काठमाडौं ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भारतीय ब्रान्ड ‘प्रियागोल्ड बिस्कुट’को आयात तथा बिक्री वितरणमा तत्काल रोक लगाउँदै बजारमा रहेका सबै उत्पादन फिर्ता गर्न निर्देशन दिएको छ।
बिस्कुट उत्पादनमा मानव उपभोगका लागि अनुपयुक्त तथा गाईवस्तुको दानाका रूपमा प्रयोग हुने चोकर प्रयोग गरिएको पाइएपछि विभागले यस्तो निर्णय गरेको हो।
भारतको खाद्य सुरक्षा तथा मानक प्राधिकरणले गरेको निरीक्षणका क्रममा प्रियागोल्ड बिस्कुट उत्पादक कम्पनी सूर्या फुड एन्ड एग्रो लिमिटेडको कारखानामा खाद्य सुरक्षासम्बन्धी गम्भीर कमजोरी फेला पारेको थियो।
निरीक्षणपछि भारतमा कम्पनीको लाइसेन्स निलम्बन गरी कानुनी कारबाही अघि बढाइएको छ।
विभागले नेपालमा रहेका सबै आयातकर्ता तथा खाद्य व्यवसायीलाई प्रियागोल्ड बिस्कुटका सबै ब्याच र उत्पादन मितिका सामग्री बिक्री नगर्न तथा बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।
फिर्ता गरिएका बिस्कुट सम्बन्धित निकायका प्रतिनिधिको रोहबरमा सुरक्षित रूपमा नष्ट गर्नुपर्ने विभागले जनाएको छ।
निर्देशन उल्लङ्घन गरी बिक्री वितरण जारी राखे प्रचलित खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ बमोजिम कडा कानुनी कारबाही गरिने विभागले चेतावनी दिएको छ।











प्रतिक्रिया