सुस्त मनस्थितिकी बालिकालाई जर्बजस्ती करणी गरेको घटनामा नागरिक समाजद्वारा ध्यानाकर्षण



राम धामी, डडेल्धुरा  ।

नागरिक समाजसँग सम्बन्धित झन्डै डेढ दर्जन संघ संस्थाहरुले सुस्त मनस्थिति भएकी बालिकालाई जबरजस्ती करणी गरेको घटनामा निष्पक्ष छानबिनको माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको ध्यानाकर्षण गराएका छन् ।नागरिक समाज डडेल्धुराको अगुवाइमा मंगलबार जिल्ला प्रशासन कार्यालय डडेल्धुरामार्फत प्रधानमन्त्री ओली र मुख्यमन्त्री भट्टलाई ज्ञापनपत्र बुझाइएको हो । बौद्धिक अपांगता भएकी १० वर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षकलाई हदैसम्मको कडा कारबाही गर्न ध्यानाकर्षणपत्रमा जोडदार माग गरिएको छ ।

नागरिक समाज डडेल्धुरासँग सम्बद्ध नेपाल पत्रकार महासंघ डडेल्धुरा शाखा, जिल्ला अदालत बार इकाइ डडेल्धुरा, गैरसरकारी संस्था महासंघ नेपाल डडेल्धुरा शाखा, लुःनिभा बाल सरोकार समूह फिल्ड कार्यालय डडेल्धुरा, किशोरी संरक्षण मञ्च डडेल्धुरा, महिला मानव अधिकार रक्षक सञ्जाल डडेल्धुरा, फेडो डडेल्धुरा, जिल्ला अपांग कल्याण समिति डडेल्धुरालगायतका झन्डै डेढ दर्जन संघसंस्थाका प्रतिनिधिले जिल्ला प्रशासन कार्यालयमा पुगेर ध्यानाकर्षणपत्र बुझाएका हुन् ।डडेल्धुरा जिल्लाको गन्यापधुरा गाउँपालिका–४ कैलपालमाण्डांैस्थित भुवनेश्वरी माध्यमिक विद्यालय जैसेरामा कक्षा २ मा अध्ययनरत सुस्त मनस्थिति भएकी बालिकालाई सोही विद्यालयमा कार्यरत माध्यमिक तह नेपाली विषयका शिक्षक देवीलाल भट्टले जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले आइतबार प्रक्राउ गरेको छ ।भुवनेश्वरी मावि जैसेराद्वारा फरक क्षमता भएका बालबालिकाहरुका लागि सञ्चालित विशेष कक्षामा अध्ययनरत १० वर्षीया बालिकालाई सोही विद्यालयमा अध्यापन गराउँदै आएका शिक्षक भट्टले शनिबार जबरजस्ती करणी गरेको प्रत्यक्षदर्शी स्थानीय बासिन्दाहरुको आरोप छ । जबरजस्ती करणी गर्ने बेला बालिका चिच्याएपछि स्थानीय घटनास्थलमा पुगेर प्रहरीलाई तत्काल खबर गरेका थिए ।

शारीरिक अपांगता भएका बालबालिकाहरुका लागि भुवनेश्वरी माविले सञ्चालन गरेको विशेष कक्षामा आवासीय व्यवस्था छ । फरक क्षमता भएका विद्यार्थीहरुको आवास नजिकै बस्दै आएका ४७ वर्षका शिक्षक भट्टले शनिबार बालिकालाई जबरजस्ती करणी गरेका हुन् । सो घटनाका सम्बन्धमा जिल्ला अदालतबाट सात दिन हिरासतमा राखी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ ।बालिकाको घर डोटीको शिखर नगरपालिका भएको बुझिएको छ । सोही विद्यालयको माध्यमिक तहमा नेपाली विषयका शिक्षक भट्ट पनि डोटीकै आदर्श गाउँपालिका घर भई हाल कैलालीको गोदावरी नगरपालिका अत्तरिया बस्दै आएका थिए । प्रत्यक्षदर्शी स्थानीयले प्रहरीलाई खबर गरेपछि जिल्ला प्रहरी कार्यालय डडेल्धुराबाट आइतबार विद्यालयमा पुगेको प्रहरी टोलीले शिक्षक भट्टलाई नियन्त्रणमा लिएको हो ।जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दको नेतृत्वमा खटिई गएको प्रहरीको टोलीले अभियुक्त शिक्षक भट्टलाई नियन्त्रणमा लिई जिल्ला अदालतबाट अनुमती लिर्ई एक हप्ता हिरासतमा राखेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराका प्रहरी प्रमुख डीएसपी महेन्द्र नेपालले बताए । अभियुक्त शिक्षक भट्टले बालिकालाई जबरजस्ती करणी गरेको स्वीकार गरेको भुवनेश्वरी माध्यमिक विद्यालय प्रशासनले जनाएको छ ।

अभियुक्त शिक्षक भट्टले स्वीकार गरिसकेको र प्रत्यक्षदर्र्शीहरुले पनि जबरजस्ती करणी गरेको बयान दिइसकेको अवस्थामा प्रहरीले जबरजस्ती करणी अभियोगमा मुद्दा अघि बढाउनुपर्नेमा जबरजस्ती करणी उद्योग अभियोगमा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमती माग गरेकाले पीडित बालिकाका आफन्तहरुले भने दोषीलाई संरक्षण हुनसक्ने आशंका व्यक्त गरिरहेका छन् ।सुदूरपश्चिम प्रदेशमा पछिल्लो समय दैनिक औसत दुईजना महिलाहरु बलात्कारको शिकार भइरहेको र निर्मला पन्त, भागरथी भट्ट, सम्झना विकजस्ता किशोरीहरुको बलात्कारपछि निर्मम हत्या गरिएको सन्दर्भमा बौद्धिक अपांगता भएकी अवोध बालिकालाई जबरजस्ती करणी गर्ने शिक्षक भट्टलाई हदैसम्मको कारबाही गर्न सरकारको ध्यानाकर्षण गराइएको नागरिक समाज डडेल्धुराका संयोजक रमेश जोशीले बताए ।

प्रतिक्रिया दिनुहोस्