कोरोनाको पीडा भुलाउँदै शुरु भयो राष्ट्रिय महिला तथा पुरुष भलिबल



कास्की ।पोखरामा आजदेखि राष्ट्रियस्तरको ‘टाइगर कप राष्ट्रिय महिला तथा पुरुष आमन्त्रित भलिबल’ प्रतियोगिता शुरु भएको छ । कोरोना महामारीबाट सिर्जित असामान्य परिस्थितिबाट देश सहज बन्दै जाँदा पीडालाई भुलाउँदै खेलकुद नगरी पोखरामा राष्ट्रियस्तरको भलिबल प्रतियोगिता शुरु भएको हो । यससँगै कोरोनापछि ठप्प यहाँको खेल क्षेत्र सामान्य अवस्थामा फर्कन थालेको छ ।

गत वर्ष चैत पहिलो सातादेखि खेलकुद प्रतियोगिता रोकिएकामा टाइगर ग्रुप अफ पोखराको आयोजनामा भएको भलिबल प्रतियोगिता नै कोरोनापछिको पहिलो प्रतियोगिता हो । लामो समयपछि खेलकुद शुरु भएकाले पनि उद्घाटनको पहिलो दिन रङ्गशालामा दर्शक उल्लेख्य सङ्ख्यामा उपस्थित भएर भलिबलको मजा लिए ।

प्रतियोगिताको आकर्षण बढाउन र खुशीयाली मनाउन हेलिकप्टरबाट पुष्पवृष्टि गरिएको थियोे । पोखरा रङ्गशालास्थित भलिबल कोर्टमा सञ्चालन भएको प्रतियोगिताको पहिलो दिनको खेलमा महिलातर्फ नेपाल पुुलिस क्लब र न्यू डाइमण्ड विजयी बने भने पुरुषतर्फ नेपाल पुलिस क्लबले गण्डकी प्रदेशलाई पराजित गरेको छ ।

नेपाल पुुलिस क्लबले सोझो सेटमा सशस्त्र प्रहरीको एपिएफ क्लबलाई पराजित गरेको हो । पुलिसले सशस्त्रलाई २६–२४,२५–२२,२५–११ अङ्कले पराजित गरेको डाइगर ग्रुपका महासचिव प्रकाश बरालले जानकारी दिनुभयो । यसैगरी न्यू डाइमण्डले २५–१३,२२–२५,१८–२५,२७–२५ र १५–१३ अङ्कसहित ३–२ को सेटमा त्रिभुवन आर्मीमाथि जीत हासिल गरेको छ । पुरुषतर्फका प्रतिष्पर्धामा गण्डकी प्रदेशलाई नेपाल पुलिस क्बले सोझो सेटमा पराजित गर्न सफल भयो । पुलिस क्लबले २७–२५,२१–२५ र २५–२२ अङ्कले गण्डकीलाई पराजित गरेको हो ।

आगामी फागुन १ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको विजेता महिला तथा पुरुषले समान रु एक लाख ५० हजार, ट्रफी, पदक, प्रमाणपत्र तथा उपविजेताले रु ७५ हजार र तृतीयले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । यसैगरी सर्वोत्कृष्ट महिला तथा पुरुष खेलाडीले समान रु २०/२० हजार प्राप्त गर्नेछन् । उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेण्डर तथा पुरुष खेलाडीले समान रु पाँच हजारका दरले पुरस्कार प्राप्त गर्ने आयोजक संस्थाका अध्यक्ष नारायण शर्माले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्