सोमबारबाट काभ्रेपलाञ्चोक जिल्लाभर निषेधाज्ञा

१० दिन सयम थपियो, बिहान १० बजेसम्म मात्रै अत्यावश्यक पसल खोल्न पाइने



मोतीराम तिमल्सिना, काभ्रे ।

काभ्रे जिल्लामा तेश्रो पटक भोली सोमबारबाट थप १० दिन जेठ १३ गतेसम्म निषेधाज्ञा जारी हुने भएको छ । दोश्रो पटक जारी गरेको आंशिक निषेधाज्ञा आज आईतबारबाट सकिदैछ । पहिलो र दोश्रो पटक जारी गरिएको निषेधाज्ञा जिल्लाका केहि स्थानमा मात्रै थियो ।

‘सोमबारबाट तेश्रो पटक जारी गर्न लागिएको थप १० दिनको निषेधाज्ञा जिल्लाभर गरिने छ’–प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘यस अघि संक्रमण फैलन नदिन जिल्लाका प्रमुख राजमार्ग र शहरी क्षेत्रमा मात्रै निषेधाज्ञा गरिएको थियो । संक्रमण ग्रामिण भेगमा समेत फैलन थालेपछि काभ्रेपलाञ्चोक जिल्लाको सबै क्षेत्रमा निषेधाज्ञा लागु गर्न लागिएको हो ।’

यस अघि अत्यावश्यक खाद्यान्न तथा तरकारी पसल खोल्ने समय विहान र बेलुका कायम गरिएको थियो । सोमबारबाट विहान १० बजे सम्म मात्रै खाद्यान्न, तरकारी लगायतका पसलहरु खोल्न पाईनेछ । ‘सिमित क्षेत्र र स्थानको निषेधाज्ञालाई फराकिलो बनाउँदै सक्रमण नियन्त्रणको प्रयास गरिएको छ’– प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले भन्नुभयो–‘संक्रमित विरामीहरुको बढ्दै गएको र उपत्यकामा समेत निषेधाज्ञा जारी रहेकाले निषेधाज्ञाको अवधी बढाउने तयारीमा छौं ।’

बैशाख २६ गते आईतबार राति १२ बजेसम्म पहिलो निषेधाज्ञा थियो भने दोश्रो अवधी जेठ २ गते राति १२ बजेसम्म कायम छ । दोश्रो चरणको निषेधाज्ञामा वित्तिय क्षेत्रलाई समेत कडाई गरिएको थियो । सोमबारबाट हुने निषेधाज्ञामा पनि वित्तिय क्षेत्रलाई आलोपालो संचालन गर्ने गरी तोकिएको छ । त्यस्तै सहकारीहरु साताको दुई दिन मात्र संचालन हुनेछन् । सडकमा भिडभाड बढेसँगै प्रशासनले विहान मात्रै खाद्यान्न र तरकारी लगायतका पसल खोल्न दिने र वित्तिय क्षेत्रको ब्यवस्थापनमा पनि फरक समय तालिका तोकिएको प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलले जानकारी दिनुभयो ।

स्थानीय प्रशासनले यस अघि जिल्लाका प्रमुख शहरहरु बनेपा, पनौती, धुलिखेल, मण्डनदेउपुर, पाँचखाल, नमोबुद्ध नगरपालिका अन्र्तगत मुख्य बजारचोक र राजमार्गबाट ५ सय मिटर देखि १ किलोमिटरसम्म निषेधाज्ञा गरेको थियो । त्यस्तै रोशी गाउँपालिकाको विपी राजमार्ग अन्र्तगत मंगलटारको क्षेत्र निषेधाज्ञा थियो ।

पालिकाका मुख्य केन्द्रहरु शहरोन्मुुख भएकाले पालिकाहरु स्वंय आफुले भिडभाड नियन्त्रणका लागि योजना बनाई कार्यान्वयन गर्ने भए पनि सर्वसाधारणहरुको जमघट बाक्लै छ । बनेपा धेरै संक्रमित भएको नगरपालिका हो । अहिले महाभारत, खानिखोला, तेमाल गाउँपालिकामा पनि परिक्षण गरिएका मध्ये शतप्रतिशत जस्तै संक्रमित फेला पर्न थालेका छन् ।

प्रतिक्रिया दिनुहोस्