सम्झनामा राष्ट्रकवि



यदुप्रसाद भट्ट

२०७७ साल नेपाली साहित्यका लागि सन्तोषजनक रहेन । कोरोनाको कहर अनि लामो समय मुलुक बन्दाबन्दीको अवस्थामा रहँदा नेपाल आमाका सपूत राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई सदाका लागि गुमानुपर्‍यो । यही बीचमा केही कृतिहरु लोकार्पित भए, भर्चुअल गोष्ठी तथा सेमिनारमै साहित्यिक गतिविधिहरु खुम्चन पुगे । फाट्टफुट्टरुपमा केही कृति बजारमा नआएका होइनन् । तर धेरथोर मात्रामा कोरोनाको असर पक्कै पनि परेको देखिन्छ ।

आजीवन नेपाली राष्ट्रियतामा आम नागरिकलाई अभिप्रेरित गर्दै आएका राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद निधन २०७७ साललाई बिदाइ गरिसकेको छ । कोभएको छ ।

राष्ट्रकवि घिमिरेको लैनचौरस्थित निजी निवासमा निधन भएको थियो । मुलुक बन्दाबन्दीको अवस्थामा रहेदेखि नै छाती तथा श्वासप्रश्वासमा समस्या आएको घिमिरेको बुढ्यौलीका कारण निधन भएको हो । राष्ट्रकवि तथा शताब्दी पुरुषको निधनले नेपाली साहित्यजगत्लाई अपूरणीय क्षति पुगेको छ ।

विसं. १९७६ असोज ७ गते लमजुङको पुस्तुनमा जन्मिनुभएका राष्ट्रकवि घिमिरे २०७५ असोजमा सय वर्षमा प्रवेश गर्नुभएको थियो । घिमिरे स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार, कवि र गीतकार हुनुहुन्थ्यो । नेपाल प्रज्ञाप्रतिष्ठानका आजीवन सदस्य घिमिरेले दुई कार्यकाल उपकुलपति तथा २ वर्ष कुलपतिका रुपमा रहेर कार्य गर्नुभएको थियो ।

राष्ट्रकविको निधनमा प्रधानमन्त्री केपी शर्मा ओलीले गहिरो दुःख व्यक्त गर्नुभएको थियो । त्यसै गरी नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले पनि राष्ट्रकविको निधनमा संसारै रोएको तथा आफूलाई बढी मर्माहत बनाएकोे बताउनुभएको थियो ।

काव्यक्षेत्रको अद्वितीय र विलक्षण प्रतिभा भएका घिमिरेको निधनले नेपाली तथा नेपाली साहित्यका क्षेत्रमा अपूरणीय क्षति पुगेको प्रज्ञा प्रतिष्ठानले सदस्य सचिव जगत्प्रसाद उपाध्यायले बताउनुभयो । त्यसै गरी वरिष्ठ साहित्यकार एसपी आसाले घिमिरेको निधनले आफूहरु टुहुरो भएको बताउँदै भन्नुभयो– ‘नश्वर शरीर छोडेर जानुभयो, राष्ट्रका लागि ठूलो क्षति भएको छ ।’

नेपाली सेनाले घिमिरेलाई मानार्थ रथीको सम्मान प्रदान गरेको थियो । नेपाली साहित्य आकाशमा चम्किरहने नक्षत्रका रुपमा चिनिएका राष्ट्रकवि घिमिरेको गाउँछ गीत नेपाली, नेपाली हामी रहौंला कहाँ नेपालै नरहे, फूलको थुङ्गा बगेर गयो, आजै र राति के देखेँ सपना जस्ता गीतहरु निकै चर्चित छन् । उहाँका कृतिहरु राष्ट्रिय भावनाले ओतप्रोत भएका छन् ।

