ओलीले अपराधपूर्ण बाटो समात्नुभयो: नेपाल



नेपाल समाचारपत्र, काठमाडौं

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपीशर्मा ओलीले अपराधपूर्ण बाटो समातेको आरोप लगाउनुभएको छ । उहाँले प्रधानमन्त्रीलाई विश्वासको मत दिन सदनमा अनुपस्थित हुनु निष्ठाको द्योतक भएको चित्रण गरेको बताउनुभएको हो ।

नेता नेपालसहित २८ सांसदले सोमबार पार्टीको ह्वीप उल्लंघन गर्दै प्रधानमन्त्री केपीशर्मा ओलीलाई विश्वासको मत दिन अस्वीकार गरेका थिए । संसद्मा प्रधानमन्त्री ओलीलाई मत नदिएको कारणबारेमा सोमबार एक विज्ञप्ति जारी गर्दै नेपालले आप्mनो समूहको धारणा सार्वजनिक गर्नुभएको छ ।‘पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री केपी ओलीका उपर्युक्त कामकारबाहीका कारण उहाँलाई राष्ट्र र जनताको हित, संवैधानिक मान्यता, राजनीतिक नैतिकता र लोकतन्त्रको मर्यादालगायत कुनै पनि दृष्टिबाट विश्वासको मत दिन उचित हुँदैनथ्यो’ –विज्ञप्तिमा भनिएको छ ।उहाँका गलत क्रियाकलापको विरोध र प्रतिवाद गर्दै देश, जनता र लोकतन्त्रको भविष्य सुरक्षित गर्नका लागि आ–आफ्नो स्थानबाट योगदान गर्नु सबै देशभक्त, लोकतन्त्रप्रेमी राजनीतिकर्मी तथा जनसमुदायको कर्तव्य हुने भएकाले सोही अनुरूप हामीले प्रधानमन्त्री केपी ओलीलाई विश्वासको मत नदिने र प्रतिनिधिसभाको बैठकमा अनुपस्थित हुने निर्णय गरेको बताउँदै विज्ञप्तिमा भनिएको छ– ‘यो निर्णय हाम्रो देश, जनता र पार्टीप्रतिको निष्ठाको द्योतक हो ।

प्रधानमन्त्री र पार्टी अध्यक्ष रहनुभएका केपी ओलीलाई हामी फेरि पनि देश, जनता र पार्टीप्रति जिम्मेवार भए सोच्न, देशको संविधान र पार्टीको विधानको सम्मान गर्न, विगतका गल्तीहरूलाई सच्याउन, पार्टी एकताका लागि हामीले अगाडि सारेका कुराहरूको सम्बोधन गर्न र राष्ट्रिय तथा पार्टीको एकतालाई नखल्बल्याउन आग्रह गर्छौं ।’नेता नेपालद्वारा जारी विज्ञप्तिमा २०७७ साल फागुन २८ गते आफ्ना गुटका केही सदस्यको भेला गरेर त्यो गुटको भेलालाई बैठक भन्दै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीलाई भंग गरी स्वेच्छाचारी किसिमले कथित राष्ट्रिय महाधिवेशन आयोजक कमिटी गठनको घोषणा गर्नुका साथै त्यसमा मनोमानी किसिमले आफ्ना पिछलग्गुहरूको मनोनयन गरेको आरोप लगाउनुभयो ।

प्रतिक्रिया दिनुहोस्