विप्लवका २ हजार ६४ कार्यकर्ता पक्राउ


काठमाडौं, (नेस) ।

वार्ताका लागि सरकारले गरेको प्रस्तावलाई नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले प्रतिबन्ध फुकुवा र नेताकार्यकर्ता रिहाइ गर्नुपर्ने सर्त अगाडि सारेको छ । विप्लव नेतृत्वको नेकपाले सरकारले लगाएको प्रतिबन्ध फुकुवा र पक्राउ परेका आफ्ना नेताहरू रिहा नगरेसम्म वार्ताको कुनै सम्भावना नरहेको बताएको हो ।

विप्लव समँहका एक पोलिटब्युरो सदस्यले वार्ताका लागि औपचारिकरुपमा कुनै पनि छलफल अगाडि नबढेको बताए । उनका अनुसार वार्ताको चर्चा चले पनि औचापरिकरुपमा कुनै संवाद अगाडि बढ्न सकेको छैन ।गत मंगलबार जेलमा रहनुभएका प्रतिबन्धित विप्लव समँहका नेता हेमन्तप्रकाश वलीलाई खानेपानीमन्त्री मणि थापाले भेट्नुभएको थियो । उक्त भेटपछि सरकार र विप्लव समँहबीच वार्ताको तयारी अगाडि बढेको बताइएको छ । मन्त्री थापा र वलीबीच भेटवार्ता भएको एक साता बितिसक्दा समेत औचापरिकरुपमा वार्ताको कुनै पनि प्रक्रिया अगाडि बढ्न सकेको छैन ।

खानेपानीमन्त्री मणि थापाले विप्लव समँहसँग वार्ताका लागि कुनै पनि औचापरिकरुपमा प्रक्रिया अगाडि नबढेको बताउनुभयो । उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘वार्ताका लागि गृहकार्य भइरहेको छ, औचापरिकरुपमा प्रक्रिया अगाडि बढेको छैन ।’ सरकारले विप्लव समँहले हिंसात्मक गतिविधि गरेको भन्दै २८ फागुन २०७५ मा प्रतिबन्ध लगाएको थियो ।यसैबीच सरकारले विप्लव समँहलाई प्रतिबन्ध लगाएको दुई वर्ष पुगेको छ । दुई वर्षको अवधिमा देशका विभिन्न ठाउँबाट २ हजार ६४ जना नेताकार्यकर्ता पक्राउ परेका नेपाल प्रहरीले बताएको छ । नेपाल प्रहरीका प्रवक्ता वसन्तबहादुर कुँवरले पक्राउ परेका २ हजार ६४ जनामध्ये १ हजार ९ सय ७४ जनालाई मुद्दा चलाइएको नेपाल समाचारपत्रलाई बताउनुभयो ।

उहाँका अनुसार ९० जना मुद्दा दर्ता भएकामध्ये १८ सय ६ जना छुटेका छन् । ‘१ सय ३६ जना पुर्पक्षका लागि कारागार चलान भएका छन्’, प्रवक्ता कुँवरले भन्नुभयो– ‘पक्राउ परेका ३२ जनाको अनुसन्धान भइरहेको छ ।’

Skip This