भ्याट छलीको आरोपमा पेप्सीका सीईओ पक्राउ



काठमाडौं, (नेस) ।

नक्कली बिल बिजक बनाई करोडौं मूल्य अभिवृद्धि (भ्याट) छली गरेको आरोपमा पेय पदार्थ पेप्सीको उत्पादक कम्पनी वरुण वेभरेज नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत (सीईओ) पक्राउ परेका छन् ।

नक्कली भ्याट बिल प्रयोग गरी राज्यलाई हानिनोक्सानी पु¥याएको भन्दै राजस्व अनुसन्धान विभागले सो प्रालिका पूर्व र वर्तमान सञ्चालकविरुद्ध अदालतमा ६४ करोड ९६ लाख २ हजार ३ सय ४० बिगो र बिगोको दोब्बर १ अर्ब २९ करोड ९२ लाख ४ हजार ६ सय ८० रुपियाँसमेत गरी जम्मा १ अर्ब ९४ करोड ८८ लाख ७ हजार २० रुपियाँ जरिवाना र ३ वर्षको कैद सजायको माग गर्दै मुद्दा दायर गरेको थियो ।विभागले कम्पनीका पूर्व तथा वर्तमान सञ्चालकहरु अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह भनिने विनोदकुमार सिंह र अशोक कुमारबाट असुलउपर गर्नुपर्ने दाबीसहित गत वर्षको पुस ३ गते मुद्दा दायर गरेको थियो । तत्पश्चात् फरार रहेका प्रविन अग्रवालले बिहीबार उच्च अदालत पाटनमा हाजिर भएका थिए ।

सो अदालतका न्यायाधीश कुमार चूडाल र कुलप्रसाद शर्माको संयुक्त इजलासले उनलाई पुर्पक्षमा राखी अनुसन्धान गर्न आदेश दिएलगत्तै उनी पक्राउ परेका हुन् ।वेभरेजसमेत सात विपक्षी रहेको मुद्दामा यसअघि २ जना धरौटीमा रिहा भइसकेका छन् । तीन जना अझै फरार छन् । नक्कली बिजकको कारोबार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी मालवस्तु नै खरिद नगरी राजस्व चुहावट गरेको अभियोग राजस्व अनुसन्धान विभागले लगाएको छ ।वरुण वेभरेज (नेपाल) प्रालिले राजस्व चुहावट गर्ने दुराशय राखी झुटा तथा नक्कली कर बिजकको कारोबार गर्ने व्यक्तिहरुसँग मिलेमतो गरी वास्तविकरुपमा मालवस्तु खरिद नै नगरी झुटा तथा नक्कली कर बिजक जारी गर्ने प्रयोजनका लागि योजनाबद्ध तरिकाले दर्ता गरिएका फर्महरुबाट जारी गरेका झुटा तथा नक्कली कर बिजक खरिद गरी राजस्व चुहावट गरेको विभागको दाबी छ ।

विभागले अनुसन्धान तथा नियन्त्रण ऐन, २०५२ को दफा ३ ले निषेधित ऐ. ऐनको दफा ४ को (क) र (ख) बमोजिमको कसुर गरेको पुष्टि भएकाले वरुण वेभरेज (नेपाल) प्रालिबाट १ अर्ब ६० करोडको बैंक जमानत लिई यसका प्रतिवादीहरु वरुण वेभरेज (नेपाल) प्रालि र यसका पूर्व तथा वर्तमान सञ्चालकहरुविरुद्ध ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपियाँ राजस्व चुहावट गरेको अभियोग दायर गरेको थियो ।विभागले गरेको अनुसन्धानबाट सो प्रालिले आर्थिक वर्ष २०७०–७१ देखि २०७५–०७६ सम्ममा झुटा तथा मूल्य अभिवृद्धि कर बिजकको कारोबारबाट मूल्य अभिवृद्धि करतर्फ २५ करोड ३४ लाख ६ हजार ९ सय ४० रुपियाँ र आयकरतर्फ लाभांशसमेत ३९ करोड ६१ लाख ९५ हजार ४ सय गरी कुल ६४ करोड ९६ लाख २ हजार ३ सय ४० रुपियाँ राजस्व छली गरेको देखिएको थियो ।

प्रतिक्रिया दिनुहोस्