उहाँका नव मञ्जरी, गौरी, मालती–मङ्गले, हिमालपारि हिमालवारि, राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी, चारु चर्चा, आफ्नो बाँसुरी आफ्नै गीत, घामपानी, नयाँ नेपाल, विषकन्या आदि कृति निकै चर्चित छन् । बाल्यावस्थादेखि निरन्तर रुपमा नेपाली साहित्यका कविता, खण्डकाव्य, गीतिनाटक, कथा, अनुवाद लेख, प्रबन्धजस्ता अनेकौं विधा–उपविधामा निरन्तर कलम चलाउँदै आएका घिमिरे बहुमुखी प्रतिभा भएका व्यक्ति हुनुहुन्थ्यो ।

प्रकृतिका अनेकन विविध पक्षहरुलाई आफ्ना जीवन्त रचनाहरुमा समावेश गर्दै जीवनलाई नै प्रकृतिसापेक्ष ढङ्गबाट व्याख्या गर्ने उहाँका लेखाइहरु दीर्घसाधनाले भरिएका छन् । जन्मिएको तीन वर्षमा मातृशोकमा परेका घिमिरेलाई २००४ सालमा जीवनसंगिनी गौरीले पनि छोडेर जाँदा पत्नीवियोगको पीडा बेहोर्नुपर्‍यो ।

६ वर्ष हुँदा अक्षर चिनेका घिमिरेले ८–९ वर्षको हुँदा गाउँको फुलेबाबासँग पञ्चांग अध्ययन गर्नुभएको थियो । ११ वर्षको उमेरमा घर छाडेर दुराडाँडा (लमजुङ) गाउँको संस्कृत पाठशाला हुँदै काठमाडौंको रानीपोखरीमा रहेको संस्कृत प्रधान पाठशाला र तीनधारा संस्कृत पाठशालासम्म आइपुग्दा उहाँले प्रथमा उत्तीर्ण गर्नुभएको थियो । त्यसपछिको अध्ययनका लागि उहाँ बनारस पुग्नुभएको थियो । घिमिरेले भारतमा बनारसको क्विन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गर्नुभएको थियो ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई २०६७ सालमा पद्यश्री साधना सम्मान पुरस्कार प्रदान गरिएको थियो । उहाँलाई विस.२०७५ मा महाउज्ज्वल पदकबाट सम्मानित गरिएको थियो । उहाँले २०५४ सालमा हिमालपारि हिमालवारिका लागि र २०५८ सालमा चारु चर्चा (निबन्ध) का लागि साझा पुरस्कार प्राप्त गर्नुभएको थियो ।

‘यात्रा विदेशको चिन्ता स्वदेशको’ सार्वजनिक

नेपाली आधुनिक पत्रकारिताका संस्थापक पुष्करलाल श्रेष्ठद्वारा लिखित यात्रा वृत्तान्त ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ नामक पुस्तक सार्वजनिक भएको छ ।

श्रेष्ठद्वारा प्रतिष्ठापित कामना समूहको ३७औं वार्षिकोत्सवका अवसरमा उक्त यात्रा स्मरणमा उहाँले युरोप, अमेरिका, अफ्रिका र एसियाका विभिन्न मुलुकको भ्रमणका क्रममा प्राप्त गरेका रोचक र मार्मिक अनुभव तथा अनुभूतिहरु समेटिएका छन् ।

कामना न्यूज पब्लिकेसन्स् प्रालिद्वारा प्रकाशित पुस्तकमा स्वदेश र विदेशको अवस्थालाई तार्किक तथा मार्मिक ढंगले गरिएको तुलनात्मक विश्लेषण, नेपाली पत्रकारिताको विकासमा प्राप्त उपलब्धि र चुनौती, राजनीतिक विकृति तथा पछिल्ला दुई दशकमा स्वदेश तथा विदेशमा भएका अनेकौं प्रभावशाली घटनाका सन्दर्भ समेटिएका छन् ।

