डलास काउबोइज सर्वाधिक मूल्यवान क्लब



वासिङ्टन, (एजेन्सी)

विश्व चर्चित फोब्र्स म्यागेजिनले प्रकाशित गरेको यस वर्षको विश्वकै सर्वाधिक मूल्यवान खेल क्लबको सूचीमा अमेरिकाको रग्बी लिग (एनएफएल) क्लब डलास काउबोइज ५ दशमलब ७ बिलियन अमेरिकी डलर नेटवर्थसहित शीर्ष स्थानमा रहन सफल भएको छ । गत वर्ष पनि विश्वकै सर्वाधिक मूल्यवान क्लबको शीर्ष स्थान ओगटेको डलास काउबोइजले यो वर्ष पनि आफ्नो शीर्षतालाई निरन्तरता दिन सफल भएको छ ।

त्यस्तै, गत वर्ष दोस्रो र तेस्रो स्थानमा रहेका न्यूयोर्क यान्कीज र न्यूयोर्क निक्स पनि यो वर्ष यथास्थानमा नै रहेका छन् । अमेरिकाको मेजर लिग बेसबल क्लब न्यूयोर्क यान्कीज ५ दशमलव २५ बिलियन अमेरिकी डलर नेटवर्थसहित यो वर्ष पनि विश्वकै सर्वाधिक मूल्यवान क्लबको दोस्रो स्थानमा रहेको हो । त्यसैगरी, अमेरिकाको नेसनल बास्केटबल एसोसिएसन क्लब न्यूयोर्क निक्स ५ बिलियन नेटवर्थ अमेरिकी डलरसहित तेस्रो स्थानमा सूचीकृत भएका छन् ।अमेरिकाको प्रसिद्ध म्यागजिन फोब्र्सले सार्वजनिक गरेको २०२१ का सबैभन्दा मूल्यवान ५० खेलकुद टोलीको सूचीमा स्पेनिस ला लिगा फुटबल क्लब बार्सिलोना चौथो स्थानमा अटाएको छ । बार्सिलोना ४ दशमलव ७६ बिलियन अमेरिकी डलर नेटवर्थ सहित चौथो स्थानमा रहन सफल भएको हो । गत वर्ष बार्सिलोना यस सूचीको आठौं स्थानमा रहेका थिए । ला लिगाकै अर्को क्लब रियल मेड्रिड भने ४ दशमलव ७५ बिलियन अमेरिकी डलर नेटवर्थसहित पाँचौं स्थानमा छ । गत वर्ष छैटौँ स्थानमा रहेको रियलले यसपटक एक स्थान प्रगति गरेको छ ।

त्यस्तै, छैटौँ देखि दशाै स्थानसम्म अमेरिकाका दुई एनबीए क्लब गोल्डेन स्टेट वारियर र लस एन्जेल्स लेकर्स छन् । आठौं र नवौं स्थानमा नेसनल फुटबल लिगका दुई क्लब न्यू इङ्ग्ल्यान्ड प्यट्रियोट्स र न्यूयोर्क जायन्ट्स छन् भने दशौं स्थानमा भर्खर लगातार नवौंपटक जर्मन बुन्डेसलिगा च्याम्पियन बनेको बायर्न म्युनिख रहेका छन् । त्यस्तै, इङ्ग्लिस प्रिमियर लिगका तीन फुटबल क्लब म्यानचेस्टर युनाइटेड, लिभरपुल र म्यानचेस्टर सिटी यस सूचीको ११औं, १२औं र १४औं स्थानमा छन् ।फोब्र्सले ४ खेलहरू रग्बीका २६ क्लब, फुटबल र बास्केटबलका समान ९–९ र बेसबलका ६ टिम गरी ५० क्लबहरूलाई मूल्यवान ५० क्लबहरुको सूचीमा राखेको हो । कोरोना महामारीका कारण प्रतियागिताहरू आंशिकरूपमा मात्र आयोजना भएका र बिनादर्शक आयोजना भएपनि खेल क्लबहरूले गत वर्षभन्दा औसतमा ११ प्रतिशत बढी कमाइ गरेको फोब्र्सले जनाएको छ । क्लबहरूले महामारीको समयमा मिडिया अधिकार बिक्री र प्रायोजनबाट उक्त कमाइ गरेका हुन् ।

विश्वकै शीर्ष १० सबैभन्दा मूल्यवान क्लबहरू

१. डलास काउबोइज (एएफएल) अमेरिका ५.७ बिलियन अमेरिकी डलर
२. न्यूयोर्क यान्कीज (एमएफएल) अमेरिका ५.२५ बिलियन अमेरिकी डलर
३. न्यूयोर्क निक्स (एनबीए) अमेरिका ५ बिलियन अमेरिकी डलर
४. बार्सिलोना (फुटबल) स्पेन ४.७६ बिलियन अमेरिकी डलर
५. रियल मेड्रिड (फुटबल) स्पेन ४.७५ बिलियन अमेरिकी डलर
६. गोल्डन स्टेट वारियर्स (एनबीए) अमेरिका ४.७ बिलियन अमेरिकी डलर
७. लस एन्जलस लेकर्स (एनबीए) अमेरिका ४.६ बिलियन अमेरिकी डलर
८. न्यु इङ्ल्यान्ड प्याट्रियट्स (एनएफएल) रग्बी इङ्ल्यान्ड ४.४ बिलियन अमेरिकी डलर
९.न्यूयोर्क जियान्ट्स (एनएफएल) अमेरिका ४.३ बिलियन अमेरिकी डलर
१०. बार्यन म्युनिख (फुटबल) जर्मनी ४.२१ बिलियन अमेरिकी डलर

प्रतिक्रिया दिनुहोस्