उपनिर्वाचनको मतदान जारी



न्युज अफ नेपाल काठमाडौं ।

बागमती प्रदेशतर्फ राष्ट्रिय सभा सदस्यमा रिक्त पदका आज निर्वाचन हुँदैछ । हेटौँडा–४ स्थित भुटनदेवी माविमा मतदान सुरु भएको छ । ९ बजेबाट मतदान सुरु हुने भनिएकोमा सवा ९ बाट सुरु भएको हो। ३ जना उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । एमालेबाट रामबहादुर थापा बादल, स्वतन्त्र रुपमा डा खिमलाल देवकोटा र नेपाल मजदुर किसान पार्टीले कृष्ण बहादुर तामाङ उम्मेदवार छन् ।

बिहान ९ बजे नै उम्मेदवारहरु निर्वाचनस्थल आएका थिए । मतदान ३ बजेसम्म हुनेछ । बागमती प्रदेशसभामा सदस्य र यसै प्रदेशका स्थानीय तहका प्रमुख र उपप्रमुखहरु मतदाताका रुपमा रहेका छन् ।तीनवटा बुथबाट मतदान भइरहेको छ । ‘क’ बुथमा प्रदेश सभा सदस्यहरूले मतदान गर्नेछन् भने ‘ख’ बुथमा स्थानीय तहका प्रमुख, उपप्रमुखले मतदान गरिरहेका छन् । कोरोना संक्रमण भएका प्रदेश सभा सदस्य तथा, स्थानीय तहका प्रमुख, उपप्रमुखका लागि ‘ग’ बुथमा मतदानको व्यवस्था छ। निर्वाचनको नतिजा पनि आजै आउने मुख्य निर्वाचन अधिकृत रहेका मकवानपुर जिल्ला न्यायाधीश डिल्लीरत्न श्रेष्ठले जानकारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्