काठमाडौं, (नेस) ।
प्रधानमन्त्री केपी शर्मा ओलीले लोकतन्त्रमा आवधिक निर्वाचन स्वाभाविक भएको बताउनुभएको छ । उहाँले चुनावमा नगई देश अघि बढ्नै नसक्ने बताउँदै ढिलो–चाँडो निर्वाचन भई छाड्ने बताउनुभएको हो ।
शनिबार बालुवाटारमा आयोजित रणनीतिक सडक उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै प्रधानमन्त्री ओलीले यदि गणितले आवश्यकतालाई प्रतिनिधित्व गर्दैन भने देश जनता र विकासको आवश्यकता मौजुदा अंक गणितभन्दा माथिको विषय भएको बताउनुभयो । प्रधानमन्त्री ओलीले भन्नुभयो– ‘मेरो विचारमा ढिलो–चाँडो जनादेशबाट अहिलेको अंकगणितमा हेरफेर नगरी र अनुकूल अंकगणितबिना देश अगाडि जानै सक्दैन ।’
वर्तमान सरकारलाई मन नपराउनेहरुले अनावश्यक भ्रम फैलाएको आरोप लगाउँदै आफ्नो राजनीतिक ‘सटर’ बन्द हुने भएकाले नै केहीले सरकारले केही कामै गरेको छैन भन्दै अफवाह फैलाउने काम गरेको बताउनुभयो । सरकारले अहिलेसम्मकै धेरै विकास निर्माणको काम अगाडि बढाएको बताउँदै उहाँले विपक्षीहरुले तथ्यहीन तर्कवितर्क गरेर सरकारको विरोध गर्ने गरेकोप्रति असन्तुष्टि जनाउनुभयो ।
प्रधानमन्त्रीले राजीनामा माग गर्नेहरु दिनहुँ आउने गरेको बताउँदै भन्नुभयो– ‘दिनैपिच्छे राजीनामा माग्छन्, राजीनामा एउटा हुन्छ, कतिवटा राजीनामा लेख्नु, अविश्वास प्रस्ताव ल्याउनुस् न त ।’ समर्थन फिर्ता लिए आफ्नो राजीनामा आउने बताउँदै उहाँले भन्नुभयो– ‘समर्थन फिर्ता लिइदेओ भन्दा पनि नलिने, राजीनामा पनि माग्ने, राजीनामा त आइहाल्छ नि समर्थन फिर्ता गर न ।’











प्रतिक्रिया