भाउजू उडायो ट्रेन्डिङ !



दीपकराज गिरी

सरकारलाई दुई शब्द कसैले केही भनोस् एकाथरि कार्यकर्ताहरू अरिंगाल झैं झम्टिम्छन्, गालीगलौजमै उत्रिन्छन्।अर्कोतिर, गाउँमा भैंसीले राम्रोसँग दूध दिएन भने पनि ‘यो सरकार आएदेखि के भो के भो भैंसीले दूधै दिन छोड्यो। यो सरकार मूर्दावाद भन्ने खालको सोच छ। सानो कुरा बिग्रियो कि सरकार माथि खनियो। एउटा पक्षले अर्को पक्षको खेदो खन्यो, राज्यले केही दिएन भन्यो बुरूक बुरूक उफ्रियो। अधिकार शतप्रतिशत चाहियो, कर्तव्य शून्य प्रतिशत।

दिनभर घरको काम श्रीमतीलाई गर्न लगायो, बेलुका २ क्वार्टर धोक्यो अनि देश कसरी चलाउनुपर्छ भनेर स्ट्याटस ठोक्यो। फेसबुकका भित्ताहरू आजकल यस्तै यस्तै नकारात्मक कुराले भरिपूर्ण हुन्छ। युट्यबतिर झन् हरिबिजोक छ हाम्रो देशको ट्रेन्डिङ। देवरले भाउजू उडायो ट्रेन्डिङ। कसको डिभोर्स भो, को लिभिङ रिलेसनमा छ, हत्या हिंसाका कुरा, अर्काको निजीभन्दा निजी कुरा सामाजिक सञ्जालमा यत्रतत्र उदेक लाग्दो ढंगले छरिएका हुन्छन्। त्यस्तो सामग्री हेरेपछि, पढेपछि कोभिडसँग लडिरहेका बिरामीलाइ सीधै निमोनिया होला भन्ने डर। म व्यंग्य गर्ने मान्छे, मेरो दालभात त्यसैबाट जोहो हुन्छ। अरूलाई व्यंग्य गरेर जहानबच्चा पाल्नुपर्ने, अलि छुच्चो काम पनि हो मेरो। केही हदसम्म नकारात्मकता मैले पनि फैलाएँ होला। आज सारा देश कोभिडसँग लडिरहेको छ, जताततै पीडा छ।

आशलाग्दा समाचार हम्मेसी सुन्न पाइन्न। सबैलाई भाइरल हुने चाहना छ, आप्mनो रिस र कुण्ठा पोख्ने थलो भएको छ सञ्जाल। संक्रमण भएर घर बसेकाहरूले टाइम पास गर्न फेसबुक खोले भने शारीरिक रोग त छ”दै थियो, मानसिक रोग पनि थपिने पक्का छ। एक व्यक्तिले यो नकारात्मकतालाई परिवर्तन गर्न सक्दैन। न कुनै निकायले यसलाई नियमन नै गर्न सक्छ। अतः जबसम्म कोभिड महामारीसँगको हाम्रो लडाइ जारी रहनेछ, तबसम्म म व्यक्तिगत रूपमा फेसबुकमा यो वा त्यो समूहलाई घोचपेच, व्यंग्य र नकारात्मक कुराहरूलाई बन्द गरेर सकारात्मक कुराहरू मात्रै पोस्ट गर्ने प्रण गर्दछु।

प्रतिक्रिया दिनुहोस्