चिकित्सा शब्द सागर’ सार्वजनिक



काठमाडौ, (नेस) ।

 साहित्यकार तथा चिकित्सकहरूको प्रयासमा पहिलोपटक चिकित्सासम्बन्धी नेपाली शब्दकोष प्रकाशन भएकोे छ ।नेपाल प्रज्ञा प्रतिष्ठानमा बुधबार एक समारोहबीच त्रिभुवन विश्वविद्यालय चिकित्साशास्त्र अध्ययन संस्थानका डीन प्राडा दिव्यासिंह शाह, काठमाडौ विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सका डीन प्राडा राजेन्द्र कोजु, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष डा. मोहनकृष्ण श्रेष्ठले सामूहिक रूपमा चिकित्सा शब्दसागर नामक चिकित्सासम्बन्धी नेपाली शब्दकोषको लोकार्पण गर्नुभएको हो ।

मेडिकल साइन्समा बोलिने शब्दहरूको भण्डार चिकित्सा शब्दकोषले विनयकुमार शर्मा नेपाल, प्रकाशमणि दाहाल, डा. कमल शर्मा लम्साल र डा. विपीन नेपालको ८ वर्ष लामो प्रयासपछि मूर्त रूप लिएको हो ।चिकित्सा शब्द सागरमा १ हजार ७ सय ७६ पृष्ठ पाठ्य सामग्री रहेको छ भने १ सय २८ पृष्ठ चिकित्सासम्बन्धी रंगिन चित्रहरूको संकलन, १२ पृष्ठको भूमिका तथा शुभकामनासहित १ हजार ९ सय २० पृष्ठ रहेका छन् ।५ हजार रुपियाँ मूल्य तोकिएको यो शब्दकोष चिकित्सासम्बन्धी क्षेत्रमा कार्यरत, अध्ययनरत डाक्टर, नर्स, अस्पताल, कलेजका साथै प्रशासन, अदालत, प्रहरी, सर्वसाधारण, पत्रकारहरूलाई समेत उपयोगी हुने डा. विपीन नेपालले बताउनुभयो । लोकार्पण समारोहमा डा. कोजुले यो शब्दकोष गाउँ–गाउँसम्म पुगोस्, चिकित्सकीय शब्द सर्वसाधारणले पनि बुझून् र नेपाली भाषा नमरोस् भन्ने कामना व्यक्त गर्नुभयो ।

सोही अवसरमा डा. शाहले पनि नेपाली भाषामा भएकाले सर्वसाधारणले समेत सजिलै बुझ्न सक्ने र विशेष गरी यो पुस्तकले धेरै विद्यार्थीहरूलाई ठूलो मद्दत पुग्ने धारणा व्यक्त गर्नुभयो ।कार्यक्रमका अध्यक्ष डा. राजेन्द्र सुवेदीले घर बनाउने सबै इन्जिनियर हुँदैनन्, बिरामी पर्ने सबै चिकित्सक हुँदैनन् भन्दैै सबैका लागि उपयोगी हुने माध्यमका रूपमा नेपाली भाषाको प्रयोग र संरक्षणमा जुट्नुपर्ने बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्