पुस्तकमा पुष्करलालको देशप्रतिको चिन्ता, माया र अपेक्षाहरु अभिव्यक्त भएका छन् । करिब एक सय देश घुमिसक्नुभएका श्रेष्ठले त्यहाँको राम्रो अभ्यास आफ्ना मुलुकमा कसरी ल्याउन सकिएला भन्ने विषयमा चिन्ता प्रकट गर्नुभएको छ । नेपालमा त्यस्ता राम्रा अभ्यास हुन नसक्नु र मुलुकले समृद्धिको फड्को मार्न नसक्नुका पछाडि नेतृत्व तथा व्यवस्थापनमा देखिएका कमजोरी कारक रहेको विश्लेषण पुस्तकमा समेटिएको छ ।

मानवीय भावना र संवेदनालाई पनि श्रेष्ठले आफ्नो यात्रा वृत्तान्तमा मार्मिक ढंगले समेट्नुभएको छ । माओवादी सशस्त्र द्वन्द्वका कारण मुलुक छोडेर अमेरिका विस्थापित हुने संघारमा पुग्नुभएका श्रेष्ठले पाएको दुःख र तनाबका सन्दर्भ सुन्दा अमेरिकाको आप्रवासनमा रहेका नेपालीहरुको आँखा रसाएको अनुभूतिले मात्र पनि पाठकलाई भावविह्वल बनाउँछ भने उहाँको यात्रा वृत्तान्तले आम पाठकको मन जित्ने विश्वास प्रकाशन संस्थाले लिएको छ ।

नेपाली पत्रकारिताको संस्थागत विकासमा देखिएका उतार–चढाव र भित्री सन्दर्भहरु बुझ्नका लागि पनि ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ पढ्नै पर्ने स्रोत सामग्री बनेको छ । उहाँको ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ मा नेपाली राजनीतिलाई चिरफार गरिएको छ । विदेशका अभ्यासहरु पनि पुस्तकमा रोचक ढंगले समेटिएका छन् । ‘हाइटीका कयौं मन्त्री त ज्यान बचाउनै मुस्किल भएका कारण छिमेकी मुलुक अमेरिकाको मायामीमा बस्छन् र आफ्नो विभागीय मन्त्रालयको निर्णय गर्नुपर्ने टिप्पणीका फाइलहरु मायामीमै झिकाएर हस्ताक्षर गरी पठाइदिन्छन्’ श्रेष्ठले एक रोचक सन्दर्भमा उल्लेख गर्नुभएको छ ।

किताबमा कूटनीतिक सन्दर्भहरु पनि बारम्बार आउँछन् । सरकार र प्रशासनिक निकायहरुलाई सुझाव र सल्लाह पनि लेखक श्रेष्ठले दिनुभएको छ । ‘तीन घण्टापछि राहत सामग्रीसहित दर्जन हेलिकोप्टर काठमाडौंमा ओराली सहयोगको हात बढाउने भूकम्पलाई झेल्न सफल एवं अनुभवी छिमेकी समकक्षी प्रधानमन्त्री नरेन्द्र मोदीजस्ता विज्ञहरुको सल्लाह सुझाव लिएर अल्पकालीन र दीर्घकालीन योजना अघि सार्ने हो भने अझै विदेशी दातृ निकायहरुको विश्वास जित्न सकिने अवस्था छ’ एक सन्दर्भमा लेखक श्रेष्ठ उल्लेख गर्नु भएको छ । ‘दुर्भाग्य नै भन्नुपर्छ, हलिउड स्टुडियोभन्दा पनि राम्रो देशमा जन्मेर पनि बाँदर आचरणले गर्दा हामीले स्वर्गजस्तो देश नेपाललाई न अस्ट्रियाजस्तो बनाउन सक्यांै, न त स्विजरल्यान्ड जस्तो’ अर्को सन्दर्भमा उहाँले तिखो टिप्पणी गर्नु भएको छ ।

