नै बुझ्नुपर्छ । स्वार्थमा रुमलिएका नेताहरु एक कदम पछाडि हटेर निर्णयमा पुग्ने हो भने मुलुकमा अहिले देखिएको राजनीतिक कालो बादल फाट्दै जानेमा कुनै दुविधा छैन । दुविधा केबल शीर्ष नेताहरुको मतिमा छ, दुवै जनताको बहुदलीय जनवाद मान्ने, ‘कम्युनिष्ट’ विशेषण बोकेरै राजनीति गर्न रुचाउने, ७२ सालको संविधानलाई नै शिरमा बोकेर हिंड्ने, अनि एकै ठाउँमा बस्न नसक्ने ! यस लज्जालाई समाप्त पार्नेहो भने मिल्नैपर्छ ।

प्रतिक्रिया दिनुहोस्