राजभण्डारीको पाश्चात्य कला र इतिहास



कलाकार तथा कला लेखक नवीन्द्रमान राजभण्डारीको पुस्तक पाश्चात्य कलाः संक्षिप्त इतिहास दोस्रो भाग सार्वजनिक भएको छ। लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टस्मा हालै आयोजित पुस्तक विमोचन तथा अन्तरसंवाद कार्यक्रममा प्राडा अभि सुवेदी, कलाकार तथा कला लेखक मदन चित्रकार, न्युयोर्कस्थित संयुक्त राष्ट्रसंघको मुख्यालयका नेपालका पूर्वसहायक स्थायी प्रतिनिधि डा. विनोद विष्ट, पूर्वसचिव शरदचन्द्र पौडेल, साहित्यकार तथा निर्देशक प्रकाश सायमी र कवि डा. गीता थपलिया त्रिपाठीले उक्त कृतिको संयुक्तरुपमा सार्वजनिक गरेका थिए।

कार्यक्रममा बोल्दै लेखक नवीन्द्रमान राजभण्डारीले कलाका बारेमा जान्न चाहनेका लागि फाइदाजनक भएका कारण नेपाली कलाकार, विद्यार्थी तथा कलापारखीका लागि पुस्तक उपयोगी पाठ्यसामग्री हुने विश्वास व्यक्त गरे। पुस्तकको टिप्पणी गर्दै कलाकार तथा कला लेखक मदन चित्रकारले पाश्चात्य कला शैलीको विकासका बारेमा सहज ढंगले बुझ्न पुस्तकले सघाउने बताए। प्राडा अभि सुवेदीले नेपाली भाषामा विश्वकलाका विभिन्न पक्षलाई समेटेर निकालिएको पुस्तक कलाकार, विद्यार्थी तथा कलाप्रति रुचि राख्ने जो कोहीका लागि उपयोगी हुने बताए। डा. विनोद विष्टले पुस्तकले पश्चिमी कलाको इतिहास उजागर गरेका र लेखकले कलाका विभिन्न शैलीलाई तथ्यपरक ढंगले पुस्तकमा चित्रण गरेको बताए। पूर्वसचिव तथा लेखक शरदचन्द्र पौडेलले पुस्तकमा कलाको क्रमिक विकासलाई उतारिएको जनाउँदै पुस्तक नेपाली कला तथा साहित्य क्षेत्रका लागि महत्व राख्ने गरी प्रकाशित भएको बताए। लेखक तथा निर्देशक प्रकाश सायमीले पाश्चात्य कलाका विविध आयाम र परिवेशलाई बुझ्न पुस्तक निकै महत्वको रहेको बताए।

डा. गीता थपलिया त्रिपाठीले कलाका विभिन्न वाद बुझ्नका लागि पुस्तक उपयोगी रहेको बताइन्।राजभण्डारीको यसअघि पाश्चात्य कला: संक्षिप्त इतिहास पहिलो भाग प्रकाशित भइसकेको छ। चित्रकार तथा कला अध्यापकसमेत रहेका राजभण्डारीले विभिन्न पुस्तक, जर्नल तथा पत्रपत्रिकाको सम्पादन गरेका छन्। राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रथम पुरस्कारबाट पुरस्कृत उनी नेपाल सरकारको निशाना छापको मुख्य डिजाइनरसमेत हुन्।

प्रतिक्रिया दिनुहोस्