नेपालको अवस्था बुझ्न ‘यात्रा विदेशको चिन्ता स्वदेशको’ निकै सहयोगी स्रोत सामग्री हुने छ । पित्तथैलीमा पत्थर जमेर १० वर्षसम्म दुःख पाइरहँदा पनि श्रेष्ठलाई नेपालका डाक्टरले ग्यास्ट्रिक भन्दै औषधी खुवाइरहेको, फुटबल खेल्दा खुट्टा नै बाङ्गो हुने गरी घुँडामा समस्या हुँदा समेत ३५ वर्षअघि मर्केको खुट्टामा ब्यान्डेज मात्र लगाइदिएर वीर अस्पतालबाट डिस्चार्ज गरिएको, परिणामस्वरुप जीवनभर खेलजीवनबाट संन्यास लिन बाध्य हुनुपरेको उहांका मार्मिक सन्दर्भले किताब भरिएको छ ।

पुस्तकमा सञ्चारविद् प्रा. पी. खरेल, नागरिक समाजका अगुवा तथा चिकित्सक डा. सुन्दरमणि दीक्षित, प्रखर वक्ता पूर्व प्रधानसेनापति रुक्माङ्गद कटवालजस्ता वरिष्ठ र बहुचर्चित व्यक्तिहरुले आ–आफ्ना धारणा प्रकट गर्नुभएको छ । २०७६ वैशाख ४ गते ६० वर्षको अल्पायुमै दिवंगत हुनुभएका श्रेष्ठका बारेमा उहाँका पुत्रहरु दिरेकलाल श्रेष्ठ र अनुजलाल श्रेष्ठले पितामाथि गरेको विश्लेषण पनि पुस्तकमा समेटिएको छ, जो मिडिया उद्योगलाई स्थायित्व प्रदान गर्न चाहने हरेक नेपालीका लागि पठनीय सन्दर्भ बनेको छ ।

कविकुञ्ज संग्रहालय बन्ने

महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित निवास ‘कविकुञ्ज’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले संग्रहालयका रूपमा निर्माण गर्ने भएको छ । प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार डा. राजन भट्टराईका साथमा नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, उपकुलपति डा. जगमान गुरुङ, सदस्य सचिव प्रा. जगतप्रसाद उपाध्यायलगायतका प्राज्ञ परिषद्का सदस्यहरूसँग भेटेर स्थानीय बासिन्दाले संग्रहालय बनाउने निर्णयको स्वागत गरेका छन् ।

स्थानीयहरूले मैतीदेवीमा बन्न लागेको महाकवि देवकाटा संग्रहालय स्थानीयका लागि गौरवको कुरा भएको धारणा व्यक्त गरेका छन् । महाकवि देवकोटा संग्रहालय निर्माण योजनाका सम्बन्धमा प्रकाश पार्दै कुलपति उप्रेतीले महाकविको जीर्ण अवस्थामा रहेको मैतीदेवीस्थित उक्त निवासलाई प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गत वर्ष नै खरिद गरेर नेपाल प्रज्ञा–प्रतिष्ठानलाई स्वामित्व हस्तान्तरण गरी संग्रहालय निर्माणका लागि सुम्पिएको बताउनुभयो । उहाँले संग्रहालय निर्माणका लागि डीपीआर तयार गरी सरकारसँग आवश्यक बजेट माग गरिएको जानकारी गराउनुभयो ।

सकेसम्म अर्को वर्षको महाकवि देवकोटा जन्मजयन्तीमा उद्घाटन गर्ने गरी काम गर्ने लक्ष्य लिएको उप्रेतीले बताउनुभयो । डा. राजन भट्टराईले महाकवि देवकोटा संग्रहालयलाई प्रधानमन्त्रीले राष्ट्रको गौरवमय योजनाकै रूपमा लिनुभएको बताउँदै निर्माणका लागि आवश्यक बजेट यथाशीघ्र निकासा हुने विश्वास दिलाउनुभयो ।

