विदेशको कमाइ स्वदेशमा लगानी



भूपराज बस्याल, काठमाडौं । 
स्याङ्जा जिल्ला गल्याङ नगरपालिका–१ मालुङा धाङलिङका सागरमणि भण्डारी वैदेशिक रोजगारीमा हिँड्न थालेको करिब २७ वर्ष भयो । घरको आर्थिक अभावकै कारण वैदेशिक रोजगारीमा हिँड्नुभएका उहाँका शुरुका दिन कष्टकर बिते पनि हाल उहाँ एक व्यवसायीका रूपमा स्थापित हुनुभएको छ ।कुनै जमानामा प्रायः नेपालीहरुको पहिलो रोजगारीको गन्तव्य भारत हुन्थ्यो । उहाँ पनि त्यही भारतबाट आजभन्दा २७ वर्ष पहिले वैदेशिक यात्रा शुरु गर्नुभएको थियो । सानो केटो भारत गएर एउटा होटलमा काम गर्दैगर्दा त्यस्तै होटलको मालिक बन्न सक्छु भन्ने उहाँको सपनाको कुरा थियो । तर पनि गाउँमा बूढापाकाले भन्ने गरेको उखान ‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने उखानले सधैं पछ्याइरह्यो, उति बेलाका सपना हाल विपनामा परिणत भयो ।

१४ वर्ष भारतमा रोजगारीको सिलसिलामा सिकेको सीप बोकेर आजभन्दा १३ बर्ष पहिले जापान पुग्नुभएका भण्डारीले जापानमा पाँच वर्षको अनुभवपछि त्यहीं रेस्टुरेन्ट सञ्चालक गरेर २३ वर्ष पहिलेको सपना साकार पार्नतिर लाग्नुभयो । उहाँले नेपाल समाचारपत्रसँग कुराकानी गर्दै भन्नुभयो– ‘निरन्तरको संघर्षले सफलताको बाटो प्राप्त हुँदोरहेछ ।’जापानमा व्यावसायिकरूपमा स्थापित भइसक्नुभएका भण्डारी उताकै नागरिक बनेर पनि बस्न सक्नुहुन्थ्यो त्यहीं मात्रै होइन युरोपका कुनै पनि देशको नागरिक बनेर बस्नसमेत उहाँलाई गाह्रो थिएन । तर, ती अवसरलाई परै राखेर अहिले पनि हरियो पासपोर्ट बोकेर काठमाडौंका गल्लीमा व्यवसाय गर्ने चाहना बोकेर हिँड्नुभएको छ । ‘कोशिस गरेको भए सायद अन्य देशको नागरिक हुन मलाई कुनै गह्रो हुँदैन थियो होला । तर, जुन आन्न्द हरियो पासपोर्ट बोकेर म नेपाली हुँ भन्दा आउँछ त्यो आनन्द पाउने थिइनँ सायद ।’ –उहाँले हामीसँगको कुराकानीमा भन्नुभयो ।

पैसा कमाएपछि धेरैको इच्छा हुन्छ सके विदेशतिर सेटल हुने नसके राम्रो घर बनाएर ऐसआराम गर्ने । तर, ती सबै इच्छालाई त्यागेर आफूले शुरुआती अवस्थामा स्वदेशमा जागिर नपाएको कुरा स्मरण गर्दै हाल उहाँ नेपालमा व्यवसाय गर्ने र दक्ष जनशक्तिलाई यहीं रोजगारी दिने अभियानमा जुट्नुभएको छ । वैदेशिक रोजगारको क्रममा पैसासँगै सीपसमेत लिएर स्वदेश पस्नुभएका भण्डारीले आफ्नो सीपलाई नेपालमा लगानी गर्न कुनै गाह्रो थिएन । तर, लगानी गरेर व्यवसाय सञ्चालन गरेलगत्तै आएको कोभिडपछिको लकडाउन भने उहाँका लागि निकै ठूलो भारी प¥यो । तर, निरन्तर सघंर्ष नै सफलताको उच्चतम बिन्दु हो भन्ने बुझ्नुभएका भण्डारीले यो कोभिडपछि पनि निरन्तर संघर्षमा लागिरहनुभयो ।पहिलो वैदेशिक रोजगारीको गन्तव्य बनेको भारतमा सिकेको सीप र आजभन्दा २५ वर्ष पहिले भारतमा बनेको टिम लिएर २०७६ जेठबाट काठमाडांैको नक्सालको भाटटेनी नजिकै ढल्कु चोकमा इटालियन खानासहितको रेस्टुरेन्ट सञ्चालन गर्नुभएको छ उहाँले । करिब ३ करोडको लगानीमा ५ हजार स्क्वायर फुटमा फैलिएको रेस्टुरेन्ट सञ्चालन गरेको १० महिनामै कोभिडका कारण बन्द गर्नुप¥यो र ११ महिनाको बन्दपछि हाल रेस्टुरेन्ट पुनः सञ्चालकनमा आएको छ । विशेष गरी इटाली पर्यटक फोकस गरी सञ्चालनमा आएको उक्त रेस्टुरेन्ट कोभिडका कारण विदेशी पर्यटक आउन सक्ने सम्भावना नभए पनि हाल इटालियन स्वाद नेपाली नागरिकमा बाँड्दै आउनुभएको छ ।

लिटिल वाइट्स नामबाट सञ्चालनमा आएको उक्त रेस्टुरेन्टमा एसीसहितका कोठा रहेका छन् भने विशेषतः दाउरामा पकाएका खाना ग्राहकको मुख्य रोजाइमा पर्ने गरेको देखिन्छ । पिजासमेत दाउरामा पकाएको पाइने हुँदा अन्य रेस्टुरेन्टमा भन्दा यहाँको स्वाद अलि बेग्लै हुने गरेको ग्राहकको अनुभव छ । पारिवारिक वातावरण अनि सबै घरको जस्तो दाउरामा पकाउने हुँदा पनि यहाँको छुट्टै विशेषता रहेको सेवाग्राहीको बुझाइ छ । त्यही मात्रै होइन रेस्टुरेन्टका लागि चाहिने पाउरोटी, ससेसलगायत आवश्यक सम्पूर्ण सामग्री रेस्टुरेन्टमै बनाइने हुँदा यहाँको स्वाद अन्यत्रको भन्दा फरक हुने होटल सञ्चालक भण्डारीको भनाइ छ ।शुरुआती दिनमा मात्रै नभएर कोभिडले यत्रो असर पारेको समयमा पनि राज्यबाट कुनै सहयोगसमेत पाउन नसक्नुभएका भण्डारीले विदेशबाट भित्रिने लगानीमा सरकारले अलि चासो दिने हो भने थुप्रै विदेशी लगानी भित्र्याउन गाह्रो नभएको तर्क गर्नुभयो । ‘राष्ट्रियताको मायाले स्वदेश लगानी गर्न थालियो तर झन्झटिलो प्रक्रियाले दिक्क बनाउने रहेछ ।’ –आफ्नो अनुभव सुनाउँदै उहाँले भन्नुभयो । देशको अर्थतन्त्र बलियो बनाउने माध्यम व्यवसाय भएकाले व्यवसाय गर्नेलाई राज्यको विशेष ध्यान पुग्नुपर्ने उहाँको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्