‘विधि नबसुन्जेल प्रयास जारी’



काठमाडौं, (नेस) ।

विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र कोरोना महामारीसँगै अस्तव्यस्त हुन पुगेको छ ।ऐतिहासिक, सांस्कृतिक, धार्मिक, पुरातात्विक तथा मौलिक सम्पदाले युक्त सो स्थानमा खुला सवारी आवागमन, अव्यवस्थित पार्किङ, फुटपाथ पसल, थर्मस चिया व्यापार, ठेलागाडा पसललगायतले अस्तव्यस्त बन्न पुगेको हो ।
फोहोरमैला, सवारी जाम, बढ्दो आपराधिक क्रियाकलापलगायतलाई मध्यनजर गरेर नेपाली सेना गुरुजुको पल्टन शार्दूलजंग गुल्म तथा हनुमानढोका दरबार क्षेत्र संरक्षण कार्यक्रमको संयोजनमा सशस्त्र प्रहरी, नेपाल प्रहरी, ट्राफिक प्रहरी, नगर प्रहरी, पर्यटन प्रहरी, नेपाली सेना, नेपाल स्काउट, पुरातत्व विभाग, हनुमानढोका दरबार हेरचाह अड्डा, स्थानीय संघसंस्थाको सहकार्यमा मंगलबार सो क्षेत्रको संरक्षण गर्ने उद्घोष गरिएको छ ।

हिजो मंगलबारबाटै पार्किङहरु हटाउँदै र आकस्मिक सवारीबाहेक अन्य सवारीलाई निरुत्साहित गर्न संयुक्त रुपमा गस्ती परिचालन गर्ने भएको छ । कार्यक्रममा प्रदेश सांसद राजेश शाक्य, उपमेयर हरिप्रभा खड्गी श्रेष्ठ, वडाध्यक्षलगायत अन्य स्थानीयको सहभागिता रहेको थियो ।गुरुजुको पल्टन शार्दूलजंग गुल्मका गुल्मपति विकास शाक्यको पहलमा सबै सम्बन्धित निकाय एकै ठाउँमा पुनः समन्वय गरी व्यस्थापनका लागि संयुक्त अभियान चलाइएको हो ।

चुनौती थुप्रै भए पनि सबै निकाय र स्थानीय एकजुट भए अझ बढी सुन्दर सफा गर्न सकिने गुल्मपति विकास शाक्यले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो कार्यक्रम शुरुआत मात्रै हो, यो पूर्ण त्यति बेला हुन्छ जति बेला एउटा विधि बस्छ र त्यो विधि नबसुन्जेल हाम्रो प्रयास जारी रहन्छ ।’

प्रतिक्रिया दिनुहोस्