यो देशकै पहिलो र गर्वको विषय भएकाले सो संरचना निर्माणदेखि सञ्चालनसम्म सहयोग गर्न आग्रहसमेत गर्नुभयो । डा. भट्टराईले महाकवि लक्ष्मीप्रसाद देवकोटाको मैतीदेवीस्थित निवासलाई सबलीकरण गरी संग्रहालय बनाइने एजेन्डा नै बनाउनुभएको थियो ।

‘कोटेश्वरको केटो’ लाई एक लाख

नेपाली पत्रकारहरुको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) द्वारा स्थापित एक लाख रुपियाँ राशिको उत्कृष्ट साहित्यिक कृति पुरस्कार (२०२०) साहित्यकार तथा पत्रकार राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ लाई प्रदान गरियो ।

सन् २०२० प्रकाशित नेपाली साहित्यिक कृतिमध्येबाट कृतिमाथि प्रकाशित समीक्षा, बिक्री, साहित्यकारहरुको सिफारिस तथा निर्णायक मण्डलको मतलाई आधार मानेर ‘कोटेश्वरको केटो’ले उक्त पुरस्कार प्राप्त गरेको हो ।

राजेन्द्र पराजुली विशेष गरी कथा लेख्न रुचाउँछन् । उनका हालसम्म विकल्प यात्रा २०५०, जाडोमा भोक २०६२, सपनामा माक्र्स २०६८, शुक्रराज शास्त्रीको चस्मा २०७३, अघोरी २०७५ गरेर पाँच वटा कथासंग्रह प्रकाशित भइसकेका छन् ।
एउटा उपन्यास अनायिका र कवितासंग्रह भ्रष्ट संवेदना तथा संस्मरणात्मक कृति कोटेश्वरको केटो समेत गरी उनले आठवटा कृति नेपाली साहित्यजगत्लाई दिइसकेका छन् ।

राजेन्द्र पराजुलीको संस्मरणात्मक कृति ‘कोटेश्वरको केटो’ आजभन्दा झन्डै साढे चार दशकअघिको काठमाडौंको दृश्य हो । यो कृतिले तत्कालीन काँठको सजीव चित्र प्रस्तुत गरेको छ । काँठे जीवन, मानिसका आनीबानी, संस्कृति, चरित्र, संघर्ष र पीडाको कथा यो कृतिको एक भागमा उनले उनेका छन् ।

कसरी कोटेश्वरका स्थानीयलाई पञ्चायती सरकारले पलायन हुन र गरिब बन्न बाध्य पा¥यो भन्ने सन्दर्भ शोधकर्ताका लागि समेत एउटा गतिलो विषय बन्न सक्छ ।

जिन्दगीका सानामसिना सन्दर्भलाई गम्भीर ढंगमा साहित्यिक लेप लगाउँदै संस्मरणमा उतार्न सक्ने उनको खुबी साँच्चिकै अब्बल छ । त्यसकारण पनि सन् २०२० मा प्रकाशित नेपाली साहित्यिक कृतिमध्ये यो उत्कृष्ट हुन पुगेको छ ।

कोटेश्वरको केटो पुस्तकलाई उनले चार भागमा बाँडेका छन् र सुरु गरेका छन् ‘कोटेश्वर’ बाट । अन्य तीन भागमा ‘अनुहारहरु’, ‘अनुभूति सुफियाना’ र ‘अक्षरहरुसँग’ रहेका छन् ।

अक्षरहरुसँग पाठमा उनले पत्रकारिताका अनेक तीतामीठा प्रसंग ल्याएका छन् । तीन दशकभन्दा लामो पत्रकारिता गरेका उनले आफ्ना भोगाइलाई जस्ताको तस्तै प्रस्तुत गरेका छन् । अक्षरहरुसँग नेपाली पत्रकारिताको सग्लो दृश्य उतार्न सफल छ ।

प्रतिक्रिया दिनुहोस्