काठमाडौं ।
बाढी र पहिरोका कारण गण्डकी र कर्णाली प्रदेशका तीन स्थानमा सडक आवागमन प्रभावित भएको छ। नेपाल प्रहरीका अनुसार म्याग्दी र सुर्खेतमा सडक एकतर्फी सञ्चालनमा रहे पनि गोरखामा भने सडक पूर्ण रूपमा अवरुद्ध भएको छ।
म्याग्दीको रघुगंगा गाउँपालिका–२ बैसरीस्थित बेनी–जोमसोम सडकखण्डमा पहिरो खसेपछि यातायात एकतर्फी सञ्चालन भइरहेको छ। प्रहरीका अनुसार उक्त सडकखण्डमा असोज १० गते बिहान ५:५० बजेदेखि अवरोध हुँदै आएको छ।
त्यस्तै, गोरखाको आरुघाट गाउँपालिका–२ र ३ तथा आसपासका क्षेत्रमा बाढीका कारण सडक अवरुद्ध भएको छ। सोतिमा रहेको फलामे पुलमा समस्या आएपछि आरुघाटबाट धादिङ जोड्ने सडक पूर्ण रूपमा बन्द भएको प्रहरीले जनाएको छ। उक्त सडकखण्डमा असोज २५ गते बिहान ५:३० बजेदेखि आवागमन ठप्प छ।
यसैगरी, सुर्खेतको बराहताल गाउँपालिका–७ औलिसेस्थित कर्णाली राजमार्गमा पहिरो खसेपछि सडक एकतर्फी सञ्चालनमा रहेको छ। उक्त सडकखण्डमा कात्तिक १ गते बिहान ५:४५ बजेदेखि यातायात प्रभावित भएको विवरणमा उल्लेख छ।
नेपाल प्रहरीले बाढी, पहिरो तथा अन्य विपद्का कारण सडक आवागमन प्रभावित हुन सक्ने भएकाले सम्बन्धित सडकखण्डमा यात्रा गर्दा सतर्कता अपनाउन आग्रह गरेको छ।
यात्रुका लागि सुझाव: बेनी–जोमसोम, आरुघाट–धादिङ र कर्णाली राजमार्ग हुँदै यात्रा गर्ने यात्रुले प्रस्थान गर्नुअघि सडकको पछिल्लो अवस्था बुझेर मात्र यात्रा गर्न तथा जोखिमयुक्त क्षेत्रमा सावधानी अपनाउन आवश्यक छ।











प्रतिक